काठमाडौं । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै भएको ठहर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज उक्त जग्गा नेपाल ट्रष्टकै भएको फैसला गरेको हो । अदालतले छाउनीमा रहेको नेपाल ट्रष्टको उक्त जग्गामा प्रेरणाको माग दाबी नपुग्ने उल्लेख गर्दै मुद्दा नै खारेज गरेको छ । अदालतको निर्णयसँगै सो जग्गामा नेपाल ट्रष्टकै भएको छ ।

सर्वोच्च अदालतबाट एक प्रेरणाको दाइजो भएको फैसला र अर्को पटक नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गर्दै दुईपटक फैसला भइसकेको थियो । तेस्रोपटक संवैधानिक इजलासमा पुनरावलोकन निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नेपाल ट्रष्टकै सम्पत्ति भएको ठहर गरेको हो । सरकारले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको सम्पूर्ण सम्पत्ति २०६४ पुस १ गते नेपाल ट्रष्टमा राख्ने निर्णय गरेको थियो ।
ट्रष्टकै नाममा रहेको उक्त जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी छोरीलाई दाइजो दिएको उल्लेख गर्दै २०७१ माघ २५ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । तत्कालीन प्रधानन्यायाधीश रामकुमार साह र तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले नेपाल ट्रष्टको नाममा रहेको सो जग्गा प्रेरणाको दाइजो नै भएको फैसला गरेको थियो । नेपाल ट्रष्टको उक्त फैसलाविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनमा अदालतले उक्त जग्गा प्रेरणाको माग दाबी नपुग्ने हुँदा नेपाल ट्रस्टकै भएको फैसला सुनाएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले २०७३ पुस २१ गते पूर्वराजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहने व्यवस्थाअनुसार सबै सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी ट्रष्टकै भएको हुँदा छाउनीको उक्त जग्गा ट्रष्टकै भएको फैसला गरेको थियो । अदालतले नेपाल ट्रष्टकै सम्पत्ति भएको फैसला सुनाएपछि उक्त फैसलामाथि चित्त नबुझेर २०७५ पुस ६ गते प्रेरणा शाहले संवैधानिक इजलासमा पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो ।
The post प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर appeared first on Rajdhani Daily News.