काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका बारेमा स्पष्ट पार्दै प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेको खुलासा गरेका छन् ।
नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा करीब एक घण्टा भनाइ राखेका उपसभापति गच्छदारले कम्युनिस्ट सरकारले आफूमाथि पूर्वाग्रह राखेर फसाएको खुलासा गरे ।

गच्छदारको भनाइ उदृत गर्दै कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘कम्युनिस्ट सरकारले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाएको छ । प्रधानमन्त्री माधवकुमार नेपालकै निर्देशनमा आफूले प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थिएँ ।’
बैठकमा गच्छदारको बयान उदृत गर्दै अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘गच्छदारले तत्कालीन प्रधनमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको सरकारी निवास व्यवस्थित बनाउन गुरुयोजना बनाउनुस् भनेर लिखित निर्देशन दिनुभयो । भौतिक योजना मन्त्रीको हैसियतले गुरुयोजना बनाउन विभिन्न मन्त्रालयका सचिव सहितको समिति बनाइयो । समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीलाई बुझाएँ । प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढाएको हुँ । बाँकी मेरो कुनै संलग्नता छैन । मलाई पूर्वाग्रही ढंगले फसाउन खोजेको हो । यो मलाई मात्रै नभएर कांग्रेसलाई कमजोर गराउनका निम्ति रचिएको खेल हो ।’

तत्कालीन प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले आफूलाई दिएको निर्देशन पत्र गच्छदारले बैठकमै देखाएको नेताहरूले बताएका छन् । अख्तियारले यसअघि गच्छदारसहित १७५ जनाविरुद्ध ललिता निवासको जग्गा हडपेको विषयमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यस विषयलाई लिएर कांग्रेसले विरोध प्रदर्शन र संसद अवरुद्ध गर्दै आएको छ ।
नेपाली कांग्रेसका भातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले शुक्रवार र आइतवार र महिला संघले सोमवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । कांग्रेसले प्रस्ताव लैजाने मन्त्री दोषी हुने तर प्रस्ताव सदर गर्ने प्रधानमन्त्री र मुख्यसचिव निर्दोष बनाउने अख्तियारको नियतमाथि प्रश्न उठाउँदै आएको छ ।
कांग्रेसले स्पष्ट रुपमै अख्तियार कम्युनिस्ट सरकारको मतियार बनेको आरोप लगाएको छ । सोमवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पनि उपसभापति गच्छदारमाथि सरकारको दबाब र प्रभावमा परेर अख्तियारले बदनियतपूर्ण तरिकाले भ्रष्टाचारको मुद्दा दायर गरेको ठहर गर्दै प्रतिकारमा उत्रिने निष्कर्ष निकालेको छ ।
कांग्रेसले सोमवारको बैठकमा अख्तियारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य गुरुङले बताए । उनले बुधवार २ बजे फेरि केन्द्रीय कार्यसमिति बैठक बस्ने जनाएका छन् ।
बैठकमा संसदमा जारी अवरोधका बारेमा कुनै छलफल नभएको गुरुङले बताएका छन् । संसद बैठकबारे मंगलबार बस्ने संसदीय दल कार्यसमितिले निर्णय गर्ने गुरुङले जानकारी दिएका छन् ।