उज्यालो नेपाल, असार २९-  वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोप लगाईदिने सरकारले निर्णय गरेपछि खोपकै कारण विदेश जान नपाएका धेरै नेपालीहरुमा खुसीको लहर आयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लगाईने बताएको छ ।  पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् ।

सरकारको यो निर्णय संगै धेरै श्रमिक खुसी त भए तर उनीहरुको खुसी धेरैबेर टिक्न सकेन । सरकारले गरेको अपरिपक्व निर्णयका कारण धेरैमा अन्योलता छाएको छ । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई आजदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको थियो । तर यो खोपलाई नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् ।

‘वैदेशिक रोजगारीमा तत्काल जानुपर्ने श्रमिकलाई सम्बन्धित देशमा मान्यता प्राप्त र हाल नेपालमा उपलब्ध जोन्सन एण्ड जोन्सन खोप नदिएर दुई मात्रा लगाउनु पर्ने भेरोसेल खोप त्यो पनि मान्यता प्राप्त नभएको खोप लगाईदिन्छु भन्नु श्रमिकहरु माथि गरिएको मजाक मात्र हो । यदि वैदेशिक रोजगारीमा जाने नेपालीले एक महिना कुरेर भेरोसेल खोपको दुवै डोज लगाएपनि नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशहरुले त्यसलाई मान्यता दिने छैनन्  र त्यो खोप लगाए-नलगाएको एउट्टै हुनेछ ।

साउदीले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेक र जोनसन एण्ड जोनसनको खोपलाई मात्र मान्यता दिएको छ । यी चारभन्दा बाहेक अरू खोप लगाएको भए साउदी पुगेपछि क्वरेण्टीन अनिवार्य गरिएको छ । कतारले पनि फाइजर, मोर्डना, अस्फोर्ड अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएको छ । यदि नेपाल सरकारले अहिले दिने भनेको भेरोसेल खोप लगाएर गए पनि श्रमिकहरूले कतार पुगेपछि १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेखाइनिस क्वरेण्टीनमा बस्न पर्नेछ ।

त्यस्तै कुवेतले अनुमति दिएको चार वटा खोपमा पनि भेरोसेल पर्दैन । अगस्ट १ देखि कुवेतमा पनि फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेकाका पूरा डोज लगाएका विदेशी नागरिकले मात्र प्रवेश अनुमति पाउनेछन् । नेपालीहरुको अर्को मुख्य श्रम गन्तव्य देश यूएईले अहिले नेपाली श्रमिकका लागि प्रतिबन्ध फुकुवा गरेको छैन । अब फुकुवा गर्दा कस्तो मापदण्डहरू बनाउँछ भन्ने निश्चित पनि छैन त्यसैले युएईको अवस्था भनेको पर्ख र हेर मात्र हो ।

श्रम गन्तव्य देशले मान्यता दिएको जोन्सन एण्ड जोन्सन खोप पाउनु पर्ने श्रमिकले नपाउने भएका छन्, तर नेपालमा रहेका शरणार्थी त्यो खोप पाउने प्राथमिकतामा परेका छन् । ५० देखि ५४ वर्ष उमेर समूहलाई जोनसन एन्ड जाेनसन खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ‘क’ र ‘ख’ वर्गको परिचय पत्र भएका अपाङ्गता भएका व्यक्तिहरू, अहिले नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघिको अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाइकर्मीहरूलाई पनि जोनसन एन्ड जाेनसन खोप दिइने भएको छ ।

तपाईको प्रतिक्रिया