क्वालालम्पुर : मलेसियाको सेरेम्बानमा रहेको एक रेष्टुरेन्टमा दुई नेपाली सुरक्षगार्डको ह’त्या भएको छ । डिसेम्बर ३ तारिख अर्थात शनिबार दिउँसो मलेसियाको राजधानी क्लालालम्पुरबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने सेरेम्बानमा रहेको एक रेष्टुरेन्ट परिसरमा हथौडाले हानेर उनीहरुको ह’त्या गरिएको अवस्थामा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेकोे छ ।
मृतक सुरक्षागार्डहरुको अनुहारमा धेरै वटा चो’ट लागेको बताइएको छ । रग’त जमेका कारण अनुहारमा लागेका चोट कालो भएको प्रहरीले बताएको छ । सेरेम्बान प्रहरीका सहायक कमाण्डर नन्द मारोफले घटनाका बारेमा स्थानीय बासिन्दाबाट शनिबार साँझ पौने सात बजेतिर सूचना पाए लगत्तै घटनास्थलमा पुग्दा दुई जना मृत र एक जना जीवित गरी तीन जना नेपाली फेला परेको बताएका छन् ।
मृतकहरुको नाम र नेपालमा उनीहरुको ठेगाना खुलाइएको छैन । तर उनीहरु मलेसियामा सुरक्षागार्डको रुपमा काम गर्नेहरु भएको सुनिश्चित गरिएको प्रहरीले बताएको छ । मृतकहरुको उमेर ३५ वर्ष र ४६ वर्ष रहेको पनि अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ । मृतकहरुको शव एकअर्काबाट टाढै र फरक–फरक स्थानमा पाइएको भन्दै प्रहरीले फरेन्सिक जाँचपछि हत्याको उद्देश्य र अन्य विषय पत्ता लाग्ने बताएको छ ।
मलेसियाको प्रहरीले आक्रमणमा हथौडा प्रयोग भएको र उक्त हथौडा बरामद गरेको बताएको छ । मारोफका अनुसार जीवित फेला परेका नेपालीलाई नियन्त्रणमा राखिएको छ । घटनाको मलेसियाको दण्डसंहिताको धारा ३०२ अन्तर्गत अनुसन्धान भइरहेको छ । रेष्टुरेन्ट नजिकै रहेको सिसिटिभी भिडियो फुटेजबाट घटनाको कारण र पक्राउ परेका नेपालीको संलग्नता रहे/नरहेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।