चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकलाई कोरोना भाइरस लागेको आशंकामा स्वास्थ्य जाँचका लागि निगरानीमा राखिएको छ।

पढ्नका लागि चीन गएका ती विद्यार्थी नेपाल फर्केर आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वास्थ्यपरीक्षण गरिएको थियो। सो क्रममा उनलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो।
ती व्यक्तिलाई चार दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निगरानीमा राखिएको अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले नेपालखबरलाई जानकारी दिए।

डा. पाण्डेका अनुसार काेराेना भाइरस लागेकाे शंका मात्रै गरिएकाे हाे। हाल उनकाे अवस्था सामान्य छ भने आजै उनलाई डिस्चार्ज गर्ने अस्पतालकाे तयारी रहेकाे उनले जानकारी दिए। उनलाई एन्टिबायाेटिक औषधि प्रयाेग गरिएकाे थियाे। अस्पतालले निमाेनियाकाे समेत जाँच गर्दा फेला नपरेकाे उनले जानकारी दिए।
त्यस्तै अस्पतालकै क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले प्रभावित क्षेत्रबाट आउने जो कोहीमा सामान्य ज्वरो, रुघाखोकी लगायतका समस्या देखा परे त्यस्ता व्यक्तिलाई स्वास्थ्य निगरानीमा राख्न विश्व स्वास्थ्य संगठनले अनुमति दिने बताए। उनले सोही आधारमा ती व्यक्तिलाई निगरानीमा राखिएको बताए।
अनुसन्धानकै क्रममा भएकाले अहिले नै उक्त भाइरस लागेको भन्न नमिल्ने उनको भनाइ छ। ती व्यक्तिमाथि अस्पतालका निर्देशक डाक्टर पाण्डे, डा. अनुप बाँस्तोलालगायतको टोलीले नै स्वास्थ्य निगरानी गरेकाे थियाे।
सार्सजस्तो लक्षण देखिने यो रहस्यमय भाइरस चीनको वुहानमा पहिलो पटक फेला परेको थियो। यो रोगका कारण चीनमा दुई जना मानिसको ज्यान गइसकेको छ।
यो भाइरस थाइल्यान्डमा पनि देखा परेको छ। विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यो भाइरस देखिन सक्ने चेतावनी दिएको छ।