कम्युनिस्ट पार्टीका चुनौती

0
18

प्रेमलकुमार खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले संघर्ष आन्दोलनका क्रममा जुन उचाइका साथ लोकप्रियता हासिल गरेको छ, यसका पछाडि विगतको त्याग, बलिदान जनतासँग सजिलै घुलमिल हुने भएर जनताको मन जितेर हो भनेर बताउनुभएको छ । तर, कम्युनिस्ट सरकारमा गएपछि आदर्शबाट जब च्यूत हुन थाल्छ त्यसपछि, कम्युनिस्ट पार्टी र तिनका नेतालाई कमजोर बनाउन न त सेना नै चाहिन्छ, न त पुँजीपति नै चाहिन्छ, यस्तो स्थितिमा कम्युनिस्ट आफ्नै कारणले आफैं समाप्त हुने रहेछन् भन्ने कुरा थुप्रै घटनाबाट पुष्टि भएको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डका भनाइलाई आज नेकपाका प्रत्येक नेता तथा कार्यकर्ताले गम्भीरतापूर्वक लिन जरुरी छ । भर्खरै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी बजेटबाट सुरक्षासम्बन्धी प्रिन्टिङ प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाउने क्रममा करोडांै रकमको कमिसनको लेनदेनको वार्ता गरेको टेपप्रकरण बाहिर आएलगतै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने स्थिति उत्पन्न भयो । कम्युनिस्ट पार्टीको सरकारले राज्य सञ्चालनको नेतृŒव गरिरहेका बेला यसरी खुलमखुला ढंगले कमिसनका लागि मन्त्रीले नै डिलिङ गरेको विषयबाहिर आइरहँदा पार्टीपंक्ति र पार्टीलाई माया गर्ने लाखौंलाख जनसमुदाय लज्जित हुनुपरेको छ । यदि, यो प्रकरण सही हो भने यसले त पार्टीको जुन उचाइमा लोकप्रियता बढेको थियो, एक्कै चोटी तल झार्ने काम भएको छ ।

सरकारका हरेक काममा पार्टीको निगरानी हुन सकेन भने ‘पैसा’का लागि जस्तै त्यागी व्यक्तिले पनि जेजस्तो कुकर्म पनि गर्न सक्छन् नै । आज नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म दुईतिहाइ जनमतको जुन जनविश्वास प्राप्त गरेको छ, यसलाई कायम राखेर अझ उचाइतर्फ पार्टीको विश्वासलाई अभिवृद्धि गर्न लाग्नु सरकारमा गएका प्रतिनिधिको दायित्व हो । तर, यस घटनाले सबैलाई लज्जित बनाउने काम गरेको छ । तसर्थ आज नेकपाका सामु सरकार सञ्चालनमा गएका प्रतिनिधिलाई स्वच्छ आचरण, त्याग र समर्पित भावनाका साथ सरकारको मोर्चा सम्हाल्न निर्देशित गर्न र यसको बराबर अनुगमन गरिरहनुपर्ने गहन जिम्मेवारी आएको छ ।

कम्युनिस्टको आदर्श भनेको सादा जीवन र उच्च विचार हो । तर, सरकारमा गएर सरकारी सुविधा उपयोग गर्न थालेपछि वुर्जुवाभन्दा निकृष्ट ढंगले भ्रष्टाचारका गतिविधिमा लाग्न थाल्ने हो भने सिंगो कम्युनिस्ट आन्दोलनअगाडि होइन, पछाडि धकेलिएर समाप्त हुन्छ । भारतको पश्चिम बंगालमा वामपन्थीले ३ दशकसम्म जसरी सरकारको नेतृत्व गरे, सरकार सञ्चालनका क्रममा भएका गम्भीर खालका कमजोरीले अहिले आइपुग्दा निर्वाचनमा जनताले उठ्न नै नसक्ने जस्तो स्थितिमा वामपन्थीलाई अविश्वास गरेको स्थिति छ । यसबाट नेपालका वामपन्थीले गम्भीर पाठ सिक्न जरुरी छ । सोभियत संघमा लेनिनले क्रान्तिपछि बनेको सरकारका मन्त्रीको आधा पारिश्रमिक कटौती गरेको घोषण गरेका थिए ।
नेपालमा पनि मनमोहन अधिकारी, बीपी कोइरालाको सरकारलाई स्वच्छ र मितव्ययीताका साथ सञ्चालन भएको उदाहरणीय सरकारका रूपमा लिने गरिन्छ ।

अहिले केन्द्रदेखि स्थानीयतहसम्म नेकापाको सरकार भएको बेला उदाहरणीय र मितव्ययीता कायम गर्न सकिएन भने थप समस्या आउन सक्छ । पार्टीभित्र छलफल नै नभई आफू खुसी नीति बनाएर सुविधा लिने परिपाटी, स्थानीय विकास निर्माण सञ्चालन र नियुक्तिमा पार्टीका नेता तथा जनप्रतिनिधिको परिवार र आफन्तको सहभागिताको जनस्तरबाट टिप्पणी हुने गरेको छ । अब यस्तो स्थितिमा उपयुक्त केन्द्रीय नीति बनाएर स्वच्छ, पारदर्शी र निष्पक्ष तवरले सरकार सञ्चालन गर्न आवश्यक भएको छ ।

लोकप्रिय तवरले सरकार सञ्चालन गर्न त सक्षम, योग्य र विज्ञको टिम आवश्यक पर्छ । यसका साथै पार्टी काम र क्रान्तिबाट खारिएका व्यक्तिलाई जवाफदेही बनाएर सरकार सञ्चालनको मोर्चामा पठाउनुपर्छ । कम्युनिस्ट पार्टीको इमेजमाथि उठाउन प्रथमतः राज्य सञ्चालनमा गएका पार्टीका नेता कार्यकर्ताको आर्थिक पक्ष स्वच्छ र पारदर्शी हुन आवश्यक छ । पार्टीले नेता कार्यकर्ताको नियमित रूपमा सम्पत्तिको छानबिन गरी जनसमक्ष सार्वजनिक गर्नुपर्छ । नेता कार्यकर्ताको जीवनलाई खुला र पारदर्शी बनाउनुपर्छ । नेता कार्यकर्ताको जीवनशैली रहस्यात्मक र अलौकिक बन्न दिनुहुँदैन । अहिले पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैलीका बारेमा जनस्तरबाट जुन ढंगको गुनासो, आलोचना र टिप्पणी भइरहेको छ, यस बारेमा पार्टीले निगरानी राखेर सही नीति र दृष्टिकोणका साथ, जनस्तरबाट उठेका कुरा बारेमा समाधान गर्न ध्यान दिनुपर्छ ।

यतिखेर जनमुखी तवरले राज्य सञ्चालन गर्न प्रथमतः राज्य सञ्चालनको नेतृत्व गर्न पठाउँदा सक्षम र योग्य व्यक्तिको छनोट गरी संस्थागत तवरले निर्णय गरी पार्टीप्रति जवाफदेही बनाएर नियुत्ति गर्न सिफारिस गर्नुपर्छ । जबसम्म राजकीय निकायका नियुक्त व्यक्तिव्यक्तिबाट छनोट हुन थाल्दछ, तब नियुक्त हुने त्यस्तो व्यक्तिले पार्टीमा नीतिविधिलाई होइन, आफूलाई नियुक्त गर्ने व्यक्तिप्रति जवाफदेही बन्ने स्थिति हुन्छ । यस्तो स्थितिमा गर्नुहुुने नहुने काम हुन थाल्दछ । सरकार सञ्चालन गर्ने कुरा केवल एकल व्यक्तिको जिम्मेवारी हुँदै होइन, यो त सिंगो पार्टीको अभिभारा हो । त्यसो भएको हुँदा पार्टीभित्र नै सक्षम, योग्य र स्वच्छ छवि भएका व्यक्तिको छनोट गरेर संस्थागत तवरले निर्णय गरी सरकार सञ्चालनको मोर्चामा पठाउनुपर्छ ।

अहिले चीनको कम्युनिस्ट पार्टीभित्र पनि भ्रष्टाचाविरुद्ध सशक्त कदम चालिएको छ । उच्च तहकै नेतृत्व नै किन नहोस् अनियमितता गर्नेका विरुद्ध सशक्त कारबाहीलाई अगाडि बढाइएको छ । दोस्रो सरकार सञ्चालनका क्रममा सरकारका हरेक कामको विषयगत, मन्त्रालयगत हिसाबले पार्टीले नियमित रूपमा अनुगमन र मूल्यांकन गरी आवश्यकताअनुसार जनहितमा नीति, कार्यक्रम लागू गर्न निर्देशित गरिरहनुपर्छ । तेस्रो राज्य सञ्चालनमा गएका व्यक्तिले प्राप्त गर्ने आर्थिक हरहिसाब खुला र पारदर्शी बनाउनपर्छ । उनीहरूले प्राप्त गर्ने हरेक आर्थिक सुविधाको पार्टीले जानकारी प्राप्त गर्ने व्यवस्था गर्नुपर्छ ।

चौथो, उत्ताउलो, भडकिलो जीवनशैली जनतालाई पाच्य हुँदैन । औसत जनताको जस्तो सर्वहाराकृत जीवनशैली अवलम्बन गर्न पार्टीले नीति बनाउनुपर्छ । पाँचौं, पार्टीभित्र कार्यसम्पादनमा आधारित कार्यशैली अवलम्बन गर्नुपर्छ । पार्टीले नै राज्य सञ्चालनमा गएकाको कामको आवधिक अनुगमन, समीक्षा र मूल्यांकन गरी उत्कृष्ट काम गर्न नसक्नेलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ ।

The post कम्युनिस्ट पार्टीका चुनौती appeared first on Rajdhani Daily News.

एमालेले बोलायो संसदीय दलको बैठक

Previous articleउपसभामुख निर्वाचन अन्योलमा : दलहरूले चासो नदिँदा चालू अधिवेशनबाट चुनिने सम्भावना कम
Next articleसुनको भाउ बढ्नेक्रम जारी,तोलाको ७८ हजार आठ सय पुग्याे