शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह

0
22

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गर्नुभएको छ । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उहाँले शान्त हुन आह्वान गर्नुभएको हो । जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि उहाँले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह गर्नुभएको छ ।

नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसकेको र १९० भन्दा बढी घाइते भइसकेकाले अवस्थालाई सामान्य बनाउन सबैले भूमिका खेल्नुपर्ने भएको उहाँको भनाई छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नु भएको छ, “नयाँ दिल्लीका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना तत्काल रोक्न आग्रह गर्दछु, अवस्थालाई शान्तिपूर्ण बनाउन सामान्यीकरण गर्न प्रहरी र अन्य सरोकारवालाहरु लागिरहेका छन् ।” “शान्ति र एकता हाम्रो संस्कृति र परम्परा हो, मैले मेरा दिदीबहिनी र दाजुभाइलाई भाइचारा र शान्ति कायम गर्न आग्रह गर्दछु, हामी सबै तत्काल सम्हालिन अत्यावश्यक छ,” उहाँले लेख्नु भएको छ ।

यसअघि आजै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसात्मक अवस्थालाई नियन्त्रणका लागि सेना परिचालन गर्न सिफारिस गर्नुभएको थियो । पछिल्लो विवरणअनुसार बुधबार बेलुकासम्ममा दिल्लीमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ भने अरू १८९ जना घाइते भएका छन् । जीटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी रहेका छन् । आन्दोलनको सर्वाधिक प्रभाव परेको नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीले सबै विद्यालय बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको छ । यो भीडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । दिल्ली उच्च अदालतको मङ्गलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

मङ्गलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेता र प्रहरी अधिकारीसँग कुराकानी गर्नुभएको छ । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिकता कानूनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दू र मुस्लिम समुदायका व्यक्तिबीच हिंसात्मक झडप शुरु भएको थियो । मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ ।

नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ । नयाँ कानूनअनुसार धार्मिक आस्थाका आधारमा बङ्गलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दू, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ । तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसङ्ख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ । भारतमा जारी गरिएको नागरिकतासम्बन्धी यो संशोधित कानून केही समय अगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विवादमा परेको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सो कानूनको विरोध हुदाँहँुदै पनि यसअघिको आन्दोलन मत्थर भइसकेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको मौका पारेर फेरी शुरु भएको आन्दोलनले अहिले ठूलो हिंसात्मक रुप लिएको हो । यो हिंसात्मक आन्दोलनलाई पछिल्लो दशककै सबैभन्दा ठुलो हिंसात्मक आन्दोलनको रुपमा लिइएको छ ।

साभार : रासस

The post शान्त हुन प्रधानमन्त्री मोदीको आग्रह appeared first on Rajdhani Daily News.

‘आयात प्रतिस्थापनमा कृषि क्षेत्रको योगदान बढाउनुपर्छ’

Previous articleशव ओसार्दा ३१ लाख ५९ हजार भ्रष्टाचार
Next articleधनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कार गरी भिडियो निर्माण