बुधबार र बिहीबार व्यापक वर्षा/हिमपातको सम्भावना

0
206
Five cats looking around a field.

पानी पार्ने मौसमी प्रणाली- पश्चिमी न्यून चापीय प्रणाली सशक्त बन्दै गएको छ। जसका कारण आज (बुधबार) देशैभर वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको हुने संकेत देखिएको हो।

‘विशेषगरी देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात बढी हुने देखिन्छ,’ बुधबार बिहान नेपालखबरलाई जानकारी दिँदै भनिन्, ‘मध्य र पूर्वका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।’

उनका अनुसार आज पश्चिमी भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने पश्चिमी क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

यस्तै मध्य क्षेत्रका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउन हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

‘आज दिउँसोभन्दा राति र भोलि (बिहीबार) अझ बढी वर्षा र हिमपातको सम्भावना देखिएको छ,’ मौसमविद् बासीले भनिन्।

आज काठमाडौंमा पानी पर्ला?
अहिले (बुधबार बिहान) मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम आंशिक (आकाशमा थोरै बादल देखिनु) बदली भएको छ।

मौसमविद् बासीका अनुसार आज दिउँसाे पानी नपरे पनि काठमाडौंमा घाम लाग्ने सम्भावना कम छ।

 ‘तैपनि बिहान ११-१२ बजे एकछिन घाम लाग्न पनि सक्छ,’ उनले भनिन्, ‘दिउँसोपछि चाहिँ मौसम बदली भएर वर्षा हुने सम्भावना छ।’

उनका अनुसार बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस छ।

तराईमा हुस्सु/कुहिरो लाग्न छाड्यो
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ।

यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि मंगलबारबाछ तराईमा हुस्सु /कुहिरो देखिन छाडेकाे हाे। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (बुधबार) बिहान पनि तराईमा कुहिरो देखिएको छैन।

‘अब यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो लाग्दैन,’ उनले भनिन्।

यस हिसाबले अब दुई/तीन दिन तराइवासीले हुस्सु/कुहिरोका कारण बिहान बिहान हुने कठ्यांग्रिँदो चिसोबाट मुक्ति पाउने भएका छन्।

तर मौसम बदलीका कारण दिउँसो घाम नलाग्ने भएका कारण दिउँसो भने जाडो हुनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  

माघ १५ गते (बुधबार)
दिउँसो : देशको पश्चिम तथा मध्य भू-भागलगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ। पश्चिमी र मध्य भू-भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावनाछ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति :  देशभर सामान्यदेखि पूर्णसम्म बदली  रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थान र पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

माघ १६ गते (बिहीबार)
दिउँसो : देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ। 

राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यस्म बदली  रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  

माघ १७ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

स्राेत : जल तथा माैसम विज्ञान विभागअन्तर्गत माैसम पूर्वानुमान महाशाखा

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0