विदेश जान खोप लगाएर मात्र पुग्दैन, खोप कार्ड प्रमाणीकरण समेत गराउन पर्छ, कँहा गएर गराउने ??

काठमाण्डाै – सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ। अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा खोप कार्डमा विवरण भर्न उहाँले आग्रह गर्नु भएको छ । वैदेशिक रोजगारीमा जानको लागि खोप कार्ड प्रमाणीकरण गर्नुपर्ने र त्यसको लागि घण्टौँ लाइनमा उभिनुपर्ने अवस्था आएपछि यसलाई केही व्यवस्थित बनाउने तयारी भएको हो । टेकु अस्पतालमा आज पनि खोप कार्ड प्रमाणीकरणको लागि बिहानैदेखि भीड छ । भीडलाई व्यवस्थित गर्न आजदेखि ४८ घण्टाभित्र विदेश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो ।

तीन महिनापछि विदेश जानेहरु पनि अहिले लाइन बस्न आएको भन्दै उहाँले आजदेखि अब ४८ घण्टाभित्र विदेश जानेहरुको मात्रै खोप कार्ड प्रमाणीकरण गर्ने बताउनु भएको हो । यस्तै भीडलाई व्यवस्थित गर्न टेकुमा अर्को काउन्टर खोल्ने पनि जानकारी दिनुभयो । खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीडले हिजो अस्पतालका अरु सेवा समेत प्रभावित भएको थियो । टेकु अस्पतालले हिजो १४ सयभन्दा धेरै खोप कार्ड प्रमाणीकरण गरेको थियो । अस्ति सात सय मात्रै कार्डको प्रमाणीकरण भएको थियो ।

तपाईको प्रतिक्रिया

1 COMMENT

  1. […] यस्तै भीडलाई व्यवस्थित गर्न टेकुमा अर्को काउन्टर खोल्ने पनि जानकारी दिनुभयो । खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीडले हिजो अस्पतालका अरु सेवा समेत प्रभावित भएको थियो । टेकु अस्पतालले हिजो १४ सयभन्दा धेरै खोप कार्ड प्रमाणीकरण गरेको थियो । अस्ति सात सय मात्रै कार्डको प्रमाणीकरण भएको थियो । उज्यालो नेपाल न्युज बाट […]

Comments are closed.