ललितानिवास जग्गा प्रकरणकाे अनुसन्धान निष्कर्षतिर, ३ सय बढीविरुद्ध मुद्दा दायर हुने

0
34

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितानिवास जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। केही दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय पठाउने उसको तयारी छ ।

सिआइबीले पक्राउ परेका २० अभियुक्तलाई अनुसन्धानका लागि भनेर बुधबार अन्तिमपटक म्याद थप्दै छ । संगठित अपराधसम्बन्धी कसुरमा बढीमा ६० दिनसम्म हिरासतमा राख्न पाइने प्रावधान छ । सिआइबीले अभियुक्तलाई थुनामा राखेको मंगलबार ५० दिन भएको छ। ‘

सरकारी वकिलले अभियोजनका लागि करिब एक साताको समय माग गरेको छ । जसअनुसार सकेसम्म शुक्रबार नत्र आइतबारसम्म रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन सिआइबी तयारी छ ।

सिआइबीले तीन सयभन्दा धेरैलाई प्रतिवादी बनाई मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । जसमध्ये २० जना मात्र सिआइबी थुनामा छन् । प्रतिवादी पक्राउ पर्न थालेलगत्तै धेरैजना भागेकाले प्रहरीले पक्राउ गर्न सकेन । कतिपय विदेशमा भागेकाले नेपाल ल्याउन समस्या भएको सिआइबी स्रोत बताउँछ ।

सिआइबीको छानबिन लगभग पूरा भएपछि मन्त्रिपरिषद्का पदाधिकारीमाथि अनुसन्धानका लागि सर्वाेच्च अदालतले आदेश दिएकाले सो विषयले अनुसन्धान लम्बिएको हो । गत २१ साउनमा सर्वाेच्चले नीतिगत निर्णयमा संलग्न पदाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन भनेको थियो ।

जसअनुसार त्यससम्बन्धी निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि कसरी अनुसन्धान गर्ने भन्नेमा अझै अन्योल छ । उनीहरूलाई बयानमा बोलाउने निर्णय सिआइबीबाट भइसकेको छैन ।

पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलगायत विरुद्ध भने पक्राउ पुर्जी नै जारी भइसकेको छ । अहिलेसम्मको सिआइबीको अनुसन्धानमा तत्कालीन मन्त्रीसम्मलाई प्रतिवादी बनाउनुपर्ने राय छ । सिआइबीले संगठित अपराध तथा किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

https://www.ujyaalonepalnews.com/archives/30437

Previous articleसत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष: उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन
Next articleडोल्पामा छब्बीस दिनदेखि अवरुद्ध हवाईसेवा सुचारु