दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो

0
30

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन विधेयकविरुद्ध सुरु भएको प्रदर्शनपछि हिंसात्मक समुहहरुले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका छन् । दिल्लीमा लगातार तेस्रो रात हिंसा भड्किदा मृत्यु हुनेको संख्या २१ पुगेको छ । राजधानी दिल्लीमा दशकौंपछि घातक हिंसाका घटना भएका हुन् ।

सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतबार भिडन्त भएको थियो । त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको देखिएको छ । मानिसहरूलाई उनीहरुको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन् ।

सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्लीले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन् । जथाभावी आगजनी, काठ र फलामको लौरो तथा ढुंगा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका विवरण बाहिर आएका छन् ।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन् । सो हिंसाका क्रममा १ सय ८९ जना घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् । सो अस्पतालमा सबैभन्दा बढी घाइतेहरु उपचाररत छन् । विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पु¥याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ ।

गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै एएनआइ समाचार एजेन्सीले जनाएअनुसार अस्पतालमा उपचारका लागि ल्याइएकाहरू मध्ये केहीलाई गोली लागेको, केहीको टाउकोमा चोट लागेको र केहीको शरिरमा चक्कुको घाउ रहेको छ । कतिपय हिंसाबाट भाग्ने क्रममा लडेर चोट लागेको हुनसक्ने बताइएको छ ।
तीन दिनदेखि राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा जारी रहेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मंगलबारराति जफ्रावाद, सीलमपुरलगायत केही हिंसाग्रस्त इलाकाको भ्रमण गरेरस्थानीय समुदायका नेताहरूसँग कुराकानी गरेका थिए ।

त्यहाँको जानकारी उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मन्त्रिमण्डललाई गराउने बताइएको छ । उनले देशको राजधानीमा कानुनहीनताको अवस्था जारी रहन दिन नसकिने र प्रहरी तथा प्यारामिलिटरी सैन्य पर्याप्त संख्यामा परिचालन गरिएको बताएको समाचार संस्थाहरुले जनाएका छन् ।

मंगलवार नै दिल्लीका मुख्यमन्त्री अरविंद केजरिवालले हिंसात्मक घटनामा घाइतेहरू उपचाररत अस्पतालहरूको भ्रमण गरेका थिए । त्यसपछि उनले ट्वीटरमा लेखेको सन्देशमा जारी हिंसालाई ‘पागलपन’ भन्दै यो तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । भारतका गृहमन्त्री अमित शाहले जारी हिंसाका सम्बन्धमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री र अन्य वरिष्ठ अधिकारीहरू तथा राजनीतिक दलका नेताहरूसँग भेट गरेका थिए ।

उनले दिल्ली प्रहरीलाई सम्बोधन गर्दै स्थानीय शान्ति समितिहरूसँग मिलेर जनतासँग सम्वाद प्रकृया सुरु गर्न र विश्वासको वातावरण बनाउन निर्देशन दिएका छन् । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।

नयाँ कानुनअनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसंख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।

The post दिल्ली हिंसामा मारिनेको संख्या २२ पुग्यो appeared first on Rajdhani Daily News.

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

Previous articleशव ओसार्दा ३१ लाख ५९ हजार भ्रष्टाचार
Next articleधनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कार गरी भिडियो निर्माण