
चितवन- भरतपुर अस्पतालले मिर्गौलाको डायलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए ।
उनका अनुसार समितिले निर्णय गरेर थप तीनवटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए । अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ ।

रजिस्ट्रेसन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ । अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए । रासस

