ममता बनर्जी दिल्ली प्रहरीको नियन्त्रणमा
नयाँदिल्ली । पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी)की प्रमुख ममता बनर्जीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । टीएमसीका प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समार्फत ममता बनर्जीसहित पाँच जनालाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले मुख्यमन्त्रीको आवासबाहिरबाट नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
उनका अनुसार उनीहरूलाई प्रहरी भ्यानमा राखेर अज्ञात स्थानतर्फ लगिएको छ । गोखलेले यस घटनालाई भारतमा लोकतन्त्रको मृत्यु भएको संज्ञा दिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार ममता बनर्जीसहित टीएमसीका अन्य नेताहरूले साउथ एभिन्यूस्थित बस बिसौनीमा धर्ना दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिनुअघि ममता बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर प्रहरीले जान नदिएको बताएकी थिइन् । उनले भारतको वर्तमान अवस्था आपत्कालीन अवस्थाभन्दा पनि खराब देखिएको टिप्पणी गरेकी छन् ।

