पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि मौसम बदली भई परेको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। हिमाली तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुनुका साथै पहाडी र तराईमा वर्षाले जनजीवन प्रभावित बनेको छ।

हिमाली तथा उच्चपहाडी क्षेत्रमा अध्ययन अध्यापन तथा सरकारी सेवा समेत प्रभावित बनेको छ। यस क्षेत्रमा हुने उडान तथा यातायात अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिङ सडक खण्डमा खसेको पहिरोको कारण केहि घण्टा यातायात अवरुद्ध भएको थियो। तराईका क्षेत्रमा हिउदे वर्षाले चिसो बढेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ती कँडेलका अनुसार शनिबारदेखि मौसममा क्रमिक सुधार देखिनेछ।

‘पश्चिमी न्यूनचापीय प्रणालीका कारणले उच्चपहाडी तथा हिमाली भु–भागमा हिमपात भइरहेको छ भने पहाडी तथा तराईका भुभागमा वर्षा भइरहेको छ,’ कँडेलले शुक्रबार अपरान्ह नेपालखबरलाई बताइन् ‘मौसम बदलीको प्रभाव शुक्रबार दिनभर र रातिसम्म पनि रहन्छ। यस्तै शनिबारदेखि भने क्रमिक सुधार हुने देखिन्छ।’
शनिबार केही समय घाम देखिएपनि फेरि बदली भएर छोटो अवधिको वर्षा हुने सम्भवाना रहेको मौसमविद् कँडेलले बताइन्। आइतबारसम्म पनि आंशिक बदलीको अवस्था जारी रहनेछ। आइतबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
न्यूनचापीय प्रणाली मध्यवायुमण्डलमा हुन्छ। यो जति जति तलसम्म फैलियो र बंगालको खाडी, अरब सागरबाट जलवाष्पयुक्त हावा थप भयो त्यति सशक्त हुन्छ। त्यसैको असर अहिले नेपालमा देखिएको मौसमविद् कँडेलले बताइन्।
दुई विमान कलकत्ता र ढाका डाइभर्ट
मौसमको खराबीका कारण भिजिबिलिटी नपुगेपछि त्रिभुवन विमानस्थलमा उडान तथा अवतरणसमेत प्रभावित भएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार बैँककबाट आएका दुई विमानलाई कोलकत्ता र ढाका डाइभर्ट गरिएको छ।
बैँककबाट आएको थाइ एयरलाइन्सको विमान कोलकत्ता र थाइल्याण्ड एयरलाइन्सलाई ढाका अवतरण गराइएको उनले जानकारी गराए। यस्तै कतार एयरलाइन्सपनि दोस्रो प्रयासपछि बल्ल अवतरण भएको थियो। त्यसबाहेक अन्य अन्तर्राष्ट्रिय विमानहरु निर्धारित समयअनुसार नै उडान र अवतरण भएको प्रवक्ता कर्णले जानकारी दिए।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्रािष्ट्रय उडान सामान्य रहेको जानकारी दिए। आन्तरिकतर्फ शुक्रबार बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीले बताए।
बिहीबार साँझदेखिको निरन्तर वर्षाले काठमाडौँसहित देशभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन्। उच्चपहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातका कारण पनि उडान प्रभावित भएको बताइएको छ।
अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्यो
वर्षाका कारण पहिरो खसेपछि एकतर्फीरुपमा सञ्चालनमा रहेको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकीलोको सडक खण्ड सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोली परिचालन गरि पहिरो पन्छाइएको थियो। सडकको पहिरो पन्छाएपछि शुक्रबार दिउँसोदेखि सडक पुर्ण रुपमा सञ्चालन भएको छ। बिहीबार रातिदेखि लगातार पानी परिरहेका कारण पहिरो गएको हो।
कर्णालीको दैनिकी कष्टकर
कर्णालीमा फेरि हिमपात र वर्षा भएपछि चिसो बढेको छ। यसवर्ष सातौंपटक उक्त क्षेत्रमा परेको हिमपात र वर्षाले हुम्ला, डोल्पा, मुगु, जुम्लामा त्यहाँको दैनिकी निकै कष्टकर बनेको स्थानीय बासिन्दाले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको बताए। हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध बनेको उनले जनाए।
सो क्षेत्रमा लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। हवाई यातायात दुई दिनदेखि ठप्प छ। खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ। चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन्।
जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताए। ‘धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ, उनले भने। सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्मेहम्मे भएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तात्तानो चीज खान सन्देश प्रवाह गरेको छ।
मौसम पूर्वानुमान महाशाखा काठमाडौँले शुक्रबार जारी गरेको प्रादेशिक साप्ताहिक मौसम पूर्वानूमानअनुसार कर्णाली प्रदेशका पहाडी जिल्लामा वर्षा हुनुका साथै हिमाली जिल्लामा भारी हिमपात हुने सम्भावना देखाएको छ। बिहीबारसम्म उच्च हिमाली भेकमा हिमपात र पहाडीमा भेकमा वर्षा हुने तालिका महाशाखाले जनाएको छ।
विद्यालय र सरकारीको कामकाज प्रभावित
निरन्तर तीन दिनदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयको काम प्रभावित भएको छ। चिसोकै कारण जाजरकोटका सात स्थानीय तह र रुकुम पश्चिमका सबै स्थानीय तहको काम प्रभावकारी भएनन्। जिल्लाका सयभन्दा बढी सामुदायिक विद्यालय, एक दर्जन निजी विद्यालय, सदरमुकाममा रहेका दर्जन कार्यालयमा चिसोले सेवा प्रवाहमा समस्या भएको परेको छ।
जाजरकोट–डोल्पा सडकखण्डभित्र सञ्चालनमा रहेका सबै यातायातका साधन अविरल वर्षाका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै सातै स्थानीय तहमा जाने र आउने यातायातका साधन प्रभावित भएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। जाजरकोटदेखि नेपालगञ्ज तथा सुर्खेत जाने यातायातका साधन भने सञ्चालनमा रहेको उनले बताए।
रिडीमा बाढी
वर्षाका कारण गुल्मीको रिडी खोलामा आएको बाढी रिडीको रुरु महोत्सवका लागि बगर छेउमा बनाइएका ३४ वटा होटलका अस्थायी टहरामा पसेको छ। होटलका टहरामा बाढी पसेपछि व्यवसायी विस्थापित बनेका छन्। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको महोत्सव आयोजक समितिका निर्देशक हिमाल श्रेष्ठले जानकारी दिए।
नदीमा बाढी आएसँगै मेलामा वारपार गर्नका लागि खोला तर्न बनाइएको काठको अस्थायी पुलसमेत बगाइदिएको छ।
पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा माघे सङ्क्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ। तर, यसपटक लगातारको झरी र अत्यधिक चिसोका कारण मेला प्रभावित बन्यो। दुई दिनदेखिको वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन प्रभावित बनेको छ। लगातारको झरी र चिसोका कारण मानिस अत्यावश्यक कामबाहेक घरबाहिर निस्केका छैनन्। वर्षाका कारण सडक चिप्लो भएपछि जिल्लाका चार दर्जनभन्दा बढी ग्रामीण सडकमा सवारी साधनसमेत सञ्चालन हुनसकेका छैनन्।