युएईको मान्छे बेच्ने पसलको कहानी: घरमा दाई बित्दा एक कल फोन समेत गर्न पाइन

0
1495
प्रतिकात्मक तस्विर

यूएई : मेरो नाम कृष्णकुमारी हो। नेपालमा घर स्याङ्जा हो। गत मार्च महिनाको ५ तारिखमा हिमालयन एयरलाइन्समार्फत दुबई आएको हुँ। अफिसमा काम गर्ने भनेर दलालले ढाँटेर नेपालीले सञ्चालन गरेको अजमानको एउटा दोकान (एजेन्सी)लाई जिम्मा लगायो। एजेन्सीले स्थानीय अरबीको घरमा काम गर्न पठायो। मेरो फोटो र भिडियो अनलाइनमा देखाएर एजेन्टले मेरो भाउ १२ हजार दिराममा बेचेको रहेछ। जुन दिन म बेचिएँ भन्ने थाहा पाएँ त्यो दिन धेरै रोएँ। उता घरमा आमा मा’नसिक बिरामी हुनुहुन्छ। दुई जना दाइको मृ’त्यु भएपछि उहाँ मा’नसिक रूपमा बि’च्छिप्त हुनुभएको हो। बुबा घुँडाको हड्डी म’क्किएर आफैं अशक्त हुनुहुन्छ। घरमा कमाउने अरू कोही छैन।

दिदीहरूको विवाह भएर आ–आफ्नो घर गरिखाइरहनुभएको छ। परेको बेला हामीलाई हेर्ने पनि दिदीहरू नै त हो। तर, विवाह गरेर घर गइसकेका दिदीहरूले कतिन्जेल गर्न सक्नुहुन्छ र ? त्यसपछि मैले विदेश जाने निर्णय गरेँ। (उनी भावुक बनिन्) झन्डै २ महिनासम्म काम गरेपछि खै के भयो कुन्नि, साहुले मलाई मन पराएन। मलाई उसैकोमा (एजेन्सी) फिर्ता पठायो। म फेरि त्यही मान्छे बेच्ने दोकानमा फिर्ता भएँ। त्यो दोकानमा मसहित ४५ जना नेपाली दिदीबहिनीहरू बिक्रीमा हुनुहुन्थ्यो। सबै जना एउटा सानो कोठामा बस्थ्यौं। सुत्ने ठाउँ नभएर आलोपालो सुत्थ्यौं। उहाँहरूको हाल खबर के छ र कहाँ हुनुहुन्छ ? अहिलेसम्म मलाई केही थाहा छैन।

वैदेशिक रोजगारीका लागि भिजिट भिसामा यूएईको दुबई आइपुगेकी कृष्णकुमारीको व्यथा हो यो। उनले साहुको घरबाट फिर्ता भएपछि झनै क’ठिन दिन भोग्नुपर्‍यो। एक कचौरा भात दुई जनाले बाँडेर खानपर्‍यो। मोबाइल चलाउन पाएनन्। ‘आमाबुबा बिरामी हुनुहुन्छ। इन्टरनेटबाट घरमा कुरा गर्छु भनेर बिन्ती बिसाउँदा पनि सुन्थेनन्। नेपाल पठाइदेऊ नेपाल जान्छु भन्दा एजेन्सी मालिक्नीले ३ लाख रुपैयाँ तिर्नुपर्छ भन्थी। ३ लाख कसरी कहाँबाट ल्याएर तिर्ने ? मेरो कुनै उपाय थिएन। त्यहाँ बसुन्जेल हामीलाई मानवीय व्यवहार कहिल्यै गरेन’, उनले भनिन्।

उनका अनुसार नेपाली ‘मालिक्नी’ भन्थी, ‘तेरो बाउ म’रेको छ ? तेरी आमा म’रिन् ? किन गिर–गिर गर्छेस्, चुप लाग्।’ कृष्णकुमारीसँगै सुर्खेतकी कमला पनि छिन्। कमलालाई एजेन्टले तीन महिना दिल्लीमा राखेर दुबई पठाएको हो। यसैबीच कोभिड–१९ महामारीका कारण कमलाका दाइको मृ’त्यु भयो। घरमा एकपटक फोन गर्छु भनेर कमलाले एजेन्टसँग मोबाइल मागिन्। तापनि, एजेन्टको मन पग्लिएन। घरमा एकपटक फोन गर्न पनि दिएन। ‘यो मान्छे बेच्ने दोकानमा यति धेरै सास्ती भोगेर हामी कति दिन बस्ने ? एक दिन कमलासहित हामी पाँच जना उक्त दोकान छोडेर भाग्यौं। ट्याक्सी चढेर बरदुबई पुग्यौं। बरदुबई पुगेर कहाँ जाने, कहाँ बस्ने थाहा थिएन। पार्कतिर सुत्ने कि भनेर हामी पार्कको खोजीमा थियौं’, कृष्णकुमारीले भनिन्, ‘एक जना दाइले हामी अत्तालिएको देखेर सोधिखोजी गर्नुभयो।

उहाँको बरदुबईमा रेस्टुराँ रहेछ। एक रातका लागि बस्न दिनुभयो। खान दिनुभयो। भोलिपल्ट एनआरएनएका सरहरू आएर हामीलाई लिएर जानुभयो। अहिले हामीलाई एनआरएनले नै खाने र बस्ने व्यवस्था गरेको छ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कमलालाई जुलाई २० मा नेपाल फर्काएको छ। कृष्णकुमारीलाई कहिले फर्काउने भन्ने टुंगो छैन। एनआरएनएले अजमानमा सञ्चालन गरेको सेल्टरमा भेटिएकी कृष्णकुमारीको कुरा पीडादायी थियो। सानी पातली जीउडालकी चञ्चले स्वभावकी कृष्णकुमारी बोल्दाबोल्दै रोकिन्थिन्। आँसुले टिलपिलाउन खोजेका आँखा सिलिङ र भित्तातिर हेरेर सम्हाल्थिन्। कोठाको लम्बाइ आठ फिट र चौडाइ ६ फिटजति होला। यति सानो कोठामा सात नेपाली चेलीहरू नेपाल फर्कने आशामा बसिरहेका छन्। तीमध्ये कमलालाई मात्रै २० जुलाईमा एनआरएनएले नेपाल फर्काएको हो।

दोलखाकी राममाया ६ महिनादेखि एनआरएनकै सेल्टरमा नेपाल फर्कने आशामा दिन कुरेर बसिरहेकी छन्। भारत हुँदै यूएई आएकी उनलाई एजेन्टले ओमान पनि पठायो। तर, त्यहाँ टिक्न नसकेपछि २ महिनामै यूएई फर्किइन्। सिन्धुपाल्चोककी गाममाया लामा साउदी सीमा क्षेत्रबाट भागेर त्यहाँ आइपुगेकी थिइन्। एजेन्टले एक वर्षअघि दुबई भनेर अबुधाबीबाट पनि धेरै टाढा साउदीको सीमानजिक पुर्‍याएको थियो। कठिनले नेपाली भाषा बोल्ने उनी कहिले र कसरी नेपाल फर्किएलिन् भनेर ठम्याउन गाह्रो छ। सेल्टरमा भेटिएका सातै जनाका दुःखका ‘एक से एक’ कहानी थिए। कृष्णकुमारीलाई यूएई पठाउने एजेन्ट आफ्नै जिल्लाका चिनेजानेकै थिए। अवैधानिक तवरले उनीहरूलाई यूएई ल्याउने एनआरएनए यूएईका सदस्य रहेछन्। अलपत्र परेपछि दुबईबाट उनीहरूलाई अजमानमा ल्याएर सेल्टरमा राख्ने पनि एनआरएनए नै हो। निःशुल्क टिकट काटेर नेपाल पठाउन सहयोग गर्ने पनि एनआरएनए नै हो।

यूएईमा दुई वर्षअघिसम्म अलपत्र नेपाली महिला कामदारलाई नेपाली दूतावासले आफ्नै भवनमा सेल्टर उपलब्ध गराउँदै आएको थियो। कोभिड–१९ कारण दूतावासले सेल्टर बन्द गरेपछि त्यससम्बन्धी व्यवस्थापन एनआरएनए यूएईले गर्न थालेको हो। नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले कोभिड–१९ का कारण नेपाली दूतावासले सेल्टर खाली गर्नुपरेको बताइन्। अर्कातिर कानुनी प्रक्रिया पूरा गरी आएका घरेलु कामदारलाई यूएईमा खासै समस्या नभएकाले पनि दूतावासको सेल्टर खाली रहेको थापाको भनाइ छ। कोही समस्यामा परी सम्पर्कमा आए उद्धार, सहयोग गर्न दूतावासले कुनै कसर बाँकी नराख्ने उनले बताइन्। उनका अनुसार नेपालका एजेन्सीले नै नेपाली महिलालाई गैरकानुनी तरिकाले यूएई ल्याएर अलपत्र पार्ने गरेको गुनासो अनौपचारिक रूपमा आएको छ। तर, सोबारे थप जानकारी नभएको उनले बताइन्।

एनआरएनएअन्तर्गत अलपत्र नेपालीहरूलाई सहयोग, उद्धार गर्ने कार्यक्रमका संयोजक प्रवीण पोखरेलले संस्थाले २८ महिला र १ सय ९८ भन्दा बढी पुरुषलाई टिकट उपलब्ध गराई नेपाल पठाएको बताए। हजारौंलाई खाद्यान्न र अस्थायी आवासको व्यवस्था गरिएको पोखरेलको भनाइ छ। उनका अनुसार सयौंलाई कानुनी सहायता प्रदान गरिएको छ। नेपाल फर्किन पनि सहयोग गरिएको छ। ‘तर, नेपाल सरकार मूकदर्शक बनेको छ। राज्य आफूचाँहि आफ्नो दायित्वबाट पन्छेको छ’, उनले भने। १८ डिसेम्बर अन्तर्राष्ट्रिय आप्रवासी दिवस हो। यो दिवस विश्वभरि नै मनाउने गरिन्छ। वैदेशिक रोजगारीका लागि हुने आप्रवासनका क्रममा हुँदै आएका ज्यादती र शोषणको पाटोबारे यस दिन सरोकारवालाले विशेष चर्चा गर्छन्। यस्ता समस्याको सम्बोधनका उपाय खोज्छन्।

नेपालीहरू वैदेशिक रोजगारीमा जाने मुख्य राष्ट्रहरूमा मध्यपूर्वका खाडी र मलेसिया हो। खाडी जानेहरूका लागि यूएई अलिक बढी आकर्षक मुलुक मानिन्छ। यूएई मानवअधिकार र स्वतन्त्रताको हिसाबले अन्य देशको तुलनामा अब्बल भएकाले पनि नेपालीको रोजाइमा परेको हुनुपर्छ। यद्यपि समस्यारहित भने छैन। तर, मानव तस्करले यूएईलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेको विभिन्न घटनाले देखाउँछन्। आकर्षक तलबको लोभ र यहाँबाट अन्यत्र पठाउन पनि भिजिट भिसामा यूएई बोलाई अलपत्र पार्ने क्रम बढ्दो देखिन्छ।

६५ हजार ६ सय ६३ नेपाली सन् २०२१ को जनवरीयता पर्यटक (भिजिट) भिसामा यूएई आएको तथ्यांक छ। यीमध्ये अत्यन्तै थोरै मात्र घुम्ने उद्देश्यले आएको जनाइएको छ। अधिकांश भने अध्यागमनसँगको सेटिङमा एजेन्टलाई लाखौं रकम दिएर यूएई आएको सरोकारवाला बताउँछन्। यीमध्ये कसैले पनि दलालले आश्वासन दिएअनुसार काम पाउँदैनन्। बरु उल्टै कतिपयको त नेपालबाट ल्याएको डलर पनि विमानस्थलबाट बाहिरिनेबित्तिकै लुटेराले लुट्छन्।

सहरबाट धेरै टाढाको एउटै कोठामा १५–२० जना भुइँमा सुत्नुपर्छ। सामान्य बिरामी भएको अवस्थामा सिटामोल खाने पैसा हुँदैन। औषधि किन्ने ठाउँ थाहा हुँदैन। आज, भोलिभन्दा भन्दाभन्दै महिना बित्छ। अझ कोभिड महामारीको बेला छ। हारगुहार गर्ने ठाउँ हुँदैन। दलाललाई भन्यो भने उल्टै धम्क्याउने र कुट्ने गर्छ। विदेश आउँदाको ऋणको महँगो ब्याज नेपालमा बढेको बढ्यै हुन्छ। अनि उनीहरू क्रमशः डिप्रेसनको शिकार बन्छन्।

भिजिट भिसामा आएका पाँचथर फिदिमका राजेन्द्र शिवाकोटीले गत साता आत्महत्या गरे। एक वर्ष अवधिमा यस्ता कैयन्ले आत्महत्याको बाटो रोजेका छन्। उनीहरूको आत्महत्याको कारण खोज्ने चेस्टा अहिलेसम्म कसैले गरेको छैन। यूएईले सन् २००६ मा सम्भवतः खाडी क्षेत्रमै पहिलो पल्ट मानव बेचबिखनविरुद्धको कडा कानुन ल्याएको थियो। जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै यूएईले मानब बेचबिखन र शोषण गर्नेविरुद्ध झनै कडा कानुनको घोषणा गरेको छ। र, मानव बेचबिखन, ओसारपसारमा कडा नीति लिँदै आपसी समझदारी कायम गरी मानव बेचबिखनविरुद्ध एक हुँदै विभिन्न देशसँग दोहोरो सम्झौतासमेत गरेको छ। तर, यो अवसरलाई पनि नेपाल सरकारले सदुपयोग गरेन।

मानव बेचबिखन तथा शोषण सम्बन्धित मुलुकबाटै सुरु हुन्छ। गन्तव्य मुलुकसम्म आइपुग्दा उनीहरू कानुनी मान्यता बोक्ने (भिसा) भएकाले पनि पीडितहरूले कानुनी उपचार खोज्ने आधारहरू हुँदैनन् वा अत्यन्त थोरै हुन्छन्। पीडितहरू नेपालकै बाटो वा छिमेकी देशको अवैध मार्गबाट यूएई प्रवेश गरे पनि यहाँ भने वैध भइसकेका हुन्छन्। जब उनीहरूलाई आफू ठगिएको थाहा हुन्छ त्यो बेलासम्म कानुनी आधार गुमाइसकेका हुन्छन्। यहाँबाट अमेरिका, युरोप वा खाडीकै अन्य मुलुकमा बेचिनका लागि तयार हुन्छन्।

नेपाल सरकारले यूएई घुम्न आउन चाहने आफ्ना नागरिकका लागि कार्यविधि बनाउपर्छ। सोबापत आयस्रोत देखाउने वा कम्तीमा १ लाख रुपैयाँ जम्मा गर्न लगाउने हो भने कोही पनि नेपालीले दलालमार्फत आउनुपर्दैनथ्यो। उनीहरूले यूएई आउन लाखौं खर्च गर्नुपर्थेन। नेपाल सरकारले मानव बेचबिखनविरुद्धको अपराध रोक्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लागू गरे पनि कार्यान्वयन पक्ष फितलो देखिन्छ। जसकारण राजधानी काठमाडौं नजिकैका जिल्लाहरूमा यस्ता अमानवीय कार्यहरू बढी भएको भेटिन्छ।

संयुक्त राष्ट्रसंघअन्तर्गत मानव बेचबिखनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनले अहिलेसम्म पनि कमला र कृष्णकुमारीजस्ता महिलालाई यूएई पठाउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकेको छैन। बरु यस्ता अपराध बढेको बढ्यै छ। वैदेशिक रोजगारीका लागि दैनिक सयौं नेपाली दलालमार्फत अध्यागमनमा सेटिङ गरेर भिजिट भिसामा दुबई आइपुग्दा पनि नेपाल सरकारले भने नदेखेझैं गरिरहेको छ। अन्नपूर्ण पोष्ट बाट 

(पीडितको नाम र ठेगाना परिवर्तन गरिएको छ।)

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1