गाउँ गाउँमा रिसोर्ट (तस्बिरसहित)

0
26

तनहुँ । सक्रिय पत्रकारितालाई विट मार्दै छापाखाना व्यवसाय गर्दै आइरहेका दीपेन्द्र पौडेल एकाएक बसाइसराइले रित्तिन आटेको जन्मथलो पुगेर टपरी रिसोर्ट सञ्चालनमा कस्सिनु भएको छ ।

शुक्लागण्डकी बजारमा व्यवसायबाट राम्रै प्रगति गर्नुभएका पौडेलले ग्रामीण पर्यटन प्रवर्द्धन गर्नकै लागि गाउँमा रिसोर्ट सञ्चालनमा ल्याएको बताउनुहुन्छ ।

शुक्लागण्डकी नगरपालिका– ३ टपरगाउँमा ५० लाख रुपैयाँ लगानी गरेर पुर्ख्यौली थातथलोमा रिसोर्ट सञ्चालन गर्नुभएका उहाँले शहरको अस्तव्यस्त वातावरण छाडेर गाउँका रिसोर्टमा समय बिताउन आउनेहरू बढेको अनुभव सुनाउनुभयो ।१० वर्षे लामो पत्रकारिता र चार वर्ष छापाखाना व्यवसाय गर्नुभएका उहाँले गाउँमा पूर्वाधार विस्तार नहुँदा व्यवसाय चुनौतीपूर्ण रहेको बताउनुभयो । ‘गाउँ जाने सडक राम्रो हुने हो भने मैले देखेको सपना पुरा हुन्छ’, उहाँले भन्नुभयो, ‘म त समग्र वडाकै विकास गर्नुपर्छ भनेर लागेको हुँ, अव बाटो बनाउन पनि हाम्रै दायित्व बन्छ ।’

तनहुँमा दिपेन्द्रजस्तै पुर्ख्यौली थलोमै ग्रामीण रिसोर्ट सञ्चालन गरेर विकास र आम्दानी गर्न युवाहरू कस्सिएका छन् । सक्रिय राजनीतिमा रहेका भिमाद नगरपालिका–६ का उज्ज्वल खनाल पनि राङरुङ फर्किएर ‘राङरुङ भिलेज रिसोर्ट’ सञ्चालन गर्दै आउनुभएको छ । व्यसायीक बाख्रा पालन गर्न कस्सिएको खनाल परिवार पहिलो पेशाबाट असफल भएपनि गाउँ छाड्न मनले नमानेपछि रिर्सोट सञ्चालनमा लागेको बताउनुहुन्छ ।  खनालले चार वर्षअघि रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो ।

अहिले व्यवसायमा सफलता मिलेको दाबी गर्दै उहाँले पुर्ख्यौली थलोमा रिसोर्ट खुल्ने क्रम बढेपनि टिकाउने सक्ने नसक्न आफैमा निर्भर हुने बताउनु भयो । सुरुवातमा ग्राहकको आकर्षण देखिए पनि लामो समयसम्म व्यवसाय टिकाउन मुस्किल रहेको उहाँले बताउनुभयो । व्यक्तिगत चिनजानले व्यवसाय सञ्चालनमा फाइदा पु¥याउने बताउँदै उहाँले आफ्नो रिसोर्टले ग्रामीण क्षेत्रको विकाससँगै अर्गानिक उत्पादनप्रति आकर्षण बढाएको बताउनुभयो ।

भिमादकै मिर्छुलुङमा पत्रकार प्रताप रानाले पनि मगर लाफा भिलेज रिसोर्ट सञ्चालनमा ल्याउनुभएको छ । आधा करोड लगानीसहित रिसोर्ट सञ्चालन गर्नुभएका रानाले रिसोर्टलाई मगर समुदायका जातीय संस्कार संस्कृति संरक्षणसँगै आर्थिक र सामाजिक परिवर्तनको माध्यम बनाउने बताउनुभयो । ‘मैले गाउँमै व्यवसाय सफल बनाउन युवाहरूमा व्यावसायिक सोचको विकास हुन सक्छ’, रानाले भन्नुभयो, ‘गाउँको रिसोर्टमा सबै वर्ग समुदायका व्यक्तिहरू आउनेछन् । उनीहरूलाई आपसमा जोड्न पनि सजिलो हुन्छ ।’ उहाँले निर्माण गरेको रिसोर्टमा लोपोन्मुख मगर समुदायले प्रयोग गर्ने गरेका धेरै सामाग्रीहरू राखिएको छ ।खुर्पेटोमा राखिएको हँसिया, ढिकी, जातो र घुमाउने घर यहाँका प्रमुख विशेषता हुन् ।

गाउँले रहन सहन र शहरको आकर्षणको तालमेल मिलाउन उहाँले आधुनिक पिङ्ग समेत रिसोर्ट परिसरमा निर्माण गर्नुभएको छ । मौलिक खाना र आधुनिक परिकारका खानाको स्वाद ग्राहकलाई दिनुभएका रानाले तरुल पिँडालुको परिकारसँगै मम चाउमिन र पिज्जाको परिकारसम्म उपलब्ध गराउने सोचमा रहेको बताउनुभयो ।

जिल्लामा भिमाद नगरपालिका– २ का रघुमा मणि थापा मगरको वडा नं. ४ मा रघु चौतारी रिसोर्ट रजिडाँडामा सञ्चालनमा छ । यस्ता रिसोर्टमा विशेष गरेर शहरीया जीवनशैली ब्यतित गरेकाहरू बढी पुग्ने गरेका छन् । सामूहिक बसाई र खानपानका लागि गाउँले रिसोर्टहरु उपयुक्त बन्दै जान थालेको पाइन्छ ।  

https://www.ujyaalonepalnews.com/archives/18871

Previous articleप्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश
Next articleअनुदानले फेरिएको कृषकको मुहार