हात काटिए पछि कम्पनीले निकाली दियो, घर आउने पैसा छैन, नेपालीको युवाको बिचल्ली

0
369

सुर्खेतका शंकर परियार विगत चार वर्षदेखि मलेसियामा छन्। उनी मलेसियाको जोवरबारूस्थित टिएफ भ्यालु मार्ट कम्पनीमा कार्यरत थिए। उक्त कम्पनीमा पारिश्रमिक थोरै र ओभर-टाइम सुविधा समेत नभएपछि उनले झन्डै चार वर्षपछि त्यो कम्पनी छाडे। त्यसपछि अवैध बनेका उनी जोवरबारूस्थित एक फर्निचर कम्पनीमा काम गर्न थाले। फर्निचर कम्पनीमा तलब राम्रो सुनाइएको थियो। मासिक दुई हजार पाँच सय मलेसियन रिंगेटसँगै ओभर-टाइम सुविधा पनि पाइने भनिएको थियो। कमाइ राम्रो हुने सुनेपछि शंकरको मन पनि फुरूंग थियो। केही वर्ष मेहनत गरेर टन्न कमाइ गर्ने सोचेका थिए उनले।

केही वर्ष काम गरी आफू र परिवारका लागि खुसी बटुलेर फर्किने सोच राखेका उनको सपना दुई साता नपुग्दै टुक्रियो। काम गर्न थालेको दुई साता नहुँदै मेसिनले उनको दाइने हात काट्यो। हात एकदमै गहिरोसँग काटिएको थियो। ‘मेरो दाइने हात झन्डै दुई टुक्रा नभएको। अब मेरो हात जोडिँदैन होला भनेर म एकदमै डराएको थिएँ,’ सामाजिक सञ्जालमार्फत कुराकानी गर्दै शंकरले सुनाए। कम्पनीले उनको हातको उपचार गर्न थोरै रकम दियो। तर पूरै निको हुनेसम्मको उपचार गरिदिएन। रिपोर्ट कस्तो आयो भनेर पनि शंकरले जानकारी पाएनन्।

‘मेरो हात अझैसम्म निको भएको छैन। कति समयपछि निको हुन्छ वा अब के गर्नुपर्ने हो, त्यो पनि थाहा भएन,’  कुराकानीमा शंकरले भने, ‘सुपरभाइजरलाई रिपोर्ट कस्तो आयो दिनुस् न भनेको हरायो भनेर दिनुभएन।’ शंकरको हातले काम गरेन। त्यसपछि कम्पनीले उनलाई खान बस्न पनि नदिने भयो। उनले त्यो कम्पनी पनि छाडनुपर्ने भयो। नेपालबाट श्रम स्वीकृति लिएर गएको कम्पनी छाडेर अवैध बनेका शंकर अलपत्र परे। अब उनलाई स्वदेश फर्कन पनि सहज थिएन। न स्वदेश फर्कने पैसा नै थियो।

‘मसँग एक पैसा पनि थिएन। मर्नु न बाँच्नु भएको थिएँ। धन्न एक जना मनकारी नेपाली साथी भेटिनुभयो र उहाँले खान बस्न दिनुभएको छ। तर अरूको देशमा साथीको भरमा कति दिन बाँच्न सकिएला,’ उनले भने, ‘अहिले त उडान बन्द छ। उडान खुले पनि घर जाने पैसा छैन। दाइने हातको पनि बुढी औंला बाहेक अरू चल्दैन। उपचार गर्न पनि पाइनँ।’ मलेसियामा अलपत्र परे पैसा पठाइदिनू भनेर घरमा भन्ने अवस्था पनि छैन उनको। बूढा आमाबुबा, श्रीमती र बच्चा शंकरसँगै आश्रित छन्। ‘कतैबाट सहयोग मिले देश फर्किन पाउँथे। बरू ऋण काढेर हातको उपचार गराउँथे। तर यस्तो महामारीको बेला छ, ऋण पनि कसले पत्याउला,’ उनले भने।

मलेसियाकै जोवरबारूस्थित अर्को एक फर्निचर कम्पनीमा कार्यरत संखुवासभाका सागर राई पनि अहिले अलपत्र अवस्थामा छन्। उनलाई कम्पनीले कामबाट निकालिदिएको छ। स्वदेश फर्कन उडान छैन। ‘यहाँ पनि कोरोना बढ्दै गएपछि लकडाउन छ। काम नहुने भएपछि कम्पनीले अब आफ्नै देश जाऊ भनेर हिसाबकिताब मिलाएर निकाल्यो। तर देश फर्किन उडान नै छैन,’ राईले भने। अप्ठ्यारोमा परेका उनी अहिले एक जना साथीकहाँ बसेका छन्। शंकर, सागरसहित अलपत्र परेका नौ जना युवाहरू एक जना नेपाली युवाहरूसँग आश्रय लिएर बसेका हुन्। कोरोना महामारीका कारण ठूलो संख्यामा युवाहरू एकै फ्ल्याटमा बस्न पनि त्रासद छ।

‘मैले फ्ल्याट नै लिएको छु। त्यही भएर साथीहरूलाई बस्न दिएको हुँ। तर यहाँको प्रहरीले छापा हान्यो भने सिधै जेल लैजान सक्छ,’ अप्ठ्यारोमा परेका युवालाई आश्रय दिइरहेका मनोज छन्त्यालले भने। मनोजले खान बस्न दिएर राखेका नौ जना युवाहरू सबै कागजातबिहीन (अनडकुमेन्टेड) हुन्। यति बेला अवैध हैसियतमा रहँदै आएका आप्रवासीलाई स्वदेश फर्किन मलेसिया सरकारले केही लचिलो नीति ल्याएको छ। यही जून महिनाभित्र फर्किने अनडकुमेन्टेड आप्रवासीलाई मलेसिया सरकारले जरिवानामा केही छुट दिएको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार जूनसम्म फर्किए उनीहरूले पाँच सय मलेसियन रिंगेट जरिवाना तिरे पुग्छ। तोकेको अवधिमा नफर्किए दस हजार मलेसियन रिंगेट जरिवानासहित जेल सजाय समेत भोग्नुपर्ने अवस्था आउने राजदूत पाण्डे बताउँछन्। दूतावासका अनुसार मलेसियामा कागजातबिहीन नेपालीको संख्या निकै ठूलो छ। मलेसिया सरकारले उनीहरूलाई जरिवानामा छुट दिएको अवस्थामा स्वदेश फर्किन सहजीकरण गर्नुपर्ने समयमा उडान बन्द हुँदा समस्या देखिएको दूतावासको भनाइ छ।

नेपालमा कोभिड-१९ को दोस्रो लहर बढ्दै गएपछि सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ। त्यसो हुँदा भिसा अवधि सकिएका तथा स्वदेश फर्किन चाहने कागजातबिहीन थुप्रै नेपाली अड्किएका छन्। उडान नहुँदा नेपालीहरू समस्यामा पर्ने क्रम बढ्न थालेकाले नियमित उडान खुला गर्न दूतावासले सरकारलाई आग्रह गरेको छ। मलेसियामा हाल करिब तीन लाख नेपाली कार्यरत रहेको अनुमान छ। निर्मला घिमिरे/ सेतोपाटी 

तपाईको प्रतिक्रिया