
‘
चण्डेश्वर एक वर्षअघि मात्रै लेबरको काम गर्न साउदी अरब पुगेका थिए । मासिक पारिश्रमिक ६ सय रियाल थियो । उनी आफ्नो कमाइ नियमित रूपमा पठाउँथे । त्यही पैसाले कलादेवीले घरखर्च चलाउँथिन् । श्रीमान्सँग सम्पर्क टुटेदेखि साउदीबाट पैसा पनि आउन छोड्यो । ‘जग्गाजमिन थिएन । उहाँ साउदी गएपछि बिहानबेलुका छाक टार्न सजिलो भएको थियो,’ उनले सुनाइन्, ‘उहाँसँग कुरा हुन छाडेपछि पैसा आएन । मलाई बच्चाहरूलाई खुवाउन नै निकै गाह्रो भयो ।’

कलादेवीले जसोतसो मेलापात गएर परिवार चलाउन थालिन् । उनले श्रीमान्को आशा मा’रिसकेकी थिइन् । शव नदेखेकाले काजकिरिया भने भएको थिएन । एक वर्षपछि उनले अर्को खबर पाइन्, ‘चण्डेश्वर अस्पतालमा छन् । कसैसँग बोलचाल गर्न र उठेर हिँड्न सक्तैनन् । घाँटीमा पाइप राखेर खाना खुवाइन्छ ।’ यो खबरले उनलाई झन् पोल्न थाल्यो । अब भने उनलाई महिनैपिच्छे साउदीको कम्पनीबाट भन्दै फोन आउन थाल्यो, ‘तिम्रो श्रीमान् पठाइदिन्छौं । काठमाडौंमा लिन आउनू ।’
चार जना बच्चा पाल्न कठिन भइरहेको बेला श्रीमान् ल्याएर उपचार गर्न कहाँ गराउने ? उनले मुटुमा ढुंगा राखेर कम्पनीलाई जवाफ दिइन्, ‘अहिले नै म बुझ्न सक्तिनँ । त्यतै उपचार गरेर ठीक भएपछि मात्रै पठाइदिनू ।’ साउदी अरबको दमाममा चण्डेश्वर बाटो काट्दा दु’र्घटना परेका थिए । उनलाई ठक्कर दिने गाडी भने अझै पत्ता लाग्न सकेको छैन । टाउकामा गम्भीर चोट लागेका उनलाई त्यतिखेरदेखि नै दमामस्थित अल मौवासत अस्पतालमा उपचार गरेर राखिएको थियो ।
उपचार खर्च स्वास्थ्य बिमाले भ्याउन छाडेपछि पनि कम्पनीले उनको उपचार निरन्तर राख्यो । लामो समयसम्म अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार आएन । कम्पनीले परिवारलाई केही आर्थिक सहयोग गरेर उनलाई नेपाल पठाउन चाहेको थियो । तर, परिवार आफैं दयनीय आर्थिक अवस्थाका कारण जिम्मा लिन सक्ने अवस्थामा थिएन । परिवारले नबुझेपछि कम्पनीले नेपाल पठाउने व्यवस्था मिलाइदिन पटक–पटक दूतावाससँग अनुरोध गरिरहेको थियो ।
सन् २०१८ सम्म कम्पनी दूतावासको सम्पर्कमा थियो । साउदीको श्रम कानुनबमोजिम रोजगारदाताले पूरा गर्नॅपर्ने सम्पूर्ण दायित्व पूरा गरेको, निज चण्डेश्वरको उपचारमा बिमाले कभर नगरेको धेरै ठूलो रकमसमेत अस्पताललाई तिरेको, परिवारलाई केही आर्थिक सहयोग गर्छ भन्दा पनि बिरामी लिन नमानेकाले अब उप्रान्त आफूले निजको अस्पताल बसाइको खर्च जिम्मा लिन असमर्थ हुने व्यहोरा जानकारी गराई कम्पनी दूतावाससँग सम्पर्कविहीन भयो । ‘बिरामी अर्ध’चेत अवस्थामा रहेको हुँदा कसैले जिम्मा नलिँदासम्म अस्पतालले डिस्चार्ज पनि गर्न सकेन र परिवारले पनि निजको जिम्मा लिएन,’ रियादस्थित नेपाली दूतावासका प्रथम सचिव ऋषिराज आचार्यले भने, ‘दूतावासले बिरामीको परिवारलाई सहमत गराउन निकै प्रयास गरिरह्यो । तैपनि सफलता हासिल भएन ।’
यता अस्पतालको बिल ४० लाख साउदी रियाल नाघिसकेको थियो । कम्पनी सम्पर्कविहीन भएपछि अस्पतालले चण्डेश्वरको उपचारको बिल जिम्मा लिन र उनलाई नेपाल लैजानका लागि दूतावाससमक्ष दबाब बढाउन थाल्यो । दूतावास आफैं बिल भुक्तानी गर्न सकिने अवस्था थिएन । दूतावासले चण्डेश्वरको उपचारमा भएको खर्च मिनाहाका लागि अस्पतालको उच्च व्यवस्थापनसँग नियमित जसो बैठक राख्यो । ती बैठकमा अस्पताल व्यवस्थापन नेपाल सरकारले आफ्नो नागरिकको जिम्मेवारी नलिएको भन्दै असन्तुष्ट जनाइरहन्थ्यो । ‘थुप्रै पटक प्रयासपछि बिरामी लैजाने सर्तमा अस्पतालले सम्पूर्ण बिल मिनाहा गरिदियो,’ आचार्यले भने, ‘बिरामी बुझ्न परिवारलाई पनि मनाउन सकिने अवस्था बन्यो ।’
चण्डेश्वरका माइला छोरा चन्द्रदीप कतारबाट फर्केका छन् । बाँकी तीन दाजुभाइ भारतमा मजदुरी गरिरहेका छन् । ‘बुबा साउदी भएपछि हामीले हरेक दिन तना’वमा बिताएका छौं, आमा सधैं रुनुहुन्छ,’ चन्द्रदीपले भने, ‘यत्रो वर्षसम्म उपचार गर्दा पनि ठीक नभएपछि हामी बुबालाई नेपाल ल्याउन सहमत भएका हौं ।’
चण्डेश्वरको उपचारका लागि अस्पतालमा झन्डै ५९ करोड ४० लाख रुपैयाँ खर्च भएको छ । उनको उपचारका लागि दैनिक ५ हजार रियाल खर्च भएको दूतावासले जनाएको छ । परिवारले बिरामी जिम्मा लिन परिवार सहमत भएको कागज पठाएपछि दूतावासले शुक्रबार नेपाल एयरलाइन्सको जहाजमार्फत चन्डेश्वरलाई पठाएको हो । जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र स्ट्रेचर बापतको झन्डै ७ लाख रुपैयाँ वैदेशिक रोजगार बोर्डले ब्यहोरेको छ । अस्पतालले चण्डेश्वर मुखियाको उपचार, बेड र नर्सिङ केयरबापत तिर्न बाँकी सबै रकम मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद एयरपोर्टसम्म एम्बुलेन्समा ल्याइदिएको थियो ।
एक जना नर्ससहित स्ट्रेचरमा राखेर नेपाल ल्याउँदा लागेको सबै खर्च भने नेपाल सरकारले ब्यहोरेको हो । नेपाल ल्याएपछि उनलाई एक दिन वीर अस्पतालमा राखिएको थियो । आमाको आग्रहमा शनिबार घरमै लगिएको छ । ‘घरमा आएपछि बुबा जतिखेर पनि रोइराख्नुभएको छ । हामी सबैलाई चिन्नुभएको छ । हामीले बोलेको सबै बुझ्नुहुन्छ । तर, केही फर्काउनसक्नुहुन्न,’ चन्द्रदीपले भने, ‘हामीले बुबालाई सासमै भेट्टायौं । कति दिन बाँच्नुहुन्छ थाहा छैन । भारतमा काम गर्न गएका दाजु र भाइहरूलाई बोलाएको छु । उनीहरू एक–दुई दिनभित्रै आउँदै छन् ।’ होम कार्की /कान्तिपुर

