सहकारीले व्यवसायी बनाएको गोलभेँडा गाउँ

0
12

दोलखा । दोलखा बैतेश्वर –४ उन्न्याचौरका दलबहादुर सार्की केही बर्ष अघिसम्म पारिवारिक गुजाराको लागि भारतको गान्टुक र दार्जिलिङतिर बरालिने गर्थे । अहिले आफ्नै बारीमा गोलभेँडा खेती गर्न थालेपछि उनलाई वर्षमा २/४ लाखको खाँचो हुँदैन । 

पहिले पहिले घर चलाउन हरेक बर्ष छ आठ महिना गान्टुक र दार्जिलिङ पुगेर मजदुरी गर्थे अहिले टुकी सङ्घ र जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सहयोगको कारण आफ्नै बारीमा गोलभेँडा र तरकारी खेती गरेर घर खर्चसँगै केही बचत समेत गर्न थालेको छु – दलबहादुरले भन्नुभयो । 

उन्न्याचौरमा झण्डै ३० घर धुरी छ । त्यसमा २० घर धुरीले व्यवसायीक रुपमा गोलभेँडा खेती गरेको दलबहादुर बताउँछन् । 

उन्न्याचौरमा तरकारी तथा गोलभेँडा खेतीको लागि टुकी अभियन्ता जयप्रसाद दहाल र स्थानीय किसान स्व. गगने सार्कीको सहयोग र सक्रियता महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् । हरेक घर धुरीले व्यवसायी रुपमा तरकारी खेती गर्नुपर्छ भनेर जय सर र स्व. गगने सार्कीले झकझकाउनु भयो अनि व्यवसायी खेतीको लागि जनसचेतन सहकारीले ऋण दिएपछि उन्न्याचौरमा व्यवसायीक तरकारी खेती सुरु भयो – दलबहादुरले भने । 

उन्न्याचौरमा गोलभेँडाको व्यवसायी खेती गर्ने २० घर मध्य नौ घर दलित समुदायका छन् । आर्थिक रुपमा कमजोर दलित समुदायका मानिसलाई जनसचेतनले ऋण नदिएको भए गोलभेँडाको व्यवसायी खेती गर्न सम्भव नहुने दलबहादुरको भनाई छ । 

झण्डै १० बर्ष अघिबाट गोलभेँडाको व्यवसायी खेती गरेकी गीता लामिछाने परम्परागत खेती छोडेर गोलभेँडा खेती गरेपछि अहिले उन्न्याचौरका सबै किसानहरू को आर्थिक हैसियतमा वृद्धि भएको बताउँछिन् । 

उन्न्याचौरका २० किसानमध्ये हरेकको घरमा कम्तीमा ४ वटा देखि १७ वटासम्म गोलभेँडाको टनेल रहेको छ । हरेक किसानले जनसचेतनबाट ऋण लिएर व्यवसाय सुरु गरेको गीता लामिछानेले बताइन । 

उन्न्याचौरको किसानलाई व्यवसायी बनाएर आर्थिक रुपमा सम्पन्न गर्न जनसचेतनको भूमिका महत्त्वपूर्ण रहेको गीता बताउँछिन् । उन्न्याचौरका किसानले पछिल्लो समय काब्रेमा रहेका अन्य सहकारीहरू बाट समेत ऋण लिएर गोलभेँडा खेती विस्तार गरिरहेको उनको भनाई छ ।

उन्न्याचौरका किसानहरू ले एक वर्षमा चार देखि १० लाखसम्मको गोलभेँडा बिक्री गर्ने दलबहादुरले बताए । बजार मूल्य हेरेर गोलभेँडा एक क्रेटको १२ सय देखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनको भनाई छ ।

गोलभेँडाको सिजन सकिएपछि त्यही ठाउँमा साग, काउली लगायतका अन्य तरकारी समेत खेती हुने भएकोले राम्रै आम्दानी गर्न सकिने उन्न्याचौरका किसानहरू बताउँछन् । उन्न्याचौरका किसानहरूले गोलभेँडा र अन्य तरकारी खेती बिक्रीबाट वर्षमा झण्डै दुई करोडसम्म भित्राउने गरेको स्थानीयको भनाई छ । 

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाई काब्रेका किसानहरूले नै जनसचेतनलाई स्थापित गरेकोले उहाँहरूको आर्थिक उन्नतिको लागि सहकारीले सक्दो सहयोग गरिरहेको बताउँछन् । उन्न्याचौरका किसानलाई व्यवसायीक बनाउन जनसचेतनले उत्प्रेरणा दिएको र हरेक किसानलाई आवश्यकता अनुसार सहज ढङ्गले ऋण समेत प्रवाह गरेको अध्यक्ष चौलागाईले बताए । 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0