बन्द हुँदै आयल निगमभन्दा पुरानो पेट्रोल पम्प

0
250

जिजुबाजे भोलाराम टिब्रेवालाले तेलको व्यापार कसरी सुरु गरे, पनाति राजेन्द्रलाई उतिसारो थाहा छैन। बुबा जुगलकिशोरले सुनाएअनुसार पहिले उनीहरुको इन्द्रचोकमा कपडाको व्यापार थियो।

‘जिजुबाजेले त्यसबेला जर्किनमा राखेर पेट्रोल बेच्न थाल्नु भएको रे,’ नेपालखबरसँग आफ्नो पेट्रोलपम्मको इतिहास कोट्याउँदै त्रिपुरेश्वरस्थित मायाराम–भोलाराम पेट्रोल पम्पका सञ्चालक ६८ वर्षीय राजेन्द्रले भने, ‘त्यसबेला निकै कम गाडी चल्थे। राजा, राणा र धनीमानीले गाडी चढ्थे। काठमाडौँमा चल्ने गाडी गन्न सकिन्थ्यो।’

त्यसबेला नेपालमा भारतको ब्रह्मासेल कम्पनीको तेल आउँथ्यो। रक्सौलमा ब्रह्मासेलको डिपो थियो। त्यहाँबाट ड्रममा भरेर ट्रकमा कालिमाटी डिपोमा झारिन्थ्यो। त्यसबाट काठमाडौंका विभिन्न खुद्रा डिपोले तेल लिन्थे।

‘उतिबेला हाम्रो डिपोको नाम पनि ब्रह्मासेल नै थियो। पछि जिजुबाजेले त्यो नामको तलतिर आफ्नो बुबा मायारामको नाम जोड्दै मायाराम–भोलाराम राख्नुभएछ। त्यहाँ टिनको जर्किनमा पेट्रोल बेच्न राखिन्थ्यो,’ उसबेलाको श्यामश्वेत तस्बिर देखाउँदै राजेन्द्रले भने।

614A6439.jpg

त्यसबेला त्रिपुरेश्वरमा तेलको व्यापार खासै थिएन। टुडिँखेल, त्रिपुरेश्वर खाली थिए। सहर भनेको इन्द्रचोक र असनमात्रै थियो। 

राजेन्द्रलाई अझै सम्झना छ, उनी बच्चा छँदा उनको घर र सहरभरी दाउराले नै खाना पकाइन्थ्यो। ब्रह्मासेलले नै मट्टीतेल ल्यायो। ‘मान्छेहरुलाई मट्टीतेलबारे थाहै थिएन। यसको बिक्री बढाउँन बह्मासेलले चुलोसमेत बेच्न थाल्यो। त्यसपछि बल्ल मान्छेहरु मट्टीतेलको चुल्होमा खाना पकाउन थाले,’ राजेन्द्रले रोमाञ्चित हुँदै सुनाए, ‘त्यसबेला ग्यालेनको चलन थियो। साढे ४ लिटरको ग्यालेनलाई २–३ रुपैयाँ पर्थ्यो। सुरुमा पम्पबाट पनि ग्यालेनकै आधारमा तेल बिक्री हुन्थ्यो। पछि लिटरको चलन आयो।’

राजेन्द्रका बुबाकै पालासम्म टिनको जर्किनमा तेल बेच्ने गरिन्थ्यो। बच्चा हुँदा पम्पबाट पेट्रोल, डिजेल, मट्टीतेल र मोबिलको व्यापार हुने गरेको राजेन्द्र सम्झिन्छन्। सबैले मोबिल आयात गर्न थालेपछि उनको पम्पले बेच्न छोड्यो।

त्रिपुरेश्वरमा ठाउँ सानो भएकाले ठूला बसहरु रोक्न र डिजेल भर्न समस्या थियो। त्यसमाथि नेपाल आयल निगमले मिसावट हुने सम्भावना रहने भन्दै पम्पबाट मट्टीतेल पनि नबेच्ने नियम लागू गरेपछि मायाराम–भोलारामको व्यापार पेट्रोलमा मात्रै सीमित भयो।

Mayaram_bholaram_petrolpump.jpg

राजदरबारको सप्लायर्स
राजेन्द्रका अनुसार नारायणहिटी राजदरबारबाट सबैभन्दा पायक पर्ने ठाउँ भएकाले मायाराम–भोलारामले त्यहाँ पेट्रोल आपूर्ति गर्ने गर्थ्यो।

‘हाम्रो सानो जीप थियो। त्यसैमा एक पटकमा तीन–चार ड्रम लिएर हामी जान्थ्यौँ,’ उनी भन्छन्, ‘नेपाल आयल निगमको स्थापना हुनुअघिसम्म हामीले नारायणहिटीमा तेल सप्लाइ गथ्र्याँै। त्यसपछि निगमले तेल दिन थाल्यो।’

दरबारमा तेल पुर्‍याएपछि कुपन दिइन्थ्यो। त्यही कुपनका आधारमा पछि भुक्तानी पाइन्थ्यो। तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह भने गाडी लिएर पेट्रोल पम्पमै आएको उनलाई सम्झना छ।

‘धीरेन्द्रसँग कुपन हुन्थेन। उनी नगदै भुक्तानी गरेर जान्थे। बचेको चानचुन पैसा स्टाफलाई दिन्थे,’ राजेन्द्र भन्छन्, ‘कहिलेकाहीँ उनी बुबासँग कुराकानी पनि गर्थे। त्यसबाहेक सेन्ट जेभियर्समा पढ्ने राजदरबारका सदस्यहरु पनि आउँदाजाँदा बाटोमा पर्ने भएकाले यहीँ तेल भर्थे।’

२०२७ सालमा सरकारले आयल निगम गठन गर्‍यो। सुरुमा यो पनि ब्रह्मासेलकै एजेन्ट थियो। त्यसबेला आयल निगमले रत्नपार्कबाट खुद्रा व्यापार सुरु गरेको राजेन्द्र सम्झन्छन्। पछि सरकारले आयल निगमबाटै तेल बेच्ने एकाधिकार लागू गर्‍यो। त्यसपछि पेट्रोल पम्पहरुको संख्या बढ्दै गयो।

पाँचौँ पुस्तामा बन्द हुँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनमा बाधा पुर्‍याउने सडक किनाराका तथा घना बस्तीका १८ वटा पेट्रोल पम्प हटाउन निर्देशन दिएपछि यो पुरानो पेट्रोल पम्प समेत त्यसको चपेटामा परेको छ। सरकारले निर्देशन कार्यान्वयन भएपछि राजेन्द्रका छोरा (पाँचौंं पुस्ता)मा आएर यो पेट्रोल पम्प बन्द हुनेछ।

तर, आफ्नो पेट्रोलपम्पका कारण ट्राफिकलाई बाधा पुगेको मान्न राजेन्द्र तयार छैनन्। ‘पेट्रोल पम्प हटाएर जाम हट्ने होइन। पम्पले बाटो जाम गरेको मैले कहिल्यै देखेको छैन। गाडी बढी भएर जाम हुने हो,’ उनी भन्छन्, ‘कालिमाटीबाट त्रिपुरेश्वर गाडीमा भन्दा हिँडेर छिटो आइपुगिन्छ। पेट्रोलपम्पले जाम भएको कही देखिँदैन।’

बुबाको ढल्कँदो उमेर र सरकारी नियमले झन्झट हुने देखिएपछि छोराहरु पनि पेट्रोल पम्पको व्यवसाय अघि नबढाउने निर्णयमा पुगेका छन्। त्यसैले राजेन्द्रपनि मन मारेरै भएपनि सरकारले हटाएपछि छोड्ने निर्णयमा पुगेका थिए।

614A6400.jpg

‘म तपाईंलाई हिसाब देखाइदिन्छु। यसबाट सालको १० लाख कमाउन पनि गाह्रो छ। त्यसमा पनि तीनलाख रुपैयाँ कर तिर्नुपर्छ,’ उनी भन्छन्, ‘मेरा जिजुबाजेदेखिको व्यापारमा मेरो इज्जत जोडिएको छ। मानिसहरुले मलाई यसैका कारण चिन्छन्। यो उमेरमा आएर म अर्को के व्यवसाय गरुँ भनेर गरिरहेको छु। सरकारले हट् भनेपछि हट्नै पर्‍यो।’

पेट्रोलपम्प अर्को ठाउँमा सार्ने उनको योजना छैन। ‘पहिले यहाँ बजार थिएन। विस्तारै बजार बढ्यो। भविष्यमा जहाँ सर्‍यो, त्यहीँ बजार हुन्छ त्यहाँबाट पनि फेरि कहाँ सार्ने?’ उनी प्रश्न गर्छन्।

पेट्रोल पम्प व्यवसायमा छोराहरुको लगाव देखिँदैन। उनीहरु सरकारी झन्झट झेल्नुभन्दा पेट्रोल पम्प बन्द गरेर त्यही ठाउँमा २–३ वटा सटर खोले बढी आम्दानी हुनसक्ने ठान्छन।

‘एकातिर आम्दानी छैन। अर्कातिर सरकारी झन्झट। छोराहरुले त यस्तो व्यापार गर्नु नै बेबकुफी हो भन्छन्,’ राजेन्द्र मन मारेर भन्छन्, ‘यसमा लाग्दा उनीहरुको जाँगरै जान्छ। मेरो त उमेर पनि पाक्यो। जुन दिन सरकारले बन्द गर् भन्यो, म खुसी नै भएँ।’

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0