भूषण दाहालले लिन नपाएका ती दुई अन्तर्वार्ता

0
228

राजनीतिक टक शो सञ्चालनको उदेश्यसहित भूषण दाहालले सन् २००३ मा ‘फायर साइड’को अवधारणा ल्याएका थिए। नेपाली राजनीतिको उतारचढावले फायर साइडका पात्रहरु निर्धारण गर्थ्यो। यो कार्यक्रममा कसैले स्थान पाउनुको अर्थ थियो, यसबेला नेपाली राजनीतिमा सो पात्रको भूमिका अहम् छ।

फायर साइडलाई भूषणले नेपाली टेलिभिजनमा सबैभन्दा लामो समय चलेका कार्यक्रममध्ये एक बनाए।कार्यक्रमलाई १८ वर्षसम्म निरन्तरता दिएका उनले अघिल्लो हप्ता कान्तिपुर टेलिभिजनको सहायक महाप्रबन्धक पदबाट राजीनामा दिएसँगै तत्कालका लागि फायर साइडसँगको यात्रा टुंग्गाए।

प्रस्तोताका रुपमा ७ सयभन्दा बढी एपिसोडमा उनले विभिन्न पात्रहरुबाट नेपाली राजनीति र समाजको गाँठो फुकाउने उत्तर खोजे। केही पात्रहरुसँग दोहोर्‍याइ–तेहेर्‍याइ संवाद गरे। फायर साइडमा पहिलो पटक उनले सूर्यबहादुर थापाको अन्तर्वार्ता लिएका थिए। गतसाता कानुनविद् विपीन अधिकारीको अन्तर्वार्ता यो शृंखलाको अन्तिम कडी बन्यो।

कान्तिपुरमा फायर साइड भूषणले स्थापित गरेको ब्रान्ड थियो। यो विचारोत्तेजक कार्यक्रमप्रतिको मोहकै कारण कान्तिपुरसँगको सम्बन्ध १८ वर्षसम्म लम्बिएको उनी ठान्छन्। अर्कोतिर आफूले कसैप्रति आग्रह–पूर्वाग्रह नराखी तटस्थता प्रस्तुत गरेकै कारण कार्यक्रम यत्तिका समय चलेको उनको निष्कर्ष छ।

‘राजनीतिक खेलाडीहरुप्रति आग्रह–पूर्वाग्रह राख्नुपर्ने के छ र? तपाईंलाई उसको विचारधारा चित्त नबुझ्न सक्छ। त्यो असन्तुष्टि नङमा कालो लगाउने बेला (चुनावमा) प्रस्तुत गर्ने हो,’ उनी भन्छन्, ‘त्यो बाहेक कसैलाई सिध्याउँछु, ठाउँ दिन्छु, उचालेर माथि पुर्‍याउँछु भन्ने खराब दृष्टि मैले कहिले राखिनँ। सदैव पात्रहरुमा तटस्थता राख्ने प्रयास गरेँ। त्यही तटस्थताका कारण फायर साइडले १८ वर्षको जीवन पायो कि!’

1 Bhusan dahal MAIN IMAGE
प्रश्न सोध्ने र उत्तर दिनेको मुटुपनि मिले सम्वाद गहन हुने भूषणको अनुभव छ

प्रश्न सोध्ने र उत्तर दिनेबीच मुटुपनि मिल्यो भने अन्तर्वार्ता राम्रो हुने उनको अनुभव छ। अतिथिलाई प्रस्तोताले आफ्ना कुरा गलत रुपमा प्रस्तुत गरिदिने पो हो कि? भन्ने शंका लाग्नेबित्तिकै संवाद हलुको हुँदै जाने उनी बताउँछन्। अतिथिसामु विश्वास कायम गर्न सकेमात्र अन्तर्वार्ता दिने व्यक्ति मन खोलेर बोल्ने गरेको उनको अनुभव छ।

उहाहरणका रुपमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको थुप्रै अन्तर्वार्ताहरु सम्झे। ‘उहाँसँग मैले थुप्रै अन्तर्वार्ता गरेँ। तीमध्ये केही अन्तर्वार्ता यस्ता छन्, जसमा उहाँले भित्री मनलाई सफा गरेर पब्लिक समक्ष राख्नुभएको छ। फायर साइडका सात–आठ सयको कुञ्जमा त्यस्ता दशवटा अन्तर्वार्ता होलान्, जो मेरा लागि पनि स्मरणीय छन्,’ उनले भने।

फायर साइडको अन्तिम अन्तर्वार्ता लिँदासम्मको अवधिमा अतिथिसामु प्रकट हुनुअघि गरिने तयारीले आफूलाई परिपक्व बनाएको उनी ठान्छन्। राम्रो अन्तर्वार्ताका लागि राम्रो तयारी आवश्यक पर्ने उनको भनाइ छ। ‘राजनीतिक अन्तर्वार्ता गर्नुहुन्छ भने मूलधारको राजनीतिक घटना, व्यक्ति, विषयबारे अपडेट हुनैपर्छ,’ उनी भन्छन्।

जसको अन्तर्वार्ता लिन पाएनन्
फायरसाइडबाट नेपाली राजनीतिक घटनाक्रमलाई श्रव्यदृश्यमा ऐतिहासिक दस्तावेजका रुपमा अभिलेख गर्दा दाहालले लगभग सबै मुख्य पात्रसँग संवाद गरे। तर, दाहाललाई भने अझै दुई पात्रसँग सम्वाद गर्न नपाएको अधुरोपन खड्किरहन्छ। उनी त्यसलाई फायर साइडका दुई अधुरा पानाको संज्ञा दिन्छन्।

‘फायर साइडको प्रस्तोताका रुपमा मैले तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र पूर्वराजा ज्ञानेन्द्र शाहको अन्तर्वार्ता कहिले पनि लिन पाइनँ। त्यसमा मलाई पछुतो छ। त्यो फायर साइडको अपूरो पाना हो कि जस्तो लाग्छ,’ दाहाल भन्छन्, ‘यत्रो लामो सचेत प्रक्रियामा पनि ती पानाहरु छुटेछन्। म साँच्चिकै गम्भीर मिडियाकर्मी हुँ भने कम्तीमा भविष्यको रिफरेन्सका लागि पनि ती पानाहरुको परिपूर्ति मैले कुनै न कुनै रुपमा गरिदिनुपर्छ।’  

Bhusan dahal 3
कांग्रेसका तत्कालिन सभापति कोइराला र पूर्वराजा शाहको अन्तर्वार्ता फायर साइडमा लिन नपाएकोमा भूषणलाई पछुतो लागिरहन्छ

ती अन्तर्वार्ता गर्न नसक्नुका अनेक कारण रहेको उनको भनाइ छ। यद्यपि उनी तिनलाई कोट्याउन चाहँदैनन्। ‘कोही मान्छेले यो (फायर साइड) त साह्रै राम्रो राजनीतिक इतिहासको दस्तावेज रहेछ भनेर आर्काइभ हेर्‍यो भने उसले त्यहाँ यी दुई महत्वपूर्ण पात्र (ज्ञानेन्द्र शाह र गिरिजाप्रसाद कोइराला) को अन्तर्वार्ता भेट्ने छैनन्। यो अभाव मलाई खड्किरहनेछ। यो मेरो इमान्दार स्वीकारोक्ति पनि हो,’ उनी भन्छन्।

पूर्वराजा शाहको अन्तर्वार्ता त दाहाल वा फायर साइडले अझै पनि लिने मौका छ तर दिवंगत भइसकेका कोइरालाको पाना चाहिँ कसरी भरिएला? उनीसँग त्यसको विकल्प बाँकी छ। भन्छन्, ‘उहाँले तत्कालीन समयमा अभिव्यक्त गर्नुभएका कतिपय कुरालाई एन्थोलोजी (संग्रह) जस्तो बनाएर सम्पादित संस्करणमा प्रस्तुत गर्न सकिन्छ। फायर साइडमा गरिएका अन्तर्वार्तामा उहाँले दिएका प्रतिक्रियाहरु हामीसँग छन्। कांग्रेसका एक मूर्धन्य नेतालाई फायर साइडमा अभिव्यक्त गरेका विचारकै आधारमा उहाँको ठटाई खानुपरेका रेकर्ड हामीसँग छन्।’

दिव्य दृष्टिले डुबायो, दिशा निर्देशले उकास्यो
सन् १९८८ मा नेपाल टेलिभिजनमा अंग्रेजी गीतहरुको कार्यक्रम सन्डे पप शोबाट भूषणको टेलिभिजन यात्रा शुरु भएको थियो। दुईवटा गीतका बीचमा उनी कलाकार, गीतबारे व्याख्या गर्ने वा दर्शकका चिठी पढेर कार्यक्रमलाई मनोरञ्जक बनाउँथे।

आठ–नौ वर्ष नेपाल टेलिभिजन तथा एकवर्ष श्रीलंकामा बिताउँदा उनले थुप्रै अडियो–भिजुअल र विज्ञापन बनाएका थिए। त्यसबाट उनले १५–२० लाख रुपैयाँ पनि बचाए। त्यहीबेला उनलाई आफ्नै प्रोडक्सन हाउस खोल्ने रहर जाग्यो र नाम दिए– दिव्य दृष्टि इन्टरनेसनल।

Bhusan dahal 11
एक समय आफ्नै प्रोडक्शन कम्पनी खोलेका भूषणले त्यसमा ठूलो घाटा ब्यहोर्नुपर्‍यो

‘त्यसबाट मलाई नराम्रोसँग झट्का लाग्यो। उतिबेला १५–२० लाख ठूलो रकम थियो। सबै पैसा डुब्यो। त्यसले मानसिक यातनासँगै नैराश्यता थप्यो। म हरिटाट भएँ। मसँग बस चढ्ने पनि पैसा हुन्थेन,’ भूषण सम्झन्छन्, ‘तर म अहिले पनि कलेजहरुमा जाँदा भन्छु, खाल्डोबाट निस्कने तागत कहिल्यै पनि कम हुन दिनुहुँदैन। त्यो साहस नभएको भए म कहिल्यै उठ्न सक्दैनथेँ। त्यही तागतले मेरो जीवनको दोस्रो इनिङ शुरु भयो।’

दिव्यदृष्टिबाट टाट पल्टेपछि एकदिन उनी त्यसै कोठामा पल्टेर बसिरहेको थिए। त्यसबेला माओवादी युद्ध सुरु भइसकेको थियो। अनेकौं घटना, चौकी हानेको, मान्छे मारेको, बम पड्केको समाचार दोहोरिरहन्थ्यो। भूषणलाई त्यही कुराले क्लिक गर्‍यो र उनले यसलाई कुनै न कुनै तरिकाले मूलधारको टेलिभिजनमा उतार्नुपर्छ भन्ने सोच बनाए। त्यही सोचाइबाट दिशा निर्देशको अवधारणा जन्मियो।

उनलाई प्रोडक्सनको ज्ञान थियो। राजनीतिको भने थिएन। त्यही अभाव पूर्ति गर्न उनले त्यसबेलाका नेपाल म्यागेजिनका सम्पादक विजय कुमारलाई प्रस्तोताको प्रस्ताव गरे।

विजयकुमारले त्यसबेला सोधेको प्रश्न अझै भूषणलाई याद छ।

‘कति एपीसोड गर्ने मन छ?’ विजय कुमारको प्रश्न थियो।

‘१२ एपीसोड गर्छु। १३ पनि गर्दिनँ,’ भूषणको जवाफ।

विजय कुमारले निकै आनाकानीसहित त्यसबेला हुन्छ भनेको भूषण अहिलेपनि सम्झन्छन्।

विषयवस्तु र प्रस्तोता तयार भएपनि भूषणसँग त्यसबेला एकसुको पैसा थिएन। त्यसैले उनी विज्ञापन एजेन्सीसँग आवद्ध आफ्ना साथीहरुकहाँ दौड्न थाले। त्यसबेला कुनैपनि विज्ञापन एजेन्सीले दिशानिर्देश जस्तो गहकिलो कार्यक्रममा लगानी गर्ने हैसियत राख्थेनन्। त्यसको विकल्प पनि भूषणले नै खोजे। तीन–चार वटा यस्ता एजेन्सी भेला गरेर भने, ‘एकजनाले नसके सबै मिलेर त लगानी गर्नसक्छौं नि!’

Bhusan dahal 9
दिव्य दृष्टिमा डुबेका भूषणलाई दिशा निर्देशले उकासेको थियो

त्यहीँबाट विज्ञापन एजेन्सीहरुको संस्था मिडिया हब जन्मियो। जुन अहिले नेपाली प्रोडक्सन क्षेत्रमा स्थापित नाम बनेको छ।

मिडिया हबको लगानीमा दिशानिर्देशको १२ एपीसोड बनाएपछि नेपाल टेलिभिजन र त्यसबेलाका महंगा प्रस्तोता विजय कुमारलाई पैसा तिरेर तथा प्रोडक्सन खर्च कटाएर पनि भूषणले आफ्ना लागि साढे तीन लाख रुपैयाँ जोगाए। ‘मेरो जिन्दगीको सेकेन्ड इनिङको उर्जा त्यही थियो,’ विगत सम्झदैँ भूषणले भने।

त्यसपछि दिशानिर्देश उनले बन्द गरे। विजय कुमारले भने दिशानिर्देशलाई आफूले निरन्तरता दिने इच्छा राखे। जसमा भूषणको मञ्जुरी थियो। त्यही दिशानिर्देश अहिले विजय कुमारको ब्रान्ड बनेको छ।

त्यसैबेला कान्तिपुर टेलिभिजनले लाइसेन्स पायो। कान्तिपुरको पहिलो कर्मचारीका रुपमा नियुक्त हुन पाएकोमा भूषण आफूलाई भाग्यमानी ठान्छन्। ‘कान्तिपुर मेरो व्यवसायिक जीवनको सुखद् थलो रह्यो। त्यहीकारण १८ वर्ष लामो यात्रा झिमिक्क गरी बितेजस्तो लाग्छ,’ उनी भन्छन्।

भूषणको भविष्य
आफूले कान्तिपुर छाडे पनि फायर साइड कान्तिपुरकै सम्पत्ति रहेकोेमा उनी स्पष्ट छन्। ‘मैले यो कार्यक्रम कान्तिपुरकै लागि उत्पादन गरेको हो। फायर साइड मैसँग रहरनुपर्छ भन्ने म लोभ गर्दिनँ,’ उनले भने, ‘नेपाल टेलिभिजन र इमेजमा पनि मैले थुप्रै कार्यक्रम उत्पादन गरेँ। त्यहाँबाट निस्केको दिन ती कार्यक्रम उहाँहरुकै आर्काइभमा थन्काएर आएको हुँ। अहिले फायर साइड पनि कान्तिपुरकै हो। कान्तिपुरलाई छाड्छु।’

पुनः फायर साइडको प्रस्तोताका रुपमा देखिने सम्भावना पनि उनले कान्तिपुर व्यवस्थापकलाई नै छाडे। ‘फायर साइडको यात्रा अहिले केही समयका लागि विश्राममा पुगेको छ। आगामी दिनमा कान्तिपुरले स्वतन्त्र रुपमा पनि फायर साइड चलाउन सक्छ। होइन, म नै चाहिन्छ भन्ने भयो भने त्यही किसिमको सम्झौतामा हामी अघि बढ्छौं होला,’ उनले भने।

Bhusan dahal 12
अब के गर्ने भूषणले तत्काल ठोस योजना बनाएका छैनन्

चर्चित कार्यक्रम भएतापनि फायर साइडलाई रि–फम्र्याट गर्नुपर्ने बेला आइसकेको महसुस उनले गरेका छन्। ‘कतिपय ब्रान्डहरु निद्रामा पुगिसकेँ पनि हामी अस्तित्वमा राखिरहन्छौं,’ उनी भन्छन्, ‘त्यसले कुनै व्यापारिक अर्थ पनि राख्दैन र निदृष्ट लक्ष्यपनि पूरा गर्दैन। किनकी त्यो बोधो भैसकेको हुन्छ। अब फायर साइडलाई पनि नयाँ ढंगले सञ्चालन गर्नुपर्ने बेला आइसकेको छ।’

अहिले नेपाली टेलिभिजनहरुमा सञ्चालित टक शोहरुमा प्रस्तोता बढि हावी भएको देखिएको र त्यसो हुननहुने उनको सुझाव छ। ‘टक शो इन्गेजिङ (सहभागितात्मक) हुनुपर्छ। यो दुईजनाबीचको कुराकानीमात्रै हैन। त्यहाँ दर्शक पनि जोडिएका हुन्छन्। प्रस्तोताभन्दा उत्तर दिने मान्छेले बढि ठाउँ पाउनुपर्छ। त्यो ठाउँ अलि साँघुरिएको मैले देखिरहेको छु। त्यो कुराको अनुभूति हुने हो भने संसारभर यो फम्र्याट (ढाँचा) लोकप्रिय रहेको र नेपालमा पनि लोकप्रिय हुन बेर लाग्दैन।’

१८ वर्षे कान्तिपुर करिअरबाट विश्राम लिए पनि बाँकी जीवन अडियो–भिजुअलमै बिताउने र केही अधुरा सपनाहरुलाई पूरा गर्ने भूषणको योजना छ। तर त्यसको माध्यम फायर सायड नै हुनेछ कि अन्य, त्यो उनले टुंगो लगाइसकेका छैनन्।

आइतबार दिउँसो कुपण्डोलस्थित एक होटलमा भेटिँदा भूषणको टेबुलमा भिमसेन थापाको जीवनी थियो। जागिरे जीवनबाट मुक्ति लिएपछि केही समय अध्ययनमै व्यतित गर्ने उनको योजना छ। त्यसपछि मात्र के गर्ने भनेर ठोस निर्णयमा पुग्ने उनी बताउँछन्।

‘म कहिल्यै पनि योजना बनाएर आफ्नो जीवनलाई अघि बढाउने व्यवस्थित किसिमको मान्छे होइन। जसोजसो आइपर्ला, त्यसोत्यसो टर्ला भनेर लिन्छु,’ उनी भन्छन्, ‘अहिले छुट्टी मनाइरहेको छु। दुई–चार हप्ता दुई–चारवटा रहर लागेका किताब पढ्छु। अनि मस्तिष्क छ्यांगिन्छ। त्यसपछि यही नै गर्छु भन्ने ठोस निष्कर्षमा पुग्नेछु।’

भूषणले बनाउन चाहेको चलचित्र

Bhusan dahal 4
भूषणको नयाँ चलचित्र २०२० को अन्त्यसम्म प्रदर्शनमा आइसक्ने आशा गरिएको छ

आफू जागिरबाट बाहिर निस्केपनि करिअरबाट ननिस्कएको उनी बताउँछन्। यो क्षेत्रमा आफूले थुप्रो योगदान गर्न बाँकी रहेको र बाँकी जीवनमा त्यो पूरा गर्ने प्रयासमा रहने उनले बताए।

उनले जीवनमा नयाँ गर्न खोजेको एउटा पाटो फरक चलचित्र पनि हो। कागबेनी (उनको पहिलो चलचित्र) मा नयाँ प्रविधि भित्र्याएर चर्चा बटुलेका भूषणले यसअघि नै बृहसु नामको अर्को चलचित्र बनाउने घोषणा गरेका थिए। तर, कागबेनीपछि त्यसखाले चलचित्रको बाढी नै आयो। गुणस्तर भने स्वाट्टै घट्यो। त्यसले भूषणलाई नयाँ चलचित्र बनाउने आँट आएन।

जागिर छाडेपछि भने भूषणले बृहसु बनाउने आँट थपिएको छ। यसको कथा मूलधारका चलचित्रभन्दा पृथक छ। यसको मुख्य नायक नै ६५ वर्षको बुढो पात्र हुनेछ। ‘रिटायरमेन्ट (अवकाश जीवन) लाई धेरैले मृत्यु सम्झन्छन्। अबको अर्को स्टप मृत्यु हो भन्ने ठान्छन्। तर, त्यो फिल्मले रिटायरमेन्ट भनेको मृत्यु होइन भनेर प्रेरित गर्छ भन्ने मलाई लाग्छ। सम्भवतः २०२० को अन्त्यसम्म प्रदर्शनका लागि तयार हुनुपर्ने हो। एकाध महिना तलमाथि भएमा क्षमा चाहन्छु,’ भूषणले हाँस्दै कुराकानी टुंग्याए। 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0