कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा

0
17

काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका चार नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । एक जना चीन र तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।

डा. बाँस्तोलाले यो नियमित प्रक्रिया रहेको भन्दै हालसम्म २३ जनालाई आइसोलेसन वार्डमा राखिएको बताए । आइतबार दिउँसो ३ बजेसम्म दुई जना र बेलुकी थप दुई जना टेकु अस्पताल पुगेका थिए ।

चीनको वुहानमा नेपाली नागरिक लिन गएका चालक दलका १८ जनामै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरूमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

चालक दलका १८ जनामा कोरोना भाइरसको संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । कोरोना परीक्षणका लागि शनिबार उनीहरूबाट नमुना संकलन गरिएको थियो । उनीहरूलाई नगरकोटस्थित क्वारेन्टाइनमा राखिएको छ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ । उनीहरूको नमुना परीक्षण भइरहेको बताइएको छ ।

त्यस्तै, यात्रुहरूको स्वास्थ्य जाँचलाई प्रभावकारी बनाइने भएको छ । आगमन र प्रस्थान दुवै कक्षमा यात्रुको चेकजाँच गर्ने सरकारको तयारी छ । अब सबै एयरलायन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रूपमा हेल्थ डेस्कले जाँच गर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलको आगमन कक्षमा हेल्थ डेस्क राखेको छ । डेस्कमा १२ जना कर्मचारीले तीन सिफ्टमा काम गर्छन् । स्वास्थ्य मन्त्रालयले भोजभतेर सकभर नगर्न आग्रह गरेको छ ।

The post कोरोना भाइरस संक्रमण : चार जना आइसोलेसन वार्डमा appeared first on Rajdhani Daily News.

गौरा पर्वमा सार्वजनिक बिदा दिने विषयमा सकारात्मकः प्रधानमन्त्री प्रचण्ड

Previous articleअस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली
Next articleजडिबुटीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु