जुनियर टेनिस खेल्न नेपाल आएका अस्ट्रेलियाका एक उदीयमान खेलाडीको मृत्यु भएको छ। बुधबार सातदोबाटोस्थित नेपाल लन टेनिस संघको कोर्टमा अभ्यासका क्रममा १५ वर्षीय केन्ट यामाजाकीको मृत्यु भएको हो। उनी अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटीएफ)को छनोट खेल खेल्न नेपाल आएका थिए।

अखिल नेपाल टेनिस संघका कोषाध्यक्ष सञ्जय आमात्यले उनको मृत्यु भएको पुष्टि गरे। ‘कोर्टमा ढलेपछि उनलाई सातदोबाटोस्थित बीएन्डबी अस्पताल लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो,’ उनले भने।
सोमबारबाट सुरु हुने आइटीएफ छनोट खेल्न उनी आफ्ना बुबासँगै नेपाल आएका थिए। बुधबार साढे १ बजे उनी टेनिस कोर्ट पुगेका थिए। केहीबेर उनी र उनका बुबाले त्यहाँ उपस्थित नेपाली प्रशिक्षक राजकुमार लामा र अन्य खेलाडीहरुसँग कुरा गरे। लगत्तै यामाजाकी कोर्ट छिरे।

त्यतिबेला नेपाली खेलाडी प्रेरणा कोइराला आफ्ना साथीहरुलाई कुरेर खाली बसिरहेकी थिइन्। प्रशिक्षक लामाले यामाजाकीको हिटिङ पार्टनर बनिदिन भनेपछि कोइराला उनीसँग नक गर्न थालिन्।
‘हामी खेलिरहेका थियौं। टेनिसमा भली भन्ने स्ट्रोक हुन्छ। यामाजाकी भली हान्न नेटमा आए,’ कोइरालाले दुर्घटनाबारे बताइन्, ‘तर, उनले बल मिस गरे। म बल समात्न जाँदा उनी आधा लडिसकेका थिए। उनले घुँडामा पनि ब्यान्ड गरेका थिएनन्। उनको र्याकेट खस्यो। र उनी ब्ल्याक आउट हुदैँ गए। अनि टाउको सीधै ग्राउन्डमा ठोक्कियो।’
लगत्तै कोइरालाले नजिकै रहेका प्रशिक्षकलाई बोलाइन्। प्रशिक्षक लामा र उनका बुबा दौडेर कोर्टमा आए। उसको बुबाले एम्बुलेन्स बोलाइदिन आग्रह गरे।
‘हामीले हस्पिटल नजिकै छ हाम्रो कार लैजानुस्, एम्बुलेन्सले समय लगाउँछ भनेका थियौं। तर, सुरुमा उनको बुबाले मान्नुभएन,’ प्रेरणा भन्छन्, ‘एम्बुलेन्स पर्खिंदा १०–१२ मिनेट ढिलो भयो। तत्कालै लगेको भए सायद उनी बाँच्थे कि!’
पछि उसको बुबालाई सम्झाइबुझाई गरेर आफूहरुकै कारमा यामाजाकीलाई अस्पताल लगिएको प्रशिक्षक लामाले बताए। ‘अस्पताल पुर्याएपछि एक–डेढ घण्टा डाक्टरले प्रयास गरे। तर, पछि मृत्यु भएको घोषणा गरे,’ प्रशिक्षक लामा भन्छन्, ‘पोस्टमार्टम नभएकाले कारण त थाहा हुन सकेको छैन। तर, सिजर अट्याक भएर लड्दा भुइँमा ठोक्किएर मस्तिष्कमा चोट लागेको अनुमान डाक्टरको छ।’
घटना लगत्तै टेनिस संघले नेपालस्थित अस्ट्रेलियाली राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् लगायत सरोकारवालालाई यसबारे जानकारी गराइसकेको संघका कोषाध्यक्ष आमात्यले बताए। राजदूतावासको पहलमा मृतकको शव अस्ट्रेलिया पठाइने बताइएको छ।
उदीयमान स्टार थिए केन्ट
अष्ट्रेलिया पर्थका यामाजाकी उदाउँदा टेनिस खेलाडी थिए। कतिपयले उनलाई ‘विलक्षण प्रतिभा’ का रुपमा चित्रित गरेका छन्। आफ्नो उमेर समूहका सम्पूर्ण अस्ट्रेलियाली खेलाडीमध्ये शीर्ष ७ मा थिए उनी। उनका बुबा टोमियो र आमा किमियो छोराका हरेक प्रतियोगिता तथा अभ्यासमा सँगै हुन्थे।
‘केन्ट खेललाई एकदमै मन पराउने उदीयमान युवा खेलाडी थिए। खेलबाहिर उनी भद्र थिए,’ उनको निधनपछि समवेदना व्यक्त गर्दै पश्चिम अस्ट्रेलियाका टेनिस संघले लेखेको छ, ‘उनको लगाव र अतुलनीय मेहनतले नै उनलाई सफलतातर्फ डोर्याइरहेको थियो। उनी पश्चिम अस्ट्रेलियाको टेनिसलाई राष्ट्रियस्तरमा गर्वका साथ प्रस्तुत गर्ने खेलाडी थिए।’
यामाजाकीले अघिल्लो महिनामात्रै अस्ट्रेलियन स्कुल टेनिस च्याम्पियनसिपको उपाधि जितेका थिए। अभ्यासमा उनी सबैभन्दा पहिले पुग्ने तथा राष्ट्रिय एकेडेमीको प्रतिस्पर्धा, प्रतिबद्धता र सम्मानको मान्यतालाई पूर्ण रुपमा पालना गर्ने खेलाडी भएको टेनिस संघले जनाएको छ।
उनीसँगै खेलेका अन्य खेलाडीका अभिभावकले पनि उनको मृत्युमा दुःख प्रकट गरेका छन्। ‘हे भगवान, आज निकै दुःख लागेको छ। मेरो छोराले केन्टसँग जुनियर्स सिंगल्स खेलेको सम्झन्छु। उनी निकै राम्रो खेल्थे,’ एक आमाले सामाजिक सञ्जालमा लेखेकी छिन्।
अर्कीले लेखेकी छिन्, ‘केन्टो, तिमी गएको हामीलाई विश्वासै लागेको छैन। तिमीले हाम्रो मुटु र यो संसारमा स्थान छाडेर गएका छौ।’