कोरोनाको कारण हुन नसकेको चितवन महोत्सव यहि पुस २५ गते देखि हुने

0
152
chitwan mahotsav 2078

चितवन । कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो ।  विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो । हरेक दुई÷दुई वर्षमा महोत्सव हुँदै आएको थियो । विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो ।

उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् । यसअघि तीनवटै संस्था आयोजक हुने गर्दथे । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे ।

श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष सङ्ख्या घटाइएको जानकारी दिए । महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन् । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन् ।

ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पुर्याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए । श्रेष्ठका अनुसार महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया