पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुधार गर्न तीन महिने अभियान सञ्चालन गरिने बताएका छन् ।
प्रेस सङ्गठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ३ महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताए ।

हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उनले बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताए ।
पार्टीले सरकारको नेतृत्व गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताए ।

समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उनले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने शंका बैठकसँगै अन्त्य भएको बताए ।
नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट गरे ।
एमसीसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको बताए ।
सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्फबाट कूटनीतिक नोट भारत पठाइएको बताए ।
नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उनले भारतको सकारात्मक प्रतिक्रिया आएको बताए ।
The post पार्टी र सरकारकाबीचमा असमझदारी छ की भन्ने शंका अन्त्य –अध्यक्ष दाहाल appeared first on Koshi Online.