विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न जाजरकाेटका पण्डितहरु सहमत भएका छन् ।
जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर-बधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ, यसो नगरिए कारबाही भोग्नुपर्नेछ ।’
पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन् ।

जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको जाजरकोट जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो ।