रत्ननगरको भद्रकाली डेरीका पशुपालक किसानले पाए ११ लाख अनुदान

0
731

निराजन घिमिरे, असार २८, चितवन- चितवनको रत्ननगर १६ रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लि. ले आफ्ना ३०० जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । २०७७ साल श्रावण देखि २०७८ साल असार मसान्त सम्म दुध बिक्री गरेका कृषकहरूलाई रकम वितरण गरिएको हो । किसानहरूले उत्पादन गरेको दुधको परिमाणका आधारमा अनुदान रकम प्रदान गरेको सहकारी संस्थाका अध्यक्ष युवराज थापाले उज्यालो नेपाललाई जानकारी दिए ।

बागमती प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त अनुदान रकम एघार लाख एकानब्बे हजार पचास रुपियाँ सहकारीका कृषकहरुले प्राप्त गरेका हुन् ।  आर्थिक वर्ष भरिमा कृषकहरुले बिक्रि गरेको दुधको प्रति लिटर ‘बढिमा’ २ रुपियाँ अनुदान दिने बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत उक्त अनुदान रकम बाँडिएको हो । सहकारीमा उक्त अवधीमा कृषकहरुले जम्मा ७,२७,१३७ लिटर दुध विक्री गरेका छन् ।

जस मध्य भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष युवराज थापाले सबै भन्दा धेरै दुध बिक्रि गरेका छन् । उनले उक्त अवधीमा ४२,०५९ लिटर दुध बिक्रि गरेको सहकारीका व्यवस्थापक राजु बुढाथोकीले जानकारी दिए । उनले अनुदान बापत ६८,८९३/- रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै अर्का कृषक चन्द्र गुरुङ्ग र तारा थापाले क्रमशः १६,९८५ लि. दुध बिक्रि गरि २७,८२२/-  र १६,२१६ लि.दुध विक्री गरि २६,५६२/- रुपैयाँ प्राप्त गरेका छन् । 

मंगलबार सहकारीकै कार्यालयमा सम्पन्न एक कार्यक्रम बीच उक्त अनुदान रकम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वार्ड नं. १६ का वडाध्यक्ष हेमराज थापाले ” प्रदेश सरकारको अनुदान कार्यक्रमको प्रसंसा गर्दै यस्त कार्यक्रमले कृषकहरुलाई अझै कृषि पेशामा दत्तचित्त भएर लाग्न उत्पेरणा प्रदान गरेको बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले ” राज्यको अनुदानमा हुनेखाने र नेताकार्यकर्ताको मात्र पहुँच रहेको अवस्थमा विक्रीको आधारमा वितरण गरिने यस्तो अनुदान साना ठुला सबै कृषकको हातमा पुग्ने” भन्दै कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष विष्णु प्रसाद अर्याल, सल्लाहकार सदस्य प्रकाश खनाल ‘शैलेश’ लगायत अतिथिको रुपमा उपस्थित थिए । कार्याक्रममा सबैभन्दा धेरै दुध उत्पादन गर्ने ३ जना कृषकलाई सम्मान समेत गरिएको थियो ।  कार्यक्रमको सभापतित्व सहकारीकै अध्यक्ष युवराज थापाले गरेका थिए भने कार्यक्रमको संचालन सहकारीकै लेखा समिति संयोजक अनुप बुढाथोकीले गरेका थिए ।

घट्यो अनुदान रकम 

बागमती प्रदेशको यो कार्यक्रममा गत वर्ष भन्दा यसपटक अनुदान रकम भने कम भएको पाईएको छ । गत वर्ष प्रति लिटर २ रुपियाँको दरले पाएको पैसा यो पटक १.६३८ मात्र पाएको युवा पशुपालक गणेश न्यौपानेले बताए । प्रदेश सरकारले २ रुपियाँ दिने भने पनि यो पटक ३७ पैसा कम गरेर  पैसा बाढेको हो ।

प्रदेश सरकारले यो कार्यक्रमको लागी १६ करोड पैसा छुट्याएको तर उत्पादन बढे संगै उक्त रकम कम भएका कारण ३७ पैसा कम गरेर अनुदान वितरण गरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका कार्यक्रम अधिकृत बब्लु ठाकुरले जानकारी दिए । ‘दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि, २०७५’ मा प्रतिलिटर २ रुपियाँ अनुदान दिने उल्लेख भएता पनि कार्यविधि नै संसोधन गरि ‘बढीमा रु २/-‘ अनुदान दिने बनाईएको छ । अनुदानको लागी आव्हान गरिएको प्रस्तावमा जम्मा २७२ ओटा संघसंस्थाले आवेदन दिएको र ति मध्ये २६० वटा सहकारीहरुले छनौट भई अनुदान रकम प्राप्त गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0