विराटनगर– तत्कालिन एमाले समानुपातिक तर्फबाट प्रदेश १ सभा सदस्य बनाएकी गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी छन् । खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको हो ।
खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेका थिए।

गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्त्ता गराएका थिए।
प्रदेससभा सदस्य खातुनलगायत चारै जना फरार छन्। फरार भएकै कारण गुलेफुनले बिहीबार सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्न आएनन्। उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरेपछि प्रदेशसभा सदस्यमा बहाल रहेकी खातुन फौजदारी अभियोगमा दोषी ठहर भएकी हुन्। सरकारी छाप किर्ते अभियोगमा दोषी ठहर भएपछि उनीमाथि फौजदारी अपराध संहिता अन्तरगत कानूनी कारवाही हुने व्यवस्था छ।
