विदेश जान अब खोपका कारण नरोकिने; नेपाल सरकारले भोली देखिनै दिने भयो मान्यता प्राप्त खोप

0
1885

विदेश जान अब खोपका कारण नरोकिने; नेपाल सरकारले भोली देखिनै दिने भयो मान्यता प्राप्त खोप

काठमाण्डौ – सरकारले भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोप लगाउने भएको छ । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ ।

सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्ड जोनसोन खोपको पहिलो मात्राको रूपमा भोलिदेखि लगाउन लागिएको हो । पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् ।

मन्त्रालयका अनुसार ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई भेरोसेल खोप दिइने भएको छ । यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक/सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने छ ।

यस्तै ५० देखि ५४ वर्ष उमेर समूहलाई जोनसन एन्ड जाेनसन खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ‘क’ र ‘ख’ वर्गको परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरू, अहिले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मीहरूलाई पनि जोनसन एन्ड जाेनसन खोप दिइने भएको छ ।

खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।  उज्यालो अनलाईन बाट 

तपाईको प्रतिक्रिया