अमेरिका नपुग्दै पानामाको जंगलमा अस्तायो मदनको सपना

0
217

सुर्खेत,रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० का २० वर्षीय मदन शाही गत फागुन १८ मा संगठित मानव तस्करको सहयोगमा अमेरिका हिँडेका थिए । काठमाडौंबाट दुबई हुँदै स्थानीय दलालमार्फत अमेरिका हिँडेका उनी मंसिर २४ देखि सम्पर्कविहीन छन् । सामाजिक सञ्जालमा पानामाको जंगलबीच खोला तर्ने क्रममा बगेर मदनको मृत्यु भएको खबर फैलिएको छ । दुबईमा झन्डै तीन महिना बिताएका उनी एजेन्टको सहयोगमा १० महिना लगाएर पानामा पुगेका थिए ।

दाइ कपिलका अनुसार पछिल्लोपटक सम्पर्क हुँदा मदनले आफू कोलम्बियामा रहेको बताएका थिए । ‘त्यसयता सम्पर्क नभएपछि हामीले सोधीखोजी गरिरहेका थियौं,’ उनले भने, ‘गत बिहीबार सामाजिक सञ्जालमा नराम्रो खबर फैलियो तर पुष्टि हुने जानकारी पाएको छैन ।’ पाँच दाजुभाइमध्ये मदन काइँलो हुन् । दुई दिदीबहिनी छन् । सामाजिक सञ्चालन र मिडियामा मदनको मृत्युको खबर फैलिएपछि परिवार चिन्तामा डुबेको छ । कपिलले भने, ‘फेसबुक र समाचारहरूमा भाइ नरहेको खबर फैलिएको छ तर हामीले कसरी पत्याउने ?’

संगठित मानव तस्करको भर परेर अमेरिका जानेको संख्या जिल्लामा बढ्दै गएको छ । यसले पीडितको लाखौं रुपैयाँ डुब्ने जोखिम त छँदै छ, अवैध रूपमा हिँडेकाहरू बेपत्ता हुने र मृत्यु हुने क्रम पनि बढेको छ । गत असोज अन्तिम साता पानामाको समुद्रमा डुंगा दुर्घटना भयो । अवैध रूपमा अगाडि बढिरहेको उक्त डुंगामा सवार थिए– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री र मुसीकोट नगरपालिका–५ का ४० वर्षीय रमेश गौतम । डुंगा दुर्घटनामा बेपत्ता भएका उनीहरूको शव दुई दिनपछि भेटिएको थियो ।

अवैध रूपमा अमेरिका जाँदै गर्दा बाटोमा बेपत्ता भएका मदन शाही । तस्बिर ः सामाजिक सञ्जाल

‘दुःखजिलो गरेर छोरालाई अमेरिका पठाइयो तर न ऊ पुग्न पायो न पैसा फिर्ता भयो,’ रमेशका काका हेमराज गौतमले भने, ‘उसको मृत्युपछि परिवारको अवस्था झन् कमजोर भएको छ । भएको जग्गा–जमिनको उब्जनीले खान पुग्दैन । परिवारमा कमाउने कोही नभएपछि थप तनाव भयो ।’ उनले गाउँका १० जनासँग ४० लाख रुपैयाँ ऋण सापटी खर्च गरेर छोरालाई अमेरिका पठाएको जानकारी दिए । अहिलेसम्म एक रुपैयाँ पनि कर्जा तिर्न नसकेको उनले बताए ।

रुकुम पश्चिमका गाउँबाट युवा अवैध रूपमा अमेरिका जाने लहरै चलेको छ । मुसीकोट नगरपालिकाका रातामाटा, धेरैनीचौर, चौतारालगायत गाउँका हरेकजसो घरका युवा अमेरिका गएका छन् । सानीभेरी, चौरजहारी, त्रिवेणीलगायत स्थानीय तहबाट पनि अमेरिका पुग्ने युवाको संख्या बढिरहेको छ । ‘अमेरिका गएकाको कमाइ र प्रगति देखेर त्यहाँ जान सबै लालायित छन्,’ अमेरिकाबाट दुई वर्षअघि डिपोर्ट भई फर्किएका मुसीकोट नगरपालिका–४ का केशव केसीले भने, ‘अवैध बाटो जाँदाको दुःख र जोखिमको कुरै नगरौं ।’ उनी पनि पानामाको जंगलमा दुई ठाउँमा लडेका थिए भने एकपल्ट सर्पले टोकेको थियो । उनले अमेरिका जाँदा ५१ लाख रुपैयाँ खर्च भए पनि आफूलाई भाग्यले साथ नदिएकाले डिपोर्ट भएको बताए ।

केशवका अनुसार नेपालबाट दुबई हुँदै अमेरिका पुग्ने क्रममा झन्डै १० जना दलाल भेटिन्छन् । ‘क्याम्पहरूमा कहिलेकाहीं भोकभोकै पनि बस्नुपर्छ, बाटो र जंगलमा हिँड्ने क्रममा लड्ने र खोलामा बग्ने जोखिम उत्तिकै हुन्छ,’ उनले भने, ‘एउटै क्याम्पमा १०/१५ दिन बस्दाको मानसिक तनाव र दलाल फेर्दा हुने झन्झटले बाटैबाट फर्किउँ जस्तो बनाउँछ ।’

अमेरिकाबाट गत मंसिरमा डिपोर्ट गरिएका सिस्ने गाउँपालिका–५ का गोपाल पुनले सयौंको संख्यामा जंगलैजंगल जाँदा कसैको मतलब नहुने बताए । उनका अनुसार मेक्सिको नपुग्दासम्म ज्यानकै बाजी राखेर हिँड्नुपर्छ । उनले अमेरिका जाँदा सुरुका दलालले ४० लाख रुपैयाँ लिएको तर दुबईमा भेट्नु भनेका व्यक्तिले अमेरिका पठाउन ढिलाइ गरेपछि त्यहीं अर्को दलाल फेरेर थप १४ लाख रुपैयाँ खर्च भएको सुनाए । ‘त्यत्रो दुःख–पीडा सहेर अमेरिका पुगियो तर भाग्य नै नभएपछि डिपोर्ट भएँ,’ उनले भने, ‘त्यहाँ जाँदा लागेको ऋण अझै तिर्न सकेको छैन ।’

उनी दुबई, तान्जानिया, पानामा, कोस्टारिकालगायत देश घुम्दै जंगलको बाटो मेक्सिको छिरेर अमेरिका पुगेका थिए । उनको टोलीमा गएका ११ नेपाली डिपोर्ट भएका थिए । टोलीमा अन्य देशका नागरिकसमेत गरी १ सय १४ जना थिए । ‘मुलुकैपिच्छे फरक–फरक दलालको जिम्मा हुँदा उनीहरूको हेपाहा व्यवहारले आजित बनाउँछ,’ उनले भने, ‘क्याम्पमा राख्दा भेडाबाख्राजस्तै कोचाकोच गरेर एउटै कोठामा २० जनासम्म राखिन्छ ।’ समुद्रमा डुंगा चढ्दा र जंगलमा हिँड्दै मेक्सिको पुग्दा जिउँदो गइन्छ कि गइँदैन भन्ने त्रास भइरहन्छ ।’ उनका अनुसार अमेरिका जाने अधिकांश युवा पैदल, रेल, बस र डुंगाको यात्रा गर्छन् । उनले हिँड्ने क्रममा रात–बिरात भन्न नपाइने र खाने–बस्ने टुंगो नहुने बताए ।

नागरिक अगुवा गोविन्द केसी यसअघि अमेरिका गएकाले कमाएको देखेर युवामा त्यहाँ जाने हुटहुटी चढेको बताउँछन् । ‘अवैध मार्गबाट जाँदा उनीहरू बिरामी भएको, भीरपहरामा लडेको, खोलामा बगेको र मृत्युको मुखमा पुगेको कसैले देख्दैनन्,’ उनले भने, ‘तर सबैलाई जतिसक्दो धेरै पैसा कमाउने रुचि छ, त्यसैले पनि अधिकांशले अमेरिकालाई सपनाको देश मान्न थालिरहेका छन् ।’ अहिले मानव तस्करको सञ्जालसँग सम्बन्ध भएका स्थानीय दलालहरू गाउँगाउँमा पस्न थालेकाले पनि कर्जा र ऋण सापटी गरेर अभिभावकले युवालाई अमेरिका पठाउने गरेको उनले बताए । उनका अनुसार अहिले युवा ४० देखि ७५ लाख रुपैयाँसम्म रकम तिरेर अमेरिका छिरिरहेका छन् ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेल अवैध बाटोबाट अमेरिका जानेहरूको तथ्यांक प्रहरीसँग नहुने बताउँछन् । ‘न त्यसबारे उजुरी पर्छ न कुनै जानकारी नै गराइन्छ,’ उनले भने, ‘हामीले उनीहरूको मृत्यु भएपछि सञ्चार माध्यममा आउने समाचारबाट मात्रै यसबारे थाहा पाउँछौं ।’ कान्तिपुर दैनिकमा खबर छ ! 

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0