Nepali Worker in Topaz Gulf Company

काठमाडौं। साउदी अरबियामा फसेका दर्जनौं युवाहरु यतिबेला नेपाल फर्कनको लागि हारगुहार मागिराखेका छन्। नेपाल र साउदीस्थित सम्बन्धित सबै निकायमा अपिल गर्दा समेत उनीहरु नेपाल आउन सकिराखेका छैनन्। सम्बन्धित निकायले कुनै चासो नदिएकाले उनीहरु बाध्य भएर पछिल्लो समय उद्धारको लागि मिडियासँग अपिल गर्न थालेका छन्। साउदीमा फसेका दर्जनौंभन्दा बढी युवामध्ये एक हुन्, अर्घाखाँचीका नेत्र बस्नेत। उनी साउदीमा काम गरेको सात वर्ष भयो। नेपालबाट उनी त्यहाँ काम गर्न दोस्रो पटक पुगेका हुन्। उनी भन्छन्, ‘एक पटक भिसा पूरा भएर घर गएर फेरि दोस्रोपटक साउदी आएको हुँ। यो हाम्रो कम्पनीमा लगभग एक वर्षदेखि तलब समयमा नदिएर खान बस्न समस्या भइराखेको छ। हाम्रो यहाँको भिसा सकिएको छ। कम्पनीले पैसा दिन पनि चाहँदैन र घर पठाउदा पनि पठाउँदैन।’

उनीहरु साउदीस्थित जुबेलमा रहेको टोपाज गल्फ नामक कम्पनीमा काम गर्दै आएका थिए। कम्पनीले झण्डै ७ महिनाभन्दा बढी बेतलबी बिदा दिएर राखेपछि उनीहरुलगायत अन्य देश (इण्डिया आदि) का श्रमिकले न्यायको लागि जावाज (अदालत) मा मुद्दा दायर गरेका थिए। मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएर नेपाल फर्कन सकिराखेका छैनन्। भएजति सबै सम्बन्धित निकायसँग भनसुन गर्दा पनि नेपाल फर्किने कुनै छाटकाट नपाएपछि पछिल्लो समय उनीहरु मिडियामार्फत नेपाल झिकाइदिन आग्रह गर्न थालेका छन्। बस्नेत भन्छन्, ‘जति कोसिस गर्दा पनि कतैबाट नभएपछि मिडियामा आएका हौं। मेरा साथीहरुले मिडियालाई आफ्नो मोबाइल नम्बर पेपरमा लेखेर पठाएका हुन्।’

पछिल्लो समय उनीहरु सम’स्याको समाधान होला कि भनेर पी’डित सबैको नाम, मोबाइल नम्बर र आफ्ना स’मस्या कागजमा लेखेर मिडियालाई पठाउने गर्दै आएका छन्। २४ जना नेपाली युवाहरु टोपाज कम्पनीबाट पीडित भएको बताउँदै बस्नेत भन्छन्, ‘केसको सुनुवाई फाइनल भइसकेको छ। हामीलाई कोठामा बसेर खान गाह्रो छ, पैसा पनि छैन् । एउटा कोठा लिएर बसेका छौं। आधाजति साथीहरु आफन्त र चिनेजानेकोमा गएर बसेका छन् भने केही साथीहरु चाहीँ राजनीतिक पार्टीहरुबाट पहल गरेर जाने कोसिस गरिराखेका छन्। अब हामी १४ जना कसरी घर जाने भनेर केही प्रोसेस हुन्छ कि भन्दै एउटा कोठामा बसिराखेका छौं।’

उनी थप्छन्, ‘कोही साथीहरु नेपालतिरबाट ठूलठूला पदमा बसेका मान्छेहरुले सहयोग गरेर नेपाल झिकाउनछन्, भनिराखेका छन्। अब हाम्रो त कोही पनि छैन। यहीँको दूतावास हो। जुबेलमा हेर्ने दूतावासका एकजना सरलाई फोन गरेको उहाँले पनि बारबार मलाई फोन गरेर टर्चर दिने काम नगर भन्नु हुन्छ।’ उनका अनुसार साउदीस्थित नेपाली दूतावासमा जानकारी दिँदा समेत उनीहरुको कुनै सुनुवाई भएको छैन। जसका कारण यतिबेला उनीहरु मान’सिक तना’बमा छन्। बस्नेत भन्छन्, ‘मैले यो कम्पनीबाट ९ हजार २ सय रियाल (नेपाली रुपैयाँ झण्डै ३ लाख रुपैयाँ) लिन बाँकी छ। त्यसमा ३ सय टिकटको दिन्छु दुई हप्ताभित्र नेपाल पठाउछु भनेको तर एक महिनाभन्दा बढी भइसक्यो, कम्पनीले घर पठाउने केही प्रोसेस नै गरेको छैन।’

उनीहरुमा कसैको एक वर्षअघिदेखि त, कसैको ६ महिना, ३ महिना अघिदेखि भिसा सकिएको छ। र, उनीहरुले कम्पनीबाट पैसा लिन ८ हजारदेखि ३० हजार रियालसम्म बाँकी छ। बस्नेत भन्छन्, ‘कम्पनीबाट कसैले ८ हजार, १० हजार, कसैले ३० हजार रियाल लिन बाँकी छ। अदालतको फैसलामा हामीहरुले पाउनु पर्ने रकमको ५० प्रतिशत कम पाउने भनिएको थियो।’ उनी आफ्नो काम बारे बताउँदै भन्छन्, ‘म खासमा अपरेटरमा आएको तर काम त जे पनि गर्नु पथ्र्यो। २ वर्ष भइसक्यो मेरो भिसा सकिएको। अहिले हामी यत्तिकै केस नगरि घर गयो भने २४ हजार रियाल भर्नु पर्छ, भिसाको। पहिले कम्पनीले म घर पठाउछु कोरोनाको समय छ, कोरोना सकिन देओ भन्यो। कोरोना केही हदसम्म कम भइसकेपछि पठाउछ भनियो तर पठाएन ।’

उनी अगाडि थप्छन्, ‘अलिअलि गोजीमा छउन्जेल खाइया थियो, अब गोजीको पनि सकियो । साथीहरुसँग पैसा माग्ने अनि खाने गरिराखेका छौं। अब त साथीहरुले पनि कति सहयोग गरुन?’ बस्नेतका अनुसार साउदीमा प्रयोग हुने अकमा कार्ड नवीकरण गर्न र तलब पूर्ती गर्न त्यहाँको अदालतले आदेश दिएपनि टोपाज कम्पनीले आदेश पालना गरेको छैन। अब के चाहनु हुन्छ त भन्ने जिज्ञासामा उनी थप्छन्, ‘हामीलाई यहाँबाट एक्जिट प्लेन भाडा दिनु पर्‍याे। पहिले यहाँबाट जान नेपाली रुपैयाँ ३०–३५ हजारमा टिकट पाउथ्यो भने अहिले लगभग डेढ लाख रुपैयाँ पर्छ, अब त्यति पैसा हामीसँग छैन। टिकट दिइयोस, हामीलाई घरसम्म पुग्ने पैसा दिइयोस् र जसरी पनि हामी नेपाल पुग्न पर्यो।’

सबै मिलेर नेपालस्थित वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय र साउदीस्थित नेपाली दूतावासमा नेपाल फर्किन पाउँ भनेर निवेदन बुझाउने काम आदि गरेको बताउँदै उनले भने, ‘सबैतिर भनेका छौं। हामीलाई अरु केही चाहिएको छैन्, जसरी पनि नेपाल उत्रिनु पाउ, त्यति चाहिएको छ।’ दूतावासलाई नै भन्नु, सहयोग गर्छ भन्ने  जिज्ञासामा बस्नेतले गु’नासो गर्दै भने, ‘दूतावासले हाम्रो कुरा सुनेर सहयोग गरेको भए, प्रमुख सम’स्या खान बस्नमा सहयोग गरेको भए किन आजसम्म दुःख भोगिराख्नु पथ्र्यो । अब हामीलाई यहि अगष्ट ९ तारिखदेखि बसेको कोठाबाट पनि निकालिदिन्छ । हामीसँग कोठाभाडा तिर्ने पैसा पनि छैन। दूतावासबाट सहयोग भइदिएको भए हामी मिडियामा आउनु पर्ने जरुरत नै थिएन नि ?’

उनीहरुले बस्दै आएको एउटा कोठाको भाडा यही आउँदो ९ तारिखसम्मको मात्रै तिरेका छन् र अब उप्रान्त तिर्ने पैसा छैन। र, त्यहाँबाट बाहिर गएर अन्य कम्पनीमा डिउटी गर्न पनि पाइँदैन । बस्नेत भन्छन्, ‘बाहिर गएर काम गरेको थाहा पायो भने पुलिसले समात्छ र १४ महिना जेल बस्नु पर्छ। हामीलाई बाहिर काम गर्न अनुमति छैन। हाम्रो केस सकिइसकेको छ। अब सिर्फ हाम्रो काम भनेको घर जाने मात्र हो।’ टोपाज कम्पनीमा हाल जति पनि नेपालीहरुले काम गरिराखेका छन्, ती सबै ‘गल्फ स्काई इन्टरनेशनल प्रालि’बाट गएका हुन्। नेपालको उक्त म्यानपावरले समेत पीडितलाई नेपाल झिकाउन पहल गरिराखेको छु भनेर आश्वासन दिइराखेको छ।

म्यानपावरले गरेको पहलसम्बन्धमा जिज्ञासा राख्दा बस्नेत भन्छन्, ‘म्यानपावरलाई पनि फोन गर्यौं। उहाँ (म्यानपावर)ले मैले कम्पनीमा इमेल पठाएको छु, कम्पनीमा कुरा पनि गरेको छु भाइहरु हो भन्नु हुन्छ। उहाँले कम्पनीले उल्टो मलाई हप्की-दप्की गर्छ, तेरो म्यानपावर नै बन्द गरिदिन्छु, तैले पठाएका मान्छेले केस गरे । कम्पनीले म्यानपावरलाई करिब ६० जना नेपालीले मात्रै केस गरे भनेर थर्का’एको छ रे । तरपनि पहल गर्छु भनेर उहाँले भन्नु भएको छ।’ साउदीस्थित टोपाज कम्पनीविरुद्ध इण्डियन, नेपाली आदि गरेर करिब २ सयभन्दा बढी श्रमिकमध्ये करिब ५० देखि ८० जना बाहेक सबै मिलेर केस हालेका रहेछन्। कतिपय केस गरेर घर फर्किसकेका छन्। केस गर्दा त्यससमयमा कोरोना पनि थिएन र टिकट पनि सस्तो थियो, जसले गर्दा कतिपय साथीहरु ऋण गरेर भएपनि थोरै लागतमा घर फर्किसकेको बस्नेतको भनाइ छ।

बस्नेतका अनुसार अहिले टिकट, पिसिआर टेष्ट, एक्जिट र दुई वर्षको भिसाको पैसा गरेर नेपाल फर्कन लगभग ५–६ लाख रुपैयाँ लाग्छ। उनका अनुसार सो कम्पनीमा काम गर्ने धेरै इण्डियन युवाहरुले भने साथीभाईसँग पैसा उठाएर, आफ्नो देशबाट पैसा मगाएर घर फर्किसकेका छन्। नेपाल फर्किन इण्डियाको भन्दा धेरै महङ्गो टिकट खर्च लाग्ने बताउँदै उनी भन्छन्, ‘नेपालको टिकट खर्च ३५–४० हजार रियाल छ । नेपालको मात्रै महङ्गो छ। इण्डियाको जस्तै टिकट सस्तो हुन्थ्यो भने हामी पनि मिडियालाई भन्नु पर्ने जरुरतै थिएन, जसरी खोजेर भएपनि गइसक्थ्यौं।’

पी’डितलाई बेवास्ता गर्ने नेपाली दूतावास जस्तो इण्डियाको दूतावास नभएको बताउँदै उनले भने, ‘उनीहरु (इण्डियन श्रमिक)लाई दूतावासले खाना चाहिए कोठामै ल्याएर दिन्छ। कोठामा पनि होटलमा गएर बसेजस्तै सुविधाहरु छ । हाम्रो नेपालको दूतावास मात्रै हो, केही नगर्ने भनेको।’ उनी थप्छन्, ‘एक्जिट लगाएर, आधा टिकटको पैसा दिन्छ भने पनि हामी यहाँ आधा पैसा चन्दा उठाएर भएपनि घर जान्थ्यौं। त्यसको लागि नेपाल दूतावासले पहल गरिदिनु पर्यो। दूतावासले फ्रोर्स गर्यो भने हामीले हर सुविधा पाइन्छ । तर, दूतावास नै पैसामा विकाउ छ, के गर्ने।’

उनीहरुको लागि दूतावासबाट पहल गर्न गएको कर्मचारीलाई नै कम्पनीले किनिदिएको गुना’सो गर्दै उनी भन्छन्, ‘एनआरएनए वा दूतावासको जो व्यक्तिबाट हामीले पहल गरेको त्यो मान्छेलाई फोन गर्दा अफिसमा गएर कुरा गर्छु भन्नुभयो र अफिसमा गएर कुरा गरेपछि कम्पनीले उहाँलाई पैसा धम्या’इदिएर चुप लगाइदियो। जुन, हामीले देख्यौ। पैसा पाइसकेपछि अहिले दूतावासका ती कर्मचारीले मलाई फोन नगर बारबार भन्छन्। अहिले हामी के गर्ने, कहाँ जाने, कसरी चल्ने, के खाने भनेर टेन्स’न लिएर बसिराखेका छौं।’

उनी आग्रह गर्दै भन्छन्, हामीलाई नेपाल सरकारबाट केही पहल गरेर झिकाइदिनुस्, हामी पनि नेपाली हो भने। कुनैै पहल छ भने तपाईंको मिडियामार्फत कदम चालिदिनुस्, सहयोग गरिदिनु क्यारे।’ उनी थप्छन्, ‘हामीलाई सरकारले हेर्न चाहन्छ भने हेरोस् हेर्न चाहदैन भने ठिकै छ, हामी जसरी तसरी नेपाल आउला त्यसै पनि सडेर त नबसौला । तर सरकारलाई पनि पछि हाम्रो भोट त चाहिएला नि?’ नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेका ती युवाहरु यतिबेला एउटा कोठामा कोचिएर दिन का/ट्न बा’ध्य छन्। उनीहरुलाई नेपाल फर्काउन दूतावासको महत्वपूर्ण भूमिका हुन्छ। रिता बस्नेत/ डिसी नेपाल

तपाईको प्रतिक्रिया