सोझा नेपाली ठग्दै साउदी जाने प्लेनको एकतर्फी टिकट करीब २ लाख

0
166

काठमाडौं – रौतहटका अब्दुल रहमान बैदेशीक रोजगारीकालागि साउदी जाने टिकट काट्न बिहीबार काठमाडौंको गैरीधारामा रहेको हिमालय एयरलाइन्सको सेल्स अफिस पुगे । त्यहाँ हिमालय एयरलाइन्सले साउदी उडानको एकतर्फी भाडा मात्र १ लाख ७० हजार मागेपछि रहमान छाँगाबाट खसे जस्तै भए । यति ठुलो रकम बोकेर नआएका यीनि साउदी जान धितोमा घडेरी राखेर भएपनि हिमालय एयरलाइन्सको टिकट काट्न बाध्य भएको बताए ।

साउदीको दुईतर्फी भाडा नै ४५ हजार छ, तर कोराना महामारीको मौका छोपेर हिमालय एयरलाइन्सले क्वारेन्टिन खर्च समेत भन्दै साउदीको एकतर्फी भाडा करिब दुई लाखसम्म अशुलेको खुलासा भएको छ । जबकी खाडी मुलुकमा यति रकम जोड्न नेपाली श्रमिकले महिनौं श्रम गर्नुपर्ने हुन्छ । कोरोना महामारीकै बीच साउदी उडानको एकलौटी चार्टर उडान अनुमती पाएको हिमालय एयरलाइन्सको सेल्स अफिसमा अहिले साउदी जाने टिकट काट्ने र टिकट सच्याउनेको भिड छ ।

कोरोना महामारीकाबीच जारी निषेधाज्ञामा नियमित अन्तर्राष्ट्रिय उडानहरु बन्द थिए । त्यस क्रममा विदेश जाने वा फर्कनेहरुसँग एउटै विकल्प थियो, चार्टर उडान । तर हिमालय एयरलाइन्सले साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई त्यहि चार्टर उडानको नाममा चरम शोषण गरेको खुलासा भएको छ । हिमालय एयरलाइन्सले साउदी उडानको एकतर्फी भाडा मात्र १ लाख ७० हजार असुलिरहेको खुलासा भएको छ । यसरी हिमालय एयरलाइन्सले उडानको नाममा लुट मच्चाएपछि परेको उजुरी उपर संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति पनि गठन गर्याे । तर श्रम गर्न विदेशीएका नेपालीको पसिनामा नै लुट मच्चाउने हिमालय एयरलाइन्स उपर भने कुनै कारबाही भएन ।

यस्तोमा उपभोक्ता अधिकारकर्मी, ज्योती बानिया छानविन समिति नै एयरलाइन्सको प्रभावमा परेर हुने सक्ने बताउँछन् । अहिले नागरिक उड्डयन मन्त्रालय, ५ वटा मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री लीलानाथ श्रेष्ठको जिम्मा छ । एकै मन्त्रीलाई धैरै मन्त्रालय भाग लाग्दा उड्डयन क्षेत्रका अनियमिततामा सरकार निरिह देखिएको छ । तथापी प्रतिवेदन आउनासाथ दोषि देखिएका उपर कारबाहि गर्ने नेपाल नागरीक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।

करिब २ साताअघि सरकारले गठन गरेको छानविन समितिका संयोजक नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल हुन् । तर उनले भने एयरलाइन्सले गल्ती नगरेको दाबी गरेका छन् । यता, साउदीको दमामदेखि काठमाडौंसम्मको गन्तव्यमा चार्टर उडान भर्दै आएको हिमालय एयरलाइन्सले दमामले नियमित उडान नदिएकाले चार्टर उडान गर्नु परेको दाबी गर्दै आएको छ । यस बिषयमा बुझ्न खोज्दा एयरलाइन्सका कोही पनि सम्पर्कमा आउन चाहेनन् । यसरी हिमालय एयरलाइन्सले रोजगारीकालागि साउदी अरेबिया जाने र आउने नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम लुट गरिरहेको छ । हिमालय एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी रहेको छ । पुष्कर खतिवडा/ सगरमाथा टिभी 

तपाईको प्रतिक्रिया