दसैंको मुखमा सडकले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै
काठमाडौँ — बर्सेनि दसैंमा काठमाडौं उपत्यकाबाट सडक र हवाई मार्गबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन् । यस वर्ष सडकमार्गबाट १० लाख र हवाई मार्गबाट करिब ३० देखि ३५ हजार यात्रु बाहिरिने अनुमान छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसैंमा आन्तरिक हवाई यात्रुको चाप बढी हुने गर्छ । त्यसका लागि यात्रुले पहिल्यै टिकट बुक गर्ने गरेका छन् । दसैंमा आन्तरिक यात्रुको चाप बढी हुने भएकाले राति अबेरसम्म उडान सुविधा दिइने तयारी भइरहेको विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जनाए । ‘अहिले सडकको अवस्था सहज नहुँदा आन्तरिक उडानको चाप बढ्दो छ । दसैंको समयमा राति अबेरसम्म उडान भर्ने तयारीमा छौं,’ कुमारले भने, ‘विराटनगर, झापाको चन्द्रगढी, धनुषाको जनकपुरलगायत विमानस्थलमा राति अबेरसम्म उडान गर्ने तयारी छ ।’
सामान्य अवस्थामा विमानस्थलमा प्रतिघण्टा २८ उडान हुन्छन् । यसमा २० आन्तरिक र ८ अन्तर्राष्ट्रिय उडान हुन्छन् । पछिल्लो समय भने आन्तरिक उडानको चाप बढेकाले प्रतिघण्टा ३० देखि ३२ उडान भइरहेको कुमारको भनाइ छ । यात्रुको चाप बढेसँगै उडान व्यवस्थापनमा मुख्य चुनौती धावनमार्गको क्षमता र जहाजबीच दूरी कायम गर्नुपर्ने रहेको कुमारले बताए । ‘रनवे त चाहिन्छ नै, सबै जहाज एउटै रनवेमा उड्न सक्दैनन्, मौसमलगायतका कारण पनि केही न केही समस्या उत्पन्न भइरहन्छ,’ कुमारले भने, ‘उपलब्ध रनवे र समयलाई अधिकतम परिचालन गरेर बिहानदेखि राति अबेरसम्म उडान सञ्चालन गर्ने योजना छ ।’
दसैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुलिसकेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौंदीमा शुक्रबार साँझ सडक भासिएपछि टिकट बुकिङ प्रभावित बनेको छ । सडक अवरुद्ध भएपछि शुक्रबार निर्धारित संख्यामा यात्रु गन्तव्यतर्फ पठाउन नसकिएको र केही यात्रु फर्किनुपरेको राष्ट्रिय यातायात व्यवसायी महासंघ महासचिव डेगनाथ गौतमले बताए ।
गौतमका अनुसार शुक्रबार र शनिबार सडक बन्द भएपछि लामो दूरीका रात्रिबस रोकिएका थिए । शनिबार साँझ ६ बजेपछि कान्ति राजमार्ग र त्रिभुवन राजपथ हुँदै छोटा दूरीका सवारीसाधन पठाइएको थियो । अन्य यात्रुको टिकटबापतको रकम फिर्ता गरिएको उनले बताए । उनका अनुसार सडकको अवस्थाले गर्दा शनिबार अग्रिम टिकट बुकिङ स्थगन गरिएको थियो ।
राजमार्गको गलौंदी खण्डको ७० मिटर सडकमा समस्या भएको र भित्तो काटेर सवारी सञ्चालनमा ल्याउने काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उनका अनुसार १० भदौको भोटेकोशी बाढीपछि तलबाट त्रिशूली नदीले कटान गर्दा त्यसको असर अहिले देखिएको हो । पृथ्वी राजमार्ग भएर अघिपछि दैनिक १५ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने गर्छन् । दसैंका बेला यो संख्या तेब्बरसम्म पुग्ने गरेको छ । यसअघि १४ भदौमा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भासिएको थियो ।
आइतबारबाट लामा तथा मध्यम दूरीका यात्रु बसका लागि देशभर चल्न मिल्ने गरी रुट परमिट खुला गरिँदै छ । नियमित रुटबाहेक आवश्यकताअनुसार सवारी थप गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । यस वर्षदेखि दसैंमा उपत्यकाबाट सवारीसाधन ‘रिजर्भ’ गरी घर जानेहरूको पनि रेकर्ड राख्ने भएको छ । ‘हरेक दसैंमा रुट परमिट खुला हुन्छ तर रिजर्भमा जाने सवारीसाधनको रेकर्ड हुँदैनथ्यो, गाडी कसले लान्छ, कसरी जान्छन्, थाहा हुँदैनथ्यो,’ उनले भने, ‘दुर्घटना पनि धेरै भयो भनेर यस वर्षदेखि हरेक सवारीसाधनको रेकर्ड राख्ने अभ्यास थालेका हौं ।’
यस्तो कार्यले बढी गाडी भाडा लिने कार्य नियन्त्रण हुने र यात्रुको संख्या यकिन हुने उनको भनाइ छ । यात्रुको चाप हुने नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुलगायत स्थानमा विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतको संयुक्त टोलीले अनुगमन र रेकर्ड राख्नेछ । हजारौं यात्रु दसैंका लागि घर जान तयार भएको अवस्थामा सडक भासिएर समस्या थपिएकाले छिटोभन्दा छिटो सडक सुचारु गर्नुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बताए ।
सार्वजनिक स्थलमा देशभरको भाडादरको सूची अनिवार्य रूपमा टाँस्नुपर्ने जनाइएको छ । लामो दूरीका सवारीमा अनिवार्य दुई जना चालक राख्नुपर्ने पोखरेलको भनाइ छ । २०८३ को दसैंलगायत चाडबाडमा सार्वजनिक यातायातमा यात्रु व्यवस्थापनसम्बन्धी अध्ययन गर्न प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा तयार प्रतिवेदनमा यस दसैंमा करिब ९ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ । यसका लागि करिब ६५ हजार सवारी आवश्यक रहने देखाइएको छ ।
सडकको अवस्था सहज हुँदा करिब १९ लाख हाराहारी यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरिने गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघको तथ्यांक छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नयाँ बसपार्क गेट, बल्खु चोक, फर्पिङ चोक, कलंकी, नागढुंगा चोक, हलचोक, चाबहिल, कोटेश्वर चोक, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले चोक, टोखा चेकपोस्ट, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
सरोकारवाला सबैको प्रतिनिधित्वमा नागरिकलाई सबै प्रकारका सेवा प्रदान गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए । ‘चाडपर्वको समयमा यात्रुको आगमन बढी हुन्छ, बढी भाडा लिने, दोहोरो टिकट काट्न लगाउने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाएको पाइए कारबाही हुन्छ,’ सुवेदीले भने, ‘हरेक गाडीको यान्त्रिक र प्रदूषण जाँच गर्ने व्यवस्था गरिएको छ । एउटा नाकामा परीक्षण नभए अर्को नाकामा हुन्छ ।’ यात्रु सहायता कक्षहरूमा टाँसिएको भाडादरभन्दा बढी लिएको पाइए यात्रुले उजुरी गरे, तत्काल कारबाही गरिने सुवेदीको दाबी छ ।

