काठमाडौं – कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
चीनबाट सुरू भएको कोरोनाको संक्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

चीनमा हालसम्म २१३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीनबाहिर १८ देशका ९८ जनामा संक्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भइरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । वुहानमा पुष्टि भएका ४ हजार २२५ जनामा गरिएको अध्ययनअनुसार संक्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस संक्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् ।
संक्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत संक्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला संक्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको इतिहास छ ।