काठमाडौं, ७ माघ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले काङ्ग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ ।’
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अग्निप्रसाद सापकोटालाई सभामुखमा अगाडि सारेको छ । रासस
The post कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने appeared first on Koshi Online.