बागमती प्रदेशको मुख्यमन्त्रीमा जम्मकट्टेलको दाबी

0
40

मकवानपुर — आमनिर्वाचन सकिएको ५० औं दिनमा सोमबार वाग्मती प्रदेशले नयाँ मुख्यमन्त्री प्राप्त गर्दै छ । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समय सीमा दिउँसो ४ बजे सकिँदै छ । सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा सोमबार माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले दाबी गर्नेछन् ।

गठबन्धनको आइतबार साँझ बसेको बैठकले वाग्मतीको मुख्यमन्त्रीमा माओवादी र एमालेबीच आलोपालो गर्ने सहमति गरेको छ । गठबन्धनमा सभामुख राप्रपा र उपसभामुख एमालेले लिने सहमति भएको छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार गत बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न ५ दिनको समय सीमा उपलब्ध गराएका थिए । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुपर्नेछ ।

वाग्मतीमा सरकार निर्माणका लागि निर्णायक रहेको राप्रपाले आफ्नो ‘कित्ता’ प्रस्ट नगर्दा र सत्ता गठबन्धनमा सहमति नहुँदा प्रदेशको नेतृत्वबारे अन्योल थियो । सरकारको नेतृत्व गर्ने विषयमा दलहरू केन्द्रीय निर्देशन कुरेर बसेका थिए ।

सरकारको नेतृत्वका लागि आइतबार साँझसम्म सत्ता गठबन्धनका तीन वटै दल एमाले, माओवादी र राप्रपाका नेताहरूले दाबी गरिरहेका थिए । एमालेबाट जगन्नाथ थपलिया, माओवादीबाट जमकट्टेल र राप्रपाबाट उद्धव थापा मुख्यमन्त्री बन्न केन्द्रीय नेतृत्वसँग निरन्तर लबिइङ गरिरहेका थिए । उनीहरू तीनै जना आ–आफ्नो दलको संसदीय दल नेता हुन् ।

एमाले संसदीय दलका नेता थपलियाले केन्द्रबाट सरकारको नेतृत्व टुंगिएकाले सोमबार प्रदेश सरकारमा दाबी गर्न सत्ता गठबन्धन प्रदेश प्रमुखसमक्ष जाने बताए । माओवादी संसदीय दलका नेता जमकट्टेलले गठबन्धन दलका शीर्ष तहमा भएको भागबन्डाअनुसारै मुख्यमन्त्रीमा दाबी गरिने बताए । उनले हालसम्म वाग्मतीको नेतृत्व माओवादीले नगरेका कारण यसपटक दाबी गरेको बताए । ‘प्रदेशमा हाम्रो दाबी स्वाभाविक हो,’ उनले भने ।

राप्रपा संसदीय दलका नेता थापाले पनि सरकारको नेतृत्वको विषय केन्द्रबाटै अड्किएको र उतैबाट टुंगिने बताएका थिए । ७ प्रदेशमध्ये वाग्मतीमा राप्रपाको प्रभाव राम्रो रहेको र सांसदको संख्या पनि धेरै रहेका कारण मुख्यमन्त्रीमा दाबी गरेको उनको भनाइ थियो ।

प्रदेशसभाको अंकगणितअनुसार वाग्मतीमा सरकार नेतृत्वको साँचो राप्रपाको हातमा छ । राप्रपा जुन समूहमा जान्छ, उतै सरकार निर्माण हुने अवस्था छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माण गर्न ५६ सांसद चाहिन्छ । केन्द्रको समीकरण अनुसार वाग्मतीमा एमाले २७, माओवादी २१ र राप्रपा १३ गरी ६१ सांसद एकापट्टि छ । राप्रपा, एकीकृत समाजवादी र कांग्रेस तालमेल भएको खण्डमा पनि सरकार निर्माण हुन्छ । कांग्रेसका ३७, राप्रपाका १३ र एकीकृत समाजवादीका ७ गरी ५७ सांसद पुग्छन् । राप्रपाका कारण केन्द्रीय समीकरणविपरीत वाग्मतीमा सरकार बन्ने सम्भावना पनि छ । प्रदेशसभामा सात दलको प्रतिनिधित्व रहेको छ । ३ सांसद रहेको नेमकिपा र २ सांसद रहेको हाम्रो नेपाली पार्टीले सरकारका विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । साना दलको सहयोगमा कुनै पनि सरकार निर्माण हुने अवस्था छैन ।

तपाईको प्रतिक्रिया
यो सामग्री पढेर तपाईलाई कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0