काठमाडौं – पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीवार साँझ मौसमी बुलेटिन जारी गर्दै शुक्रवार दिउँसोबाट नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहने र पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा सामान्यतया मौसम सफा रहेको भएको छ ।
बिहीवार राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर १–२ स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ ।

शुक्रवार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । देशको पश्चिमी पहाडी भेगका धेरै स्थानमा र मध्य तथा पूर्वी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली भएर बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।