नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छन्। चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छन्।

जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छन्। सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन्।
दाेस्रो पटक सो लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छन् गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन्। सेथु गत संस्करणको च्याम्पियन पनि हो। सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन्। उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सावित्रालाई ओजिलको जर्सी
भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ। ओजिलका एजेन्ट इकुट सोगुटले सो उनलाई जर्सी हस्तान्तरण गरेका हुन्। जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ।
लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन्। सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छन्। सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ।