समाजको आत्मिक सचेतता

0
102

समाज विभिन्न तह, वर्ग, क्षमता, सीप, कला, हैसियत एवं पेसा भएका नागरिकको समागम थलो हो । यहाँ अनेक जात, जाति, धर्म, लिंग, वर्गका मानिसको बसोबास हुन्छ । समाजमा रहेका सर्वसाधारण, पढेलेखेका, नागरिकसमाज, बुद्घिजीवी, प्राज्ञ, पत्रकार, कानुनविद्, लेखक, प्राध्यापक, विज्ञ, विशेषज्ञ, कवि, कलाकार, कृषक, कर्मचारीलगायत विभिन्न व्यक्ति एवं व्यक्तित्वमा आआप्mनै राजनीतिक विचार, दर्शन वा स्वतन्त्र चिन्तन हुन्छ । लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति तथा राजनीतिक दललाई समर्थन वा विरोध गर्ने स्वतन्त्रता नागरिकमा निहित हुने भएकाले यो स्वभाविक मानिन्छ । यो लोकतान्त्रिक समाजको सौन्दर्य हो । तर, नागरिकले देश र जनहितको विषयलाई कुनै पनि राजनीतिक आस्थाले ओझेलमा पार्नुहुँदैन भन्ने कुरा समाजले हेक्का राख्नुपर्छ ।

लोकतान्त्रिक समाजको सौन्दर्य खुला समाज हो जहाँ अधिकारसम्पन्न समाजको कल्पना गरिएको हुन्छ । यस्तो समाज अधिकारका साथै देश र समाजप्रतिको आफ्नो कर्तव्यलाई पनि बुभ्mन आवश्यक हुन्छ । अधिकारसहितको कर्तव्यले समाज अनुशासित बनाउँछ । हाम्रो समाजको नागरिक मत विभिन्न राजनीतिक आस्थामा विभाजित छ । राजनीतिक विभाजन अरू विषयभन्दा चोटिलो बनेको छ । राजनीतिका कर्म देश र समाजको हितमा उपयोग हुन सकेको छैन । राजनीतिलाई व्यक्ति, समूहवाद विशेषको फाइदाको लागि उपयोग गरिएको अवस्था छ । यसको सट्टा समाज र देश विकासका लागि सामाजिक चेतना आवश्यक परेको छ । जुन चेतनाका कारण कुनै पनि राजनीतिक दल वा नेता कुनै पनि वादबाट माथि उठ्न सकोस् ।

समाजले पहिले देश, त्यसपछि नेपाली नागरिक अनि मात्र अन्य परिचयलाई आत्मसात् गरी समाजमा घट्ने वा घटाउने परिघटनालाई ठीक र बेठीकको आधारमा छुट्याउन सक्नुपर्छ । हाम्रो समाजमा शैक्षिक चेतनाको कमी भएकाले राजनीतिक आस्थाका आधारमा बेठीकलाई पनि ठीक भन्ने तर्क हुने गरेको पाइन्छ । समाजमा राज्यले गर्ने गलत काममा आमनागरिकको मतक्यैता हुन सकेको छैन । राज्य, व्यक्ति वा उच्चपदस्थ कर्मचारी, व्यापारी, बिचौलिया वा ठेकेदार जो सुकै भए पनि ठीक र बेठीक क्रियाकलापका आधारमा आमधारणा बन्न सकेको छैन ।

फलतः समाजमा समस्या सिर्जना गर्ने बहिष्कृत भएका छैनन् । निर्दोषले सामाजिक न्याय पाउन सकेका छैनन् । देशका न्यायालय, राजनीतिक संघ संगठन, शैक्षिक क्षेत्रलगायतका निकाय गुणस्तरीय सेवा प्रदायक बन्न सकेका छैनन् ।

नेपालमा धेरै राजनीतिक आस्था र दर्शनले बाँधिएका राजनीतिक दल छन् । कुनै पनि अमुक राजनीतिक दर्शनका आधारमा देशको विकास र सुशासनका कुरा असम्भव प्रायः भइसकेको ३० वर्षको प्रजातान्त्रिक अभ्यासबाट पुष्टि भइसकेको छ । राजनीतिक नेता र कार्यकर्तालाई विकासमैत्री एवं जनमुखी हुनभन्दा दलमुखी र नेतामुखी भएको कसैबाट लुकेको छैन । अफ्नो दल र नेता विशेषका भक्तका कारण पनि नेतृत्वको कार्यशैली जनपक्षीय हुन नसकेको हो । भ्रष्टाचार नियन्त्रण नभएको हो । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेझंै दलका नेताले पार्टीगत, स्वार्थ र आत्मगत चिन्तनबाट माथि उठ्न नसक्नुको पछाडि उनीहरूका सल्लाहकार वा कार्यकर्ताले प्रभावकारी भूमिका खेल्न नसकेको जानकार बताउँछन् । कुनै पनि राजनीतिक दल वा नेता गणभन्दा देश र समाजमाथि हुन्छ भन्ने चेतनाको विकास नभएसम्म समाजले गुण र दोषको आधारमा न्याय गर्न सक्दैन । त्यसैले प्रत्येक नागरिकले समाजमा घट्ने र घटाउने परिघटनालाई ठीक वा बेठीकको आधारमा आफ्नो धारणा बनाउनुपर्छ । समाजका हरेक व्यक्तिले पहिले नेपाली नागरिक भएर सोच्ने संस्कृतिको विकास गर्नुपर्छ ।

प्रजातन्त्रमा लोकको डर र लज्जाबोध भएको जनउत्तरदायी सरकारले मात्र देश र जनताको भलो गर्न सक्छ । आजका विकसित राष्ट्रको राजनीतिक विकासक्रमको अध्ययन गर्दा देशलाई दुःख परेको बेला वा राजनीतिले बाटो बिराएको बखतमा आमनागरिक अन्यायविरुद्घमा माहुरीजस्तै गोलिएर राज्यलाई जनहितमा काम गर्न दबाब दिएको पाइन्छ । दृष्टान्तका लागि फ्रान्सको १७८९को राज्य क्रान्तिमा तत्कालिन राजाको अत्याचारविरुद्घ त्यहाँका अग्रजले नेतृत्व लिएर जनताको समर्थन र सहभागितामा भर्सेलिज दरबारबाट राजालाई हटाएर नेपोलियन बोनापार्टलाई राज्यको बागडोर समाल्न लगाए । बोनापार्टले १० वर्षमा मुलुकको कायापलट गरिदिए । देशलाई समृद्घिको मार्गमा हिँडाए । मुलुकका विसंगतिको निर्मूलीकरण गरे । छोटो समयमा फ्रान्सलाई जनचाहानाअनुरूपको समृद्घ देश बनाए । यसरी हेर्दा संसारमा मनपरी गर्ने राज्य वा देशका निकायलाई जनमैत्री बनाउन नागरिकको ठूलो भूमिका हुन्छ ।

अब यो मुलुकमा नयाँ राजनीतिक दर्शनको खोजी आवश्यक छैन । केवल सक्षम नेतृत्व र सचेत समाजको आवश्यकता छ । अहिलेको नेपाल कम्युनिस्ट दलको जननिर्वाचित सरकारले गरेका काम सरकारका लागि असाधारण उपलब्धिका रूपमा देखिएका छन् भने जनताका लागि सरकारले जन पक्षीय काम गर्न नसकेको नसकेको बुझाइ छ । यसरी हेर्दा सरकारले हेर्ने दृष्किोण र जनमानसको अनुभूतिमा काफी भिन्नता देखिन्छ । सरकारका काम देखिने, बुझिने अनुभूति गर्न सकिने हुनुपर्छ । पछिल्ला दिनमा सूचना तथा सञ्चारमन्त्रीले गोकुल बाँस्कोटाले ७० करोडको घोटला गर्ने सेटिङ गर्दै गरेको भिडियो टेप सार्वजनिक भएपछि कम्युनिस्ट नेताको अर्को भ्रष्टाचारकाण्ड छर्लंग भएको छ । त्यसो त उनले राजीनामा दिइसकेका छन् । तथापि, समाजमा जनआक्रोश बढेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुशासनको क्षेत्रमा केही कदम उठाएको त देखिन्छ । अहिले उनले आफ्नो अस्वस्थ्य अवस्था, पार्टीगत किचलो, अन्तर्राष्ट्रिय दबाब र प्रभाव, जनआक्रोश आदि जस्ता समस्यासँग लड्दै देश विकास र सुशासनमा मुलुकलाई अगाडि बढाउने अग्निपरीक्षामा सफल हुनुपर्छ । अहिले उनको आफ्नै दलभित्र नै सरकारलाई ढाल्ने खेल भइरहेको छ भन्ने उनकै विश्लेषण छ । यस्तो परिस्थितिमा समाजले के बुझ्नुपर्छ भने नेपाल कम्युनिस्ट दलभित्र आजको दिनमा जालझेल गरेर प्रधानमन्त्री हुने अनुहार उनी जत्तिकै सक्षम छन् कि छैनन् ? भन्ने कुराको हेक्का राख्नुपर्छ ।

सरकारको दुईवर्षे कार्यशैलीप्रति नागरिक उत्साहित छैनन् । सरकारले केही पनि गरेन भन्ने पनि अतिवादी सोच हो । यो सरकारले केही विकास योजनाको सुरुवात गरेको छ । जनताको प्रत्यक्ष जीवनमा अनुभूति हुन सक्ने काम नभएकाले जनआक्रोश बढेको हो । प्रधानमन्त्रीले कुमालेले आफ्नो हाँडीको प्रशंसा गरेजस्तो यो दुई वर्षमा असाधारण काम भएका छन् भने तापनि नागरिकले सरकारको भनाइलाई व्यवहारमा महसुस गर्न सकेका छैनन् । तथापि तत्काल सरकारको विकल्प देखिँदैन । प्रतिपक्षमा रहेको देशको जेठो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको अवस्था मियोबिनाको दाइँजस्तो छ । हाम्रो देशमा पाकिस्तानमा इमरान खान उदय भएजस्तो अथवा दिल्लीमा केजरीवाललाई जनमत प्राप्त भएजस्तो नयाँशक्तिको उदय पनि त्यति सजिलो देखिँदैन । विकल्पमा भएका दल पनि अवसर खोज्ने राजनीतिक व्यवसायी नै हुन् भन्ने कुरा समाजले बुझ्न आवश्यक छ । यस सन्दर्भमा देशमा भएका ठूला दललाई नै सच्चाउनु अहिलेको नागरिक कर्तव्य हुन आउँछ ।

राजनीतिक नेतृत्वलाई सही मार्ग दर्शन गराउन पार्टीका कार्यकर्ताले नसक्ने प्रमाण नेपालको इतिहासले पुष्टि गरिसकेको छ । इतिहासमा कार्यकर्ताकै लुछाचुँडीका कारण नेपाली कांग्रेस गुट र उपगुटको स्वार्थमा रुमलिएको छ । यो इतिहास तत्कालीन एमाले र माओवादी पार्टीभित्र पनि देखिएकै हो । अहिले पनि दलभित्र गुट र समूहगत स्वार्थको खिचडी पाकिरहेकै छ । यसरी हेर्दा दलगत आस्थामा लागेका कार्यकर्ताले देश र समाजको हितमा काम गर्न नसकेको प्रस्ट छ । त्यसैले अब आत्मकेन्द्रित राष्ट्रिय राजनीतिक संस्कृतिलाई बदलेर लोककेन्द्रित अभ्यासमा रूपान्तरण गर्न राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र नागरिक, वुद्घिजीवीलगायतले राज्यको कार्यशैलीलाई ठीक र बेठीकको कसीमा छुट्टयाउनुपर्छ । समाज र देशको हितमा काम गर्नुपर्छ ।

The post समाजको आत्मिक सचेतता appeared first on Rajdhani Daily News.

तपाईको प्रतिक्रिया