
काठमाडौं । तीन महिना १५ दिनको कष्टपूर्ण दुबईको बसाई र सघर्षपछि दाङकी ३० वर्षीया सावित्रा स्वदेश फर्किएकी छन् । गैर आवासिय नेपाली संघ युएई, ओमानमा रहेकी सबु सुनुवार र बहराईनमा रहेका कृष्ण थापासँगको सहकार्यमा सावित्राको उद्धार सफल भएको हो । कार्यक्रम सिधा कुरा जनतासँगको ७ सय ८९ औँ श्रृंखलामा सावित्राले आफू विदेशी भूमिमा विरामी पर्दा भोगेको पीडा सुनाएकी थिइन् । उनले उद्धारका लागि गुहार मागेकी थिइन् ।
दाङ तुलसिपुर नगरपालिका वार्ड नम्बर ८ की सावित्रा गत असोज ४ गते नेपालबाट दुबईको रासल अल खैमाह भन्ने ठाउँमा पुगेकी थिइन् । दाङकै निमराज धिताल नाम गरेका एजेण्टको सहयोगमा प्रफेक्ट रिक्र्युटिङ सर्भिस प्रालिमाफर्त उनी दुबई पुगेका थिइन् । रासल अल खैमाहमा रहेको माई सलोन ग्रुप कम्पनीमा क्लिनरको काम गर्न पुगेकी उनी कामको ओभरलोड र चिसोका कारण विरामी परिन् । त्यसपछि सुरु भयो सावित्राको खराब दिन ।

दुवई पुगेको एक महिनामा नै उनलाई घाटी र कानको इन्फेक्सन सुरु भयो । घाटी दुखेर बोल्नै नसक्ने र कान दुखेर सुन्न पनि गाहे हुन थालेपछि सावित्राको दैनिकी नै प्रभावित हुन थाल्यो । तर, पनि कम्पनीका साहुको विभिन्न दबाब र यातनाले उनले जसातासो २ महिना नियमित काम गरिन् । आफ्नै खर्चबाट उनले दुबईमा ६ वटा अस्पतालमा स्वास्थ्य परीक्षण गराइन् । चिकित्सकहरुले सिफारिस गरेका औषधिको चाङ नै उनले देखाएकी थिइन् ।
उल्टै एजेण्टको धम्की
घाँटी र कानको समस्याले च्याप्दै गएपछि उनी करिब एक महिना थला नै परिन् । त्यो बेला काममा जान सक्ने कुरै भएन । तर, विरामी पर्दा म्यानपावर कम्पनीलाई सहयोगका लागि आग्रह गर्दा एजेण्टले ‘खुरुक्क काम गर होइन भने जेल पु¥याईदिन्छु’ भन्दै धम्क्याउँथे । बिरामी पर्दा उल्टो धम्की दिने म्यानपावर एजेन्टका कारण उनी थप पीडित भइन् । एजेण्टले १४ सय दिराम तलब हुन्छ भन्दै सावित्रालाई दुवई पुर्याइएको थियो । तर उनले त्यहाँ ११ सय दिराम भन्दा बढी तल पाइनन् । त्यसमाथि एक महिनाको तलब उनले पाएकी छैनन् ।
स्वदेश फर्किएको भोलिपल्ट अर्थात शुक्रबार हाम्रो कार्यालयमा आएकी सावित्राले हामीसँगको भेटमा यी सबै दुःख सुनाइन् । नेपाल आइपुग्दा उनले कालको मुखबाट उम्केर आएको जस्तो अनुभूति भएको बताइन् । सावित्राले आफू काम गरे फर्केको माई सलोन ग्रुप कम्पनीले अरु थुप्रै नेपाली चेलीहरुलाई काम दिने नाममा यातना दिइरहेको पनि बताइन् । सावित्राका १३ वर्षीया र १० वर्षीया दुई छोरी छन् । तिनै छोरीहरुको शिक्षा दिक्षामा सहयोग पु¥याउने उद्धेश्यले उनी विदेशिएकी थिइन् । तर, उनी विदेशिएको तीन महिनामा नै स्वदेश फर्कनु प¥यो । सावित्राले विदेशमा दुःख भोग्दा नेपालमा रहेका उनका बुबा आमा र दुई सन्तानको पनि एउटै चाहना थियो– सावित्रा जसरी पनि घर फर्किदिए हुन्थ्यो ।
पाइन क्षतिपूर्ती
सावित्राको गुनासो सुनेपछि हाम्रो टिम आइतबार काठमाडौँको टोखामा रहेको प्रफेक्ट रिक्र्युटिङ म्यानपावर कम्पनीको कार्यालयमा पुग्यौँ । र, त्यहाँ पुगेपछि म्यानपावरका सञ्चालकले पीडित सावित्राको क्षतिपूर्ती दिएको छ । म्यानपावर कम्पनीले उनलाई नब्बे हजारको चेक उपलब्ध गराएको छ । यद्यपी उनको एक महिनाको तलब र धरौटीको रकम पनि फिर्ता दिलाउने म्यानपावर कम्पनीले प्रतिबद्धता जनाएको छ ।

