विराटनगर, १६ माघ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजिव ढुङ्गाना मनोनित भएका छन् ।
काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार रिक्त रहेको ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् ।


पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनित गरेका हुन् ।
विसं २०४६ मा नेविसङ्घको जिल्ला सदस्यबाट नेविसङ्घको राजनीति शुरु गरेका ढुङ्गानाले यसअघि नेविसङ्घको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

तदर्थ समितिको महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसङ्घको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।
तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।
यसअघि कायम रहेको नेविसङ्घ केन्द्रीय कार्य समिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेविसङ्घको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् ।
नेविसङ्घ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ । रासस
The post नेविसंघका अध्यक्षमा सुनसरीका राजीव ढुंगाना appeared first on Koshi Online.