उदयपुरका चिरञ्जीवी काफ्लेको उद्यम कथा 

0
28

काठमाडौँ । वैदेशिक रोजगारमा १३ बर्ष खटेर फर्कनुभएका चिरञ्जीवी काफ्ले अहिले आफ्नै गाउँमा घाँस खेती गरी मनग्य आम्दानी गर्दै हुनुहुन्छ । 

उहाँले करिब दुई वर्षका बिचमै घाँस मात्र होइन घाँसका बिउ, बिरुवाहरू तीन लाख जतिको बेचिसक्नुभएको छ । 

उहाँले आफ्नो ६ बिगा जग्गामा ३ बिगा जतिमा १७ प्रजातिको घाँस खेती गर्नुभएको छ । झापा, सुनसरी, सप्तरी र गृह जिल्ला उदयपुरमा आफ्नो उत्पादनहरूको बजार रहेको उहाँ बताउनुहुन्छ । 

घाँस खेतीसँगै पशुपालनको ठूलो सम्भावना देख्नुभएको छ काफ्लेले ।

वैदेशिक रोजगारीको अनुभव बारे उहाँ बताउनुहुन्छ –“सन २००५मा गएर तीन वर्षसम्म दुवै बसेँ । स्वदेश फर्किएपछि फेरी मलेसिया गएँ र त्यहाँ १ बर्ष बिताएँ । त्यसपछि लामो समय चाहिँ साउदीमा बसेँ र सन २०२० मा नेपाल फर्किएको हुँ ।”  उहाँले भन्नुभयो, “साउदीमा बस्दा चाहिँ ग्रील अपरेटर वेल्डिङ सम्बन्धी काम गरे र वेल्डिङको चाहिँ मैले राम्रो अनुभव लिन पाएको छु ।”

वेल्डिङ सम्बन्धी त्यति राम्रो सीप हासिल गर्नुभएको रहेछ तर यहाँ आएपछि किन कृषि तिर लाग्नुभयो त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ – “त्यहाँ काम गर्ने क्रममा मलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाई सधैँ आइरहन्थ्यो । सामाजिक सञ्जालमा पनि यहाँ युवाहरूले गरेका कृषि उद्यमहरू हेर्ने गर्थे र उत्साहित हुन्थेँ । हुन त मैले विदेशमा सिकेका सीप चाहिँ वेल्डिङ सम्बन्धी थियो नेपालमा खासै त्यस खालको प्रविधि पनि नभएको र  यहाँ त्यो गर्न सहर तिरै जानुपर्ने तर आफ्नो इच्छा चाहिँ पुर्ख्यौली खेत र पाखा बारीहरूलाई हराभरा बनाउने र आफ्नै माटोमा कर्म गर्ने थियो । त्यसैले खेतीपातीमा लागेँ ।”

विदेशमा पनि राम्रै कमाई हुन्थ्यो भन्नुहुन्छ उहाँ । विदेशमा हुँदा र यहाँ अहिलेको आम्दानीलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ नि भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ –“त्यहाँ ७५–८० हजार मेरो मासिक तलब थियो । यहाँ घाँसबाट  मासिक ४० हजार आम्दानी छ । त्यसका साथै यहाँ बाख्रा र भैँसी पालन पनि गरेको छु । दैनिक २८ लिटर दूध उत्पादन हुन्छ र बाख्राको आम्दानी पनि थप भई नै रहन्छ । अहिले घरका ३–४ जनाले नै सबै काम भ्याइराखेका छौँ र छिट्टै दुई जनासम्म कामदार राख्नुपर्ने चाहिँ मैले देखेको छु ।”

२८ लाखको लगानी रहेको काफ्लेको उद्यममा नगरपालिकाको सहयोग प्राप्त भइरहेको छ र प्रदेश सरकारसँग पनि ४० लाखको सम्झौता गर्ने योजना उहाँको रहेको छ । 

थप संरचना बनाउन, पाठा पाठी थप्न र थप जग्गा भाडामा लिएर ६ बिगामा चाहिँ घाँस खेती मात्र बिस्तार गर्ने उहाँको योजना छ । 

भएको आफ्नै पुर्ख्यौली खेती बारी र त्यसै बसेका पाखा बारीहरूलाई व्यावसायिक रूप दिएर लगानी गर्नु दिगो उद्यम हुने रहेछ भन्ने आफूले बुझेको काफ्ले बताउनुहुन्छ । मुख्य कुरा त आफ्नै जन्म थलोमा केही गर्न पाउँदा र परिवार सबै स्वरोजगार हुन पाउँदा र अरूलाई पनि रोजगारी दिन पाउँदाको सन्तुष्टि त झन् ठुलै कुरा भएको उहाँको बताउनुहुन्छ । 

आजु अघि नै यो व्यवसाय सुरु गरेको भए के कस्तो हुन्थ्यो  होला कहिलेकाहीँ सोच्नु भएको छ भन्ने  जिज्ञासामा उहाँ भन्नुहुन्छ – “के गर्नु पछुताएर हुँदैन ऊर्जाशील उमेर विदेशमा गयो । त्यतिखेर यो माहौल बनेको भए र बोटबिरुवा लगाएको भएर यो उद्यम समेत भएको भए सुन फल्ने रहेछ भन्ने अनुभव अहिले मेरो छ । ”

https://www.ujyaalonepalnews.com/archives/19765

Previous articleसमाजवादी रत्ननगरमा पहिरो, वडाकमिटि नै एमालेमा समाहित
Next articleकर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन