चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

0
178

चितवन । काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

काठमाडौंमा स्थापित दललाई राष्ट्रिय स्वतन्त्र पार्टीको धक्का

काठमाडौँ — पाँच महिनाअघिमात्रै स्थापना भएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का लागेको छ । पुराना दलमा लामो समय काम गरेर अनुभव बटुलेका र राजनीतिमा स्थापित भइसकेका अनुहारहरू नै फराकिलो मतान्तरले हारेका छन् । अहिलेको प्रविधि र आधुनिक समाजको चरित्र बोकेका युवाहरूले सानो संगठन, कमजोर तयारी र पहिलो प्रयासमै चुनाव जितेका छन् ।

स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा जित निकालेको छ । काठमाडौं–२ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा तोसिमा कार्कीले जितेकी छन् । यी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रसहित चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका बहालवाला मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्वसभामुख ओनसरी घर्ती र पूर्वमन्त्री भीमसेनदास प्रधानसम्म फराकिलो मतान्तरले पराजित भएका हुन् ।

स्वतन्त्र पार्टीले चुनाव नजितेका क्षेत्रमा समेत उल्लेख्य मत पाएको छ । काठमाडौं–९ मा उपविजेता बनेको छ भने काठमाडौं–१, ३, ५ र १० तथा ललितपुर–१ र २ मा तेस्रो भएको छ । रास्वपाले नेपाली कांग्रेसले जित्दै आएको काठमाडौं–६ र पहिले नेकपा एमालेले जितेका काठमाडौं–२, ७ र ८ तथा माओवादी केन्द्रले जित्दै आएको ललितपुर–३ खोसेको हो ।

काठमाडौं–२ बाट ०७० र ०७४ मा माधवकुमार नेपालले एमालेबाटै चुनाव जितेका थिए । एमाले फुटाएर नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक यहाँबाट उठेनन् । यहाँ नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पूर्वसभामुख ओनसरी घर्तीदेखि राप्रपाकी कुन्ती पोखरेलसम्म प्रतिस्पर्धी थिए । तर, चुनाव भने स्वतन्त्र पार्टीकी सोबिता गौतमले जितेकी छिन् ।

गौतमले १५ हजार २२९ मत ल्याउँदा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत ल्याएर दोस्रो भए । राप्रपाकी पोखरेल तेस्रो र गठबन्धनकी उम्मेदवार घर्ती चौथो भएका छन् । पोखरेलले ११ हजार १४ र घर्तीले ९ हजार ४४९ मत पाएकी छन् ।

काठमाडौं–२ मा एमालेले जस्तै कांग्रेसले बलियो पकड बनाएको क्षेत्र हो, काठमाडौं–६ । तर, यसपटक यहाँबाट दुई पटक निर्वाचित भइसकेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान फराकिलो अन्तरले पराजित भएका छन् । यहाँबाट स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर जिते भने नेकपा एमालेबाट उम्मेदवार बनेका पूर्वआईजीपी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए । कांग्रेसका प्रधानले भने ८ हजार ८०५ मत पाए ।

चुनावअघि काठमाडौं–७ मा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईको चर्चा थियो । तर, चुनाव भने स्वतन्त्र पार्टीका गणेश पराजुलीले जितेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन उम्मेदवार मानुषी भने तेस्रो भइन् । पराजुलीले ८ हजार ७४३ मत ल्याएर चुनाव जित्दा नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत पाएका छन् । मानुषीले ६ हजार ६३ मत पाएकी छिन् । यहाँबाट ०७४ मा नेकपा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए । यसपटक एमालेमा टिकट नपाएका रामवीरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ७५३ मत ल्याए ।

त्यस्तै, काठमाडौं–८ मा पनि बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई पराजित गर्दै स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । ०७४ मा एमालेबाट चुनाव जितेका जीवनराम यसपटक कांग्रेस नेतृत्वको गठबन्धनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार थिए । तर, स्वतन्त्रका विराजभक्तले फराकिलो मतान्तरसहित चुनाव जितेका छन् । उनले १० हजार १०५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् । जीवनरामले भने ४ हजार ८७७ मतमात्रै ल्याएका छन् ।

उता ललितपुर–३ मा पनि बहालवाला मन्त्री पम्फा भुसाल पराजित भएकी छिन् । यहाँ पनि स्वतन्त्र पार्टीकै तोसिमा कार्कीले जितेकी छिन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेकी मन्त्री भुसालले ८ हजार ७६९ मत मात्रै पाइन् ।

काठमाडौंका दस क्षेत्रमध्ये ०७४ मा एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ गरी छ क्षेत्रमा जितेको थियो । यसपटक एमालेले क्षेत्र नं. ९ मात्रै जितेको छ । यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, कांग्रेसले पहिले क्षेत्र नं. १, ४, ६ र १० गरी चार क्षेत्र जितेको थियो । यसपटक कांग्रेसले पाँच क्षेत्र जितेको छ ।

कांग्रेसबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । यीमध्ये सिंह, थापा र केसीले आफ्नो क्षेत्रमा जितको हृयाट्रिक पूरा गरेका छन् । चालिसे र पौडेल पनि संसदीय यात्राको पहिलो प्रयासमै संसद्मा प्रवेश पाएका छन् ।

 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0