रत्ननगर, माघ -८ चितवनको रत्ननगरमा ज्येष्ठ नागरिक तथा फरक क्षमता व्यक्ति लक्षित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रनपा-१६ वडा कार्यालयले आफ्नै कार्यालय परिसरमा ६८ वर्ष माथिका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिको लागी शिविर संचालन गरेको हो । शिविरमा हेल्थ फाउन्डेसन नेपाल र इन्ष्टिच्युट अफ मेन्टल हेल्थको प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा अर्थोपेडिक डाक्टर प्रितम चौधरी, जनरल सर्जन आशिष आचार्य, नाक, कान घाँटी रोग विशेषज्ञ मालती दुलाल र फिजिसियन डाक्टर सन्देश न्यौपाने सहितको १० जनाको टोलीले मुटु, पेट, कलेजो, सुगर, प्रेसर, किड्नी तथा पिसाब, दम, नाक-कान-घाँटी लगायतका समस्या भएका १७० जनाको स्वास्थ्य उपचार गरेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।
शिविरमा १०० प्रकारका औषधि समेत नि:शुल्क रुपमा वितरण गरिएको थियो भने सेवाग्राहीहरुको मानसिक स्वास्थ्य सर्भेक्षण समेत गरिएको थियो। ज्येष्ठ नागरिकहरुको स्वास्थको दायित्व आफुहरुको काँधमा रहेको बताउंदै वडाध्यक्ष हेमराज थापाले वार्षिक कार्यक्रम अनुसारनै आफुहरुले शिविरको आयोजना गरेको बताए ।
शिविरमा सेवा लिन आएका वृद्धवृद्धाहरुलाई १/ १ केजी मह वितरण गरिएको थियो । बिटलेस एजुकेशन कन्सल्टेन्सीको समेत सहयोग रहेको कार्यक्रममा लायन्स क्लब अफ पिठुवाले नि:शुल्क यातायातको व्यवस्था गरेको थियो ।
