मिथिला नगरपालिकाले ल्यायो ५७ करोडको बजेट 

0
10

जनकपुरधाम  । धनुषाको मिथिला नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५७ करोड ३ लाख ५४ हजारको अनुमानित आय व्यय सहितको बजेट नगरसभामा प्रस्तुत गरेको हो । 

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि अनुमानित आयव्ययमा सङ्घीय सरकारको समानिकरण र नगद अनुदानतर्फ १५ करोड ४४ लाख, सशर्त अनुदान चालु र नगदतर्फ २२ करोड ५३ लाख, अर्को सशर्त अनुदान चालु र नगद तर्फ २० करोड ४० लाख आय हुने अनुमान गरिएको छ ।

यस्तै, सशर्त अनुदान पुँजीगततर्फ ३ करोड ३५ लाख, समपूरक अनुदान पुँजीगततर्फ १ करोड ५० लाख, विशेष अनुदान २५ लाख अनुमानित आय हुने बजेटमा उल्लेख रहेको छ । 

यसैगरी,  प्रदेश सरकारको राजस्व बाँडफाँड तर्फ १२ करोड ३३ लाख ८७ हजार, समानिकरण अनुदानतर्फ १ करोड १२ लाख ६७ हजार, विशेष पुँजीगत अनुदान तर्फ ३० लाख, समपूरक अनुदानतर्फ २० लाखलगायत अन्य गरी जम्मा ५७ करोड ३ लाख ५४ हजारको अनुमानित आय हुने अनुमान सहितको बजेट नगरपालिकाले सार्वजनिक गरेको छ ।

नगरपालिकाको  १० औँ नगर सभामा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुभयो । 

नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास नीति लगायतको शीर्षकमा विभिन्न क्षेत्रमा नयाँ कार्यक्रमहरू समेटिएको छ ।

यस वर्ष नगरपालिकाले ‘हाम्रो मिथिला हाम्रो शान ः समृद्ध नगर हाम्रो अभियान’ नारा अघि सारेको छ । नीति कार्यक्रम प्रस्तुत गर्दै मेयर महतोले ‘हाम्रो मिथिला हाम्रो शान ः समृद्ध नगर हाम्रो अभियान’ लाई मूर्त रूप दिन असीमित सम्भावनाहरूलाई सदुपयोग गर्दै समुन्नत नगर निर्माणका लागि यो नीति कार्यक्रमले नगर विकासको लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ । 

नगरवासीको रोजगारी प्रतिको तीव्र आकाङ्क्षा र आर्थिक विकासको चाहनालाई पूर्ति गर्न नगरको विकास प्रक्रियामा परिकल्पना गरिएको यो नीति कार्यक्रमले सकारात्मक टेवा पुग्ने मेयर महतोको विश्वास रहेको छ । 

‘हेल्लो सिस्टर’ कार्यक्रमदेखि ढल्केवर–रानीवास सडकको डिपिआर तयार गर्ने सम्मको नयाँ कार्यक्रमहरू नीति कार्यक्रममा समावेश गरिएको छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास लगायतको क्षेत्रमा विशेष जोड दिइएको छ ।

जैविक खेतीलाई प्रोत्साहन गर्न अर्ग्यानिक मलको प्रयोगलाई प्रोत्साहन गरिने छ भने माटोको उर्वराशक्ति पहिचान गरी सोही अनुसारको खेतीलाई प्रोत्साहन गर्न माटो परिक्षण ल्याबको स्थापना गरिने, स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्न ब्राण्डिङ गर्ने नीति कार्यक्रममा उल्लेख रहेको छ । 

शिक्षित तथा दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्न स्नातक तहको अध्ययन गर्ने क्याम्पस सञ्चालन गरिने लिइएको मेयर महतोले जानकारी दिनुभयो । 

प्राविधिक तथा सीपमूलक शिक्षाको अवसर प्रदान गर्न सामुदायिक मावि विद्यालयहरूमा प्राविधिक शिक्षा पठनपाठन हुने कार्यको व्यवस्थापन गरिने उहाँको भनाई छ । 

हेल्लो सिस्टर कार्यक्रममार्फत गर्भवती महिलाको नियमित जाँच तथा खोप कार्यक्रमलाई निरन्तरता दिइने मेयर महतोले जानकारी दिनुभयो । नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई सुदृढीकरण गर्न फैमिली हेल्थ प्रोफाइल तयार गर्दै ढल्केवर स्वास्थ्य चौकीमा २४ घण्टे इमर्जेन्सी सेवा सञ्चालन गरिने योजना नीति तथा कार्यक्रममा मिथिला नगरपालिकाले समेटेको छ । 

१५ शय्याको अस्पताल तथा ढल्केवरमा ट्रमा सेन्टर स्थापना हुने कार्यका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिने, मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य चौकीहरूको भौतिक मर्मत तथा कर्मागत रुपमा प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिने लगायतको स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको नीति लिइएको छ ।

नगरपालिकाको प्रशासकीय भवनको डिपिआर तयार गरी निर्माण कार्यको थालनी गरिने, सुरक्षित बसोबासको उचित प्रबन्ध गर्न जनता आवास कार्यक्रम सञ्चालन गरिने, मधेस प्रदेशकै केन्द्रमा रहेको ढल्केवर चोकको पार्कलाई सौन्दर्यीकरण गरी आकर्षक पारिने जस्ता बुँदाहरू नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरको कृषि, व्यापार तथा पर्यटनको प्रवर्धन गर्न तथा यातायातको पहुँचलाई सहज बनाउन अगामी आर्थिक वर्षभित्र ढल्केवरदेखि सिन्धुलीको रानिवाससम्म जाने बाटोको डिपिआर तथा इआइए प्रतिवेदन तयार गरिने योजना रहेको मेयर महतोले जानकारी दिनुभयो । 

सुरक्षित नगर निर्माणको लागि अगामी आर्थिक वर्षभित्र उज्यालो नगर कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यस्तै, मिथिला सागर पोखरीयालाई स्तरोन्नति गरी आम्दानीमूलक बनाइने, पर्यटकीय स्थलहरूको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गरी धनेश्वर महादेव मन्दिर पर्यटन विकास क्षेत्रको निर्माण गरिने नीति कार्यक्रममा उल्लेख छ । 

चमिनीमाई, औरही बाबा जस्ता मठमन्दिर, धार्मिक स्थलहरूको डिपिआर गरिने योजना रहेको मेयर महतोले जानकारी दिनुभयो । एक वडा एक पार्क निर्माण कार्य थालनी गरिने कार्यक्रम पनि रहेको रहेको छ । 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0