काठमाडौं– कार्यकाल लम्बाउन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल यतिबेला दौडधुपमा व्यस्त छन् । अवकाश पाउन एक साता मात्रै बाँकी रहँदा उनी ५ महिना कार्यकाल थप्न दौडधुपमा सक्रिय बनेका हुन् । ३० वर्षे सेवा अवधिका कारण उनले माघ २८ मा अवकाश पाउँदैछन्।
खनाल पछि आइजीपी हुन सक्ने प्रहरी अधिकृतले ५ महिना मात्रै संगठनको नेतृत्व पाउनेछन्। यसैमा खेल्दै उनले आफ्नै कार्यकाल थप्न राजनीतिक कसरत गरिरहेका छन् ।

उनको अवकाशपछि २०४७ असार २५ मा सेवा प्रवेश गरेका ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये एक जना आइजिपी बन्नेछन्। यी तीनमध्ये जो आइजिपी भए पनि नियमावली परिर्वतन नभए ५ महिना मात्रै आइजिपी हुन सक्छन्।
५ महिनाका लागि मात्रै नयाँ आइजिपी बनाउँदा संगठनमा नकारात्मक प्रभाव पर्ने भन्दै उनी सो अवधिसम्म आफूलाई नै कायम राख्न प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्ताधारी दल नेकपाका अध्यक्ष प्रचण्डसँग समेत भेटघाट गरेको स्रोतले जानकारी दियो । हालै खनालले प्रधानमन्त्री ओलीसँग वान टु वान वार्ता गरेका छन् ।
