कैदी मृत्यु प्रकरण: घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

0
47
संखुवासभा- सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ ।
कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र ककनी–७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले पुष्टि गर्नुभयो ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई बुधबार बिहान १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको बताइएको छ । कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।
फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो । पीडित पक्षको किटानी जाहेरी आएपछि म्याद थप गरेर घटनामा संलग्नमाथि थप अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो ।
कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरी र चौकीदार, नाइके, बडानाइकेसहित पाँच कैदीबन्दी संलग्न भएको देखिएको छ । नियन्त्रणमा लिएका १५ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागारको सुरक्षामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २० प्रहरी परिचालन गरिएका थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । उक्त घटना कारागारको ‘ए ब्लक’मा भएको हो । सो ए ब्लकमा ६६ कैदीबन्दी रहेको थिए ।
घटनापछि जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालयका नायव सुब्बा तारणी घिमिरे सदस्य रहनुभएको छ ।
त्यस्तै गरी कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य हुनुहुन्छ । कोशी प्रदेश प्रहरीको छानबिन  समितिले  बिहीबारदेखि  काम सुरु गरिसकेको छ ।
गृह मन्त्रालयको छानबिन समितिको अनुसन्धान सुरु
जिल्ला कारागारमा दुई कैदीको शङ्कास्पद मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समते छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका नायब उपरीक्षक कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ ।
गृह मन्त्रालयको छानबिन टोली आज सङ्खुवासभा आइपुगेको हो । टोलीले आजदेखि अनुसन्धान सुरु गरेको छ । अहिले सङ्खुवासभा कारागारमा आठ महिलासहित एक सय ३६ कैदीबन्दी छन् ।

https://www.ujyaalonepalnews.com/archives/30222

Previous articleबाघेखोलामा डुबेर दुई बालबालिकाका मृत्यु
Next articleखण्डहर बन्दै भृकुटी कागज कारखाना