पुरानो निर्णय सच्चियो: वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

0
1446

पुरानो निर्णय सच्चियो: वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने

काठमाण्डौ – खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि जोन्सन एण्ड जोन्सनको खोप दिने जनाएको छ । यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोपको प्राथमिकतामा राखेपछि श्रमिक र सरोकारवालाले सरकारको यो निर्णयको आलोचना गरेका थिए ।

कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक मात्र मात्रै लगाउँदा हुने जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए । अब जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरेका देशमा जान लागेका व्यक्तिहरूलाई पासपोर्ट र भिसा को आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिन सुरु गरेको छ ।

कँहा लगाउने खोप? 

जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । खोप केन्द्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, पिपल्स डेण्टल तथा जनरल अस्पताल सोह्रखुट्टे, हिमाल अस्पताल ज्ञानेश्वर, सामुदायिक स्वास्थ्यसेवा परिषद डल्लु, छत्रपाटी निःशुल्क चिकित्सालय छत्रपाटी र जनमैत्री अस्पताल बालाजुमा तोकिएको छ ।

त्यसैगरी मनमोहन अस्पताल स्वयम्भू, काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्बाराही, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेशनल हस्पिटल कलङ्की, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र गौशाला, कान्तिपुर अस्पताल तीनकुने, राधास्वामी आइसोलेशन सेन्टर बसुन्धरा र जनकल्याण माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ ।

नरदेवी आयुर्वेद अस्पताल नरदेवी, महेन्द्रनारायणनिधि अस्पताल बसुन्धरा, नेपाल भारत मैत्री अस्पताल चावहिल, मेट्रो अस्पताल नारायण गोपाल चोक, इरा इन्टरनेशनल अस्पताल सोह्रखुट्टे र हेल्पिङ् ह्याण्ड्स अस्पताल चावहिलमा केन्द्र रहेको छ । कामपाले हालसम्म सात प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको छ भने १६ प्रतिशत नागरिकले एक मात्रा मात्र खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया