पटका पड्काउने क्रममा जलेर चितवनमा एक बालक घाइते।
चितवन, २६ कार्तिक । पूर्वीचितवनको खैरहनीमा खल्तीमा राखेको पटका पड्किँदा १२ वर्षीय एक बालक जलेर घाइते भएका छन् ।
खैरहनी नगरपालिका–२ निवासी आयुष गान्धारी पटका पड्किएर घाइते भएका हुन् । उनको छातीमुनिदेखि घुँडामाथिसम्मको शरीरको भाग जलेको प्रहरीले जनाएको छ । घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बुधबार साँझ आगो बालेर पटका पड्काउने क्रममा नपड्किएको पटका बालकले टिपेर आफ्नो खल्तीमा राखेका थिए । केही समयपछि खल्तीमा रहेको उक्त पटका सल्किएर पड्किँदा उनी घाइते भएका हुन् ।
