हालसम्म सञ्चालित उद्योग प्रतिष्ठानहरूको सङ्ख्या ६० हजार १८५

0
14

काठमाडौँ । नेपालमा हालसम्म सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूको सङ्ख्या ६० हजार १८५ पुगेको छ ।

केन्द्रिय तथ्याङ्क विभागले शुक्रवार प्रकाशित गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ ले सञ्चालित उद्योग तथा प्रतिष्ठानहरूमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा, विद्युत्, ग्याँस, बाफ तथा वातानुकुलित क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति, ढल निकास, फोहरको व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा २ हजार २२४ उद्योग प्रतिष्ठानहरू सञ्चालनमा रहेको जनाइएको छ ।

सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चारै प्रकारका औद्योगिक प्रतिष्ठानहरूमा ४ लाख ९१ हजार २२७ व्यक्तिहरूले रोजगारी प्राप्त गरेको पाइएको छ ।

औद्योगिक क्षेत्रका चारै विधाका औद्योगिक प्रतिष्ठानहरूले ८ खर्ब ४६ अर्ब ६६ करोड रकम लगानी गरी १२ खर्ब १ अर्ब १७ करोड मूल्य बराबरका बस्तु तथा सेवा उत्पादन गरेको देखिएको प्रतिवेदनले औँल्याएको छ ।

ती औद्योगिक प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको र औद्योगिक प्रतिष्ठानहरूमा ६ खर्व १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको पनि देखाएको छ ।

औद्योगिक प्रतिष्ठानहरू मध्ये ३९.९ उद्योगहरूले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको १८.७ उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ७५–९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको ५०–७४ प्रतिशत, १०.३ उद्योग प्रतिष्ठानहरूले उत्पादन क्षमताको २५–४९ प्रतिशत मात्र उपयोग गरेको र बाँकी औद्योगिक प्रतिष्ठानहरूले २५ प्रतिशत भन्दा कम उत्पादन क्षमताको प्रयोग गरेको पाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0